ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जलविद्युत् क्षेत्रलाई तत्काल रू. २९ खर्ब आवश्यक

Jul 27, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
काठमाडौं । उत्पादन अनुमतिपत्र जारी भएका जलविद्युत् आयोजनाहरू बैङ्क ऋण मात्रले अघि बढ्न नसक्ने देखिएको छ । विद्युत् विकास विभागको तथ्याङ्कअनुसार हालसम्म १७ हजार ९ सय ११ दशमलव ५१ मेगावाट (मेवा) जलविद्युत् उत्पादनका लागि अनुमतिपत्र जारी भएको छ । त्यसमध्ये निर्माण सम्पन्न भएका र वित्तीय व्यवस्थापन भएका आयोजनाको कुल क्षमता करीब ३ हजार ५ सय मेवाको हाराहारीमा रहेको सम्बन्धित क्षेत्रले बताउँदै आएका छन् । यस हिसाबले करीब १४ हजार ४ सय १२ मेवा विद्युत् उत्पादनका लागि तत्काल वित्तीय व्यवस्थापन आवश्यक छ । अहिले अधिकांश जलविद्युत् आयोजना ३० प्रतिशत स्वपूँजी र ७० प्रतिशत बैङ्क ऋणमा निर्माण हुने गरेका छन् । हाल प्रतिमेवा रू. २० करोड लागत लाग्ने निजीक्षेत्रका प्रवर्द्धकहरूको दाबी छ । यस आधारमा अनुमतिपत्र प्राप्त जलविद्युत् आयोजनाहरू सम्पन्न गर्न मात्र रू. २८ खर्ब ८२ अर्ब ४० करोड तत्काल आवश्यक देखिन्छ । स्वपूँजी र बैङ्क ऋणको अनुपात (३०/७० प्रतिशत) हुने नियमअनुसार रू. ८ खर्ब ६४ अर्ब ७२ लाख स्वपूँजी र रू. २० खर्ब १७ अर्ब ६८ करोड बैङ्क ऋण लाग्नेछ । गत आवसम्मको तथ्याङ्कअनुसार सम्पूर्ण वाणिज्य बैङ्कको कुल निक्षेप करीब रू. २४ खर्ब र लगानी करीब रू. २१ खर्ब हाराहारी छ । यी तथ्याङ्कका आधारमा उत्पादन अनुमतिपत्रप्राप्त जलविद्युत् आयोजनाहरूलाई मात्र वाणिज्य बैङ्कहरूको हालसम्मकै कुल प्रवाहित कर्जा बराबर रकम आवश्यक छ । अर्कोतर्फ , गत आवमा विद्युत्मा बैङ्किङ क्षेत्रले रू. १ अर्ब ८९ करोड ३३ लाख ९० हजार कर्जा प्रवाह गर्ने राष्ट्र बैङ्कको सम्भावित सेक्टर क्रेडिट तथ्याङ्कले देखाउँछ । यो कर्जा प्रवाह अघिल्लो आवमा ऊर्जाक्षेत्रमा बैङ्कहरूले अनिवार्य प्रवाह गर्नुपर्ने कुल लगानीको ५ प्रतिशतका आधारमा हो । चालू आवको मौद्रिक नीतिले बैङ्कहरूले ऊर्जाक्षेत्रमा अनिवार्य गर्नुपर्ने लगानी ५ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको छ । तर, ऊर्जासँगै सो प्रतिशतको हकदार अर्को उदाउँदो क्षेत्र पर्यटन पनि गाँसिएकाले बैङ्कको कति लगानी ऊर्जाक्षेत्रले प्राप्त गर्छ भन्न सकिँदैन । यसले विद्युत् उत्पादनका लागि तयार रहेका आयोजनाको माग र बैङ्कहरूको ऋण प्रवाह क्षमतामा निकै नै अन्तर देखाउँछ । यो अन्तरले चर्चा गरिए जति सहजरूपमा परियोजनाहरू सम्पन्न हुन नसक्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान)का उपाध्यक्ष कुमार पाण्डे बताउँछन् । सबै आयोजनाको निर्माण अवधि औसतमा ३ वर्ष राख्ने हो भने प्रति वर्ष स्वपूँजीबाहेक नै रू. ७ खर्ब आवश्यक पर्छ, जुन रकम सामान्य बैङ्किङ प्रणाली वा नेपाली बैङ्कले मात्रै धान्न सक्ने अवस्था देखिँदैन । यसका लागि निजीक्षेत्र र सकारले विभिन्न वैकल्पिक उपाय खोज्नु आवश्यक देखिन्छ ।

लगानी वृद्धिका उपाय

  • बैङ्कको लगानी बढाउने उपाय खोजिनुपर्ने
  • विदेशी लगानी भित्र्याउनुपर्ने
  • लगानीका वैकल्पिक स्रोतहरू पहिचान गर्नुपर्ने
  • विद्युत् उत्पादन कम्पनीहरूले बण्ड जारी गर्नुपर्ने
  • विदेशी एक्जिम बैङ्कहरूबाट ऋण लिने
  • विदेशी बहुराष्ट्रिय विकास बैङ्कहरूबाट ऋण लिनुपर्ने । त्यसका लागि सरकारले नीतिसहित सहजीकरण गर्नुपर्ने
  • विदेशी बैङ्कहरूको शाखा विस्तारमा जोड दिनुपर्ने
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)