ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

असफलतापछिको सफलता

Aug 2, 2018  
रोजगारी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
जागीरका लागि दिएको आवेदन एक/दुईपटक अस्वीकृत हुँदा त्यति चित्त दुख्दैन । तर, लगातार एकपछि अर्को गरी दर्जनौं ठाउँमा जागीरका लागि दिएको आवेदन स्वीकार नहुँदा, अथक प्रयास गर्दा पनि काम नपाउँदाको क्षणमा कस्तो महसूस हुन्छ होला ! त्यस्तो स्थितिको सामना गर्न सहज हुँदैन । तर स्थिति जे जस्तो भए पनि हार आत्मसात् गरेर अगाडि बढ्नुबाहेक अन्य विकल्प हुँदैन । विश्वप्रसिद्ध मिडिया एजेन्सी नेटवर्क ‘मिडियाकम’का ग्लोबल सीईओ स्टिभ अलानको स्थिति पनि कुनै बेला ठ्याक्कै यस्तै थियो । जीवनकै पहिलो काम पाउनुअघि उनले एकपटक होइन, दुईपटक होइन, ८२ पटक अस्वीकृतिपत्र थामेका थिए । ‘मैले जुन जुन कम्पनीमा कामका लागि आवेदन दिएँ, ती सबैबाट अस्वीकृत भएँ,’ उच्च शिक्षा सकेर बेलायतको सञ्चार उद्योगमा भाग्य चम्काउन आफूले गरेका प्रयास सम्झँदै सीएनबीसीको मेक इन कार्यक्रममा अलानले भने । त्यति बेला ती पत्र पाउँदा निकै दुःखी बनेको भए पनि अहिले भने आफूलाई ती पत्र निकै मन पर्ने दाबी अलानले गरेका छन् । ती सबै पत्रले आफूलाई सफलताका लागि चाहिने एक खास गुणबारे पाठ सिकाएको उनको बुझाइ छ । त्यो गुण हो– प्रयास जारी राख्ने । त्यसैले, आफूले ती सबै पत्र जतनसाथ राखेको समेत उनले बताए । अनियन्त्रित रूपमा अस्वीकृतिपत्र पाउन थालेपछि भने आफ्नो ‘ड्रिम जब’ अर्थात् सोचेजस्तो करीअर जसरी भए पनि बनाएरै छोड्छु भन्ने दृढ निश्चय उनमा बढ्दै गयो । अलानले केही थप अनुभव बटुले । यस्तै स्थितिमा उनले जागीरका लागि पत्र कसरी लेख्ने, के के उल्लेख गर्दा असफल भइन्छ भनेर सोहीअनुसार नयाँ नयाँ तरीकाले पत्र लेख्न सिक्दै गए । अनि केही समयपछि उनी पहिले नै आपूmलाई नाइँ भनिसकेका कम्पनीमै पुनः आवेदन दिने गर्थे । ‘मैले निरन्तर प्रयास गरिरहेँ, किनकि मेरो आप्mनो लक्ष्य थियो,’ पुराना दिन सम्झँदै उनले भने, ‘म के गर्न चाहन्छु भन्ने मेरो मनमा तय थियो ।’ अन्ततः रोजगारदाताबाट आउने जवाफ फरक हुन थाल्यो । उनलाई द मिडिया बिजनेश (अहिलेको मिडयाकम)मा जागीरका लागि बोलाइयो । त्यो अवसर उनले स्वीकार गरे । कम्पनीमा उनी आबद्ध भएको ३६ वर्ष भइसक्यो । यो अवधिभरि आफूले त्यो दृढ निश्चयको भावना कायमै राखेको उनी बताउँछन् । आफ्नो पदोन्नतिको माग होस् वा व्यवसाय विकास, उनी हरेक विषयमा निरन्तर प्रयासरत रहे । ३० वर्षको उमेरमै उनी कम्पनीको प्रबन्ध निर्देशक बने । ‘कम्पनीलाई बेलायतकै पहिलो नम्बरको एजेन्सी बनाउने लक्ष्य हुँदा पनि आफ्नो मष्तिस्कमा जीवनका शुरूमा असफलताले सिकाएको पाठ नै थियो,’ उनले भने । त्यसयता कम्पनी बेलायतको मात्रै होइन, विश्वकै सबैभन्दा ठूलो मिडिया एजेन्सीमध्ये पर्न सफल भइसकेको छ । यसले अमेरिकी खाद्य उत्पादक कम्पनी मार्सको ग्लोबल मिडिया प्लानिङ बिजनेशका सम्बन्धमा कम्पनीसमक्ष ‘पिच’ गर्ने मौका हात पार्‍यो र त्यो काम पनि पायो । अर्को सफलतामा बेलायतमा नेशनल