ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाललाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड, स्थानीय तहको एप्स सार्वजनिक

Aug 3, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

साउन १८, काठमाडौं । समृद्धि नेपालका लागि देशलाई प्रविधिमैत्री बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाललाई प्रविधिमैत्री बनाउन आवश्यक खाका तयार पार्ने उद्देश्य अनुरूप शुक्रवार राजधानीमा आयोजित ‘डिजिटल नेपाल सम्मेलन’मा बोल्ने अधिकांश वक्ताले यस्तो बताएका हुन् । सरकारी कामकारवाहीमा पनि समयसापेक्ष नयाँ प्रविधिहरूको प्रयोग गर्नुपर्ने उनीहरूको भनाइ थियो ।

सम्मेलनमा उपस्थित विभिन्न सङ्घसंस्था तथा निकायका प्रतिनिधिहरूले नेपालको अन्तरराष्ट्रिय बजारमा पहुँच पुर्‍याउन आधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने बताए । साथै, आम नागरिकलाई सहज र सरल रूपमा सरकारी सेवा सुविधा प्रदान गर्न आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको उनीहरूको भनाइ छ ।

यस्तै, नेपाललाई प्रविधिमैत्री बनाउन चुनौती पनि उत्तिकै मात्रामा रहेको उनीहरुले बताए । भौगोलिक विकटतालगायतका विविध कारणले नेपाललाई प्रविधिमैत्री बनाउन गाह्रो भइरहेको सरकारी पक्षको भनाइ छ ।

यद्यपि, विभिन्न मन्त्रालयका सचिवहरूले आफ्नो कार्यक्षेत्रलाई प्रविधिमैत्री बनाउने काम भइरहको बताएका छन् । उनीहरूले शिक्षा, पर्यटन, कृषि लगायतका क्षेत्रमा आधुनिक प्रविधिहरूको प्रयोग भइरहेको बताए । अल्पकालिन तथा दीर्घकालिन रूपमा देखा पर्ने चुनौतीलाई सामना गर्दै प्रविधिको विकासमा अगाडी बढ्ने सरकारी पक्षको भनाइ छ ।

सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुशासन र विकासलाई मुख्य प्राथमिकता दिएर अगाडी बढेको बताए । उनले सुशासन विना विकास र समृद्धि असम्भव रहेको टिप्पणी गरे । देशलाई समृद्धि र विकास तर्फ उन्मुख गर्न डिजिटल नेपालको पनि अपरिहार्य रहेको उनको भनाइ छ । सबै नेपालीमा इण्टरनेटको पहुँच पुर्‍याउन आवश्यक रहेको बताउँदै उनले भने, ‘इण्टरनेटको पहुँच सन्तोषजनक देखिन्छ । तर, सन्तोष भएर बस्नु हुदैन ।’ सबै क्षेत्र, वर्ग र समुदायमा इण्टरनेटको पहुँच विस्तार गर्ने गरी सरकार अगाडी बढेको उनको भनाइ छ ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले समाज रूढीवादी परम्पराबाट माथि उठेर आधुनिक बन्नुपर्ने बताए । उनले भने, ‘विधि, गति र मति पुरानो हुनुहुँदैन । नयाँ विचार र सिद्धान्त लिएर अगाडि बढ्न आवश्यक छ ।’ छिमेकी आमाहरूलाई बोक्सी भनेर धामी खोज्ने प्रचलनको अन्त्य गर्दै अस्पताल जाने बानीको विकास गर्नुपर्ने उनको भनाई छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले इण्टरनेटको पहुँच ६३ प्रतिशत रहेको बताए । आगामी २ वर्षमा सबै वडामा इण्टरनेटको पहुँच पुर्‍याउने सरकारको लक्ष्य रहेको उनको भनाइ छ । उनले भने, ‘सूचना प्रविधिले आर्थिक वृद्धि र रोजगारी सृजनालगायत क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ । भारत र चीनले प्रविधिमा गरेको प्रगतिलाई आत्मसाथ गर्दै नेपालमा पनि यसको प्रयोगमा व्यापकता गरिनेछ ।’

फ्रोष्ट एण्ड सुलिभानका अन्तरराष्ट्रिय अध्यक्ष अरुप जुट्थीले डिजिटल क्रान्तिले आर्थिक रुपान्तरणलाई तीव्र बनाउँदै नेपाललाई विकसित बनाउने बताए । परम्परागत उद्योग र रोजगारीलाई डिजिटल प्रविधिको प्रयोगबाट सृजनशील र सहज बनाउन सकिने उनको भनाइ छ ।

यस्तै, सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले राष्ट्रिय परिचयपत्र मार्फत सबै सेवा प्राप्त गर्न पाउने नीति आवश्यक रहेको बताए । त्यसका लागि डिजिटल नेपाल लागू हुनु अत्यावश्यक रहेको उनको भनाइ छ ।

स्थानीय तहको एप्स् सार्वजनिक सम्मेलनको अवसर पारेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबै स्थानीय तहको एप्स् सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त एप्स् सार्वजनिक गरेका हुन् । हाललाई उक्त एप्समा धुलिखेल नगरपालिकाको विवरण राखिएको मन्त्रालयको भनाइ छ । सरकारी सेवालाई सहज र सरल रूपले जनता माझ पुर्‍याउन एप्सलाई अभ्यासमा ल्याइएको हो । एप्स मार्फत स्थानीय तहको सम्पूर्ण जानकारीसहित जनमत र गुनासो पनि गर्न पाइने मन्त्रालयको भनाइ छ ।

यस्तै, सम्मेलनमा सूचना प्रविधिमार्फत एकद्वारबाट सेवाग्राहीलाई सुविधा दिन निजामती किताबखाना र कर्मचारी सञ्चय कोषका प्रमुखबीच सहमतिपत्र आदानप्रदान गरिएको छ । किताबखानाका किशोर जङ्क कार्की र सञ्चयकोषका तुलसी गौतमले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र फ्रोष्ट एण्ड सुलिभानको संयुक्त आयोजनामा उक्त सम्मेलन गरिएको हो । सम्मेलनमा भारत, मलेशिया लगायतका देशबाट सूचना प्रविधिसम्बन्धी राष्ट्रिय र अन्तरराष्ट्रिय विज्ञ र संस्थाका प्रतिनिधिले सहभागी भएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)