हेल्थ सर्भिस (एनएचएस)का लागि ब्लड एण्ड ट्रान्सप्लाण्ट अभियानको जिम्मा पाउनु पनि हो । तर, यसको अर्थ मिडियाकमले कहिल्यै असफलता नै भोगेन भन्ने चाहिँ होइन । जर्मन अटो निर्माता कम्पनी फक्सवागनले डिजेल कारमा कम धूँवा उत्सर्जन देखाउने सफ्टवेयर जडान गरेको घोटाला सार्वजनिक भएकै बेलामा मिडियाकमको हातबाट उसकोे ठूला क्लाइण्टमध्ये एक रहेको फक्सवागन गुम्न पुग्यो । त्यति बेला पनि अलानले शुरुआती दिनमा आफूले भोगेको असफलताबाट सिकेको पाठलाई नै पुनः प्रयोग गरे र थप गुम्ने स्थिति रोक्न उनले ‘प्रोजेक्ट फाइट ब्याक’ नामक अभियान नै चलाए । सन् २०१६ कम्पनीका लागि सबैभन्दा खराब थियो । तर, सन् २०१७ मा भने यो कदम मिडियाकमका लागि सबैभन्दा उत्कृष्ट सावित भयो । सोही वर्ष कम्पनीको पोल्टामा स्वीस विलासी वस्तु निर्माता कम्पनी रिचेमण्ट र अमेरिकी अनलाइन ट्याक्सी सेवा प्रदायक कम्पनी यूबरजस्ता नयाँ क्लाइण्ट आए । ‘अहिले मलाई कसैले व्यवसायमा सफल हुन चाहिने विशेषता के के हुन् भनेर सोध्छ भने मेरा लागि सबैभन्दा माथि ‘हार नखाने’ गुण नै छ,’ अलान भन्छन् । बारम्बार अस्वीकृत भएर, पटक पटक असफलता हात पारेर मात्रै सफल भएका सूचीमा अलान मात्रै छैनन् । यसमा माइक्रोसफ्ट कर्पोरेशनका सह–संस्थापक बिल गेट्सदेखि अमेरिकी व्यवसायी तथा लगानीकर्ता मार्क क्युबनसमेतको नाम आउँछ । यिनीहरूले पनि जीवनको कुनै न कुनै क्षणमा असफलता मात्रै पाएका थिए । आफ्नो करीअर निर्माणमा असफलताको ठूलो हात रहेको यिनीहरूले बारम्बार बताएका छन् । त्यसैगरी यो सूचीमा हलिऊड स्टार विल स्मिथ, सेबास्टियन स्ट्यान पनि छन् । अलानले उच्च शिक्षा सकिनासाथ काम शुरू गरेका हुन् । ३ वर्षभन्दा कम उमेरमै उनी विश्वकै सबैभन्दा ठूलो मिडिया एजेन्सीको सीईओ बने । जीवनमा उनको जस्तै सफलता हात पार्न चाहनेका लागि उनका सुझाव : १. तपाईंसँग कुनै राम्रो अवधारणा छ भने शेयर गरिहाल्नुहोस् ‘कहिलेकाहीँ सबैभन्दा बाठो मान्छे सबैभन्दा सफल मान्छे नहुन पनि सक्ने अलानको बुझाइ छ । ‘आपूmस“ग भएको अवधारणाबारे अरूलाई बुझाउनु पनि पर्छ,’ उनी भन्छन्, ‘त्यसलै बोल्नैपर्छ ।’ २. नयाँ परियोजनामा संलग्न भइरहनुहोस् आफ्नो मनमा भएका अवधारणा अरूले सुन्ने र बुझ्ने गरी भन्नुको अर्थ म नयाँ परियोजनामा काम गर्न तयार छु, अनि आफूलाई सहज लाग्ने क्षेत्रभन्दा बाहिर पनि काम गर्न तयार छु भन्ने हो । यसले व्यक्तिलाई बढीभन्दा बढी वरिष्ठ सहकर्मीको दृष्टिमा ल्याउँछ र पदोन्नतिमा पनि मद्दत गर्छ भन्ने धारणा अलानको छ । ३. प्रश्न सोध्न नडराउनुहोस् मनमा कतिपय प्रश्न र कौतुहल हुँदा पनि केही मानिस प्रश्न सोध्न हिच्किचाउँछन् । तर, प्रश्न सोध्ने बानीले गरिरहेको कामप्रति रुचि त झल्काउँछ नै, कम्पनीसँग सम्बन्धित अन्य क्षेत्रबारे पनि जान्न मद्दत गर्छ । यसले करीअरका लागि नयाँ ढोका खोल्ने दाबी गर्छन् अलान । ‘विद्यालयमा हुँदा पनि म प्रश्न सोधिरहन्थेँ,’ उनी भन्छन्, ‘मेरो यो बानी म कहिल्यै गुमाउँदिनँ होला, म यसमा ढुक्क छु ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)