गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका १२ ओटा म्युचुअल फण्डमध्ये आठओटाले बैङ्क निक्षेपमा लगानी गरेका छन् । यीमध्ये पाँच योजनाले भने बैङ्क निक्षेपमा नेपाल धितोपत्र बोर्डले तोकेको सीमाभन्दा बढी लगानी गरेका छन् । सामूहिक लगानी कोष नियमावली, २०६७ का अनुसार योजना व्यवस्थापकहरूले बैङ्क निक्षेपमा योजनाको कुल सम्पत्तिको १० प्रतिशतभन्दा बढी लगानी गर्न नहुने व्यवस्था छ ।
बैङ्क निक्षेपमा सबैभन्दा बढी प्रतिशत लगानी गर्नेमा लक्ष्मी क्यापिटल फण्ड रहेको छ । उसले आफ्नो खुद सम्पत्तिको २० दशमलव ३२ प्रतिशत लगानी गरेको छ । साथै, लक्ष्मी भ्यालू फण्डले बैङ्क निक्षेपमा १६ दशमलव ६१ प्रतिशत लगानी गरेको छ ।
नेपाल धितोपत्र बोर्डले हालै म्युचुअल फण्डहरूले निक्षेपमा बढी लगानी गरेको भन्दै योजना सञ्चालन गर्ने व्यवस्थापकहरूसँग स्पष्टीकरण माग गरेको छ । सञ्चालित फण्हरूले बोर्डमा बुझाएको मासिक खुद सम्पत्तिसम्बन्धी विवरणलाई आधार मान्दा निक्षेपमा सीमाभन्दा बढी लगानी गरेकाले बोर्डले स्पष्टीकरण मागेको हो । सबै योजनामा यो नियम लागू गरिएको छैन । कुनै योजनाको विवरणपत्र सार्वजनिक हुँदै धितोपत्र बोर्डले निक्षेपमा २० प्रतिशतसम्म लगानी गर्न पाउने गरी स्वीकृति दिएको छ । जुन फण्डले निक्षेपमा १० प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने हो, त्यस फण्डसँग मात्र बोर्डले स्पष्टीकरण मागेको हो ।
धितोपत्रमा भन्दा निक्षेपमा लगानी बढाएका सिटिजन म्युचुअल फण्ड–१, एनएमबी सुलभ इन्भेष्टमेण्ट फण्ड–१ र एनएमबी हाइब्रिड फण्ड–१, लक्ष्मी इक्विटी फण्ड, लक्ष्मी भ्यालू फण्ड–१ र एनआईसी एशिया ग्रोथ फण्डसँग नेपाल धितोपत्र बोर्डले स्पष्टीकरण माग गरेको हो । सञ्चालित फण्डहरूले बोर्डमा बुझाएको मासिक खुद सम्पत्तिसम्बन्धी विवरणलाई आधार मान्दा निक्षेपमा सीमाभन्दा बढी लगानी गरेको पाइएकाले बोर्डले स्पष्टीकरण मागेको हो । निक्षेपमा १९ दशमलव ७१ प्रतिशत लगानी गरेको सानिमा इक्विटी फण्डले विवरणमै २० प्रतिशतसम्म लगानीको स्वीकृति पाएकाले धितोपत्रले उक्त फण्डसँग स्पष्टीकरण नमागेको योजनाले बताएको छ ।
धितोपत्रमा १२ ओटा म्युचुअल फण्डको लगानी हेर्दा १ महीनाअघिको तुलनामा २०६५ असार मसान्तमा रू. २७ करोड ४६ लाख ७१ हजार घटेको देखिन्छ । यी फण्डले उक्त अवधिमा सूचीकृत र सूचीकृत नभएका शेयरमा गरेको लगानीको तुलना गर्दा यस्तो देखिएको हो । २०६५ जेठ मसान्तमा यी फण्डले सूचीकृत र सूचीकृत हुन बाँकी शेयरमा गरी कुल रू. ६ अर्ब ७९ करोड ४६ लाख लगानी गरेका थिए भने असार मसान्तमा रू. ६ अर्ब ५१ करोड ९९ लाखबराबरको लगानी गरेका छन् । धितोपत्रमा चार म्युचुअल फण्डको लगानी घटेको छ भने आठ योजनाको लगानी बढेको छ । विवरण सार्वजनिक भएका १२ योजनामध्ये सिद्धार्थ इक्विटी फण्ड, सानिमा इक्विटी फण्ड र एनआईसी एशिया ग्रोथ फण्डको खुद सम्पत्तिको थोरै वृद्धि देखिएको छ भने बाँकी योजनाको सम्पत्ति घटेको छ ।
विवरण सार्वजनिक भएका फण्डमध्ये एनएमबी हाइब्रिड फण्ड–१ को धितोपत्र लगानी रू. ८७ करोड ७४ लाखबराबरको छ । जेठ मसान्तको तुलनामा असार मसान्तमा धितोपत्रमा सबैभन्दा धेरै लगानी घट्नेमा सिटिजन्स म्युचुअल फण्ड रहेको छ । उक्त अवधिमा यस फण्डको लगानी ७८ दशमलव २७ प्रतिशत घटेको हो ।
सर्वसाधारणको लगानी रहेको म्युचुअल फण्डहरू मुद्दती निक्षेप र धितोपत्रमा लगानी गर्छन् । यस्तो लगानीबाट भएको नाफाको आधारमा लगानीकर्तालाई प्रतिफल दिने गरिन्छ । केही समययता म्युचुअल फण्डले बैङ्कको मुद्दती निक्षेपमा बढी लगानी गर्न थालेका छन् । यस्ता फण्डले सामान्यतया शेयरमा लगानी गर्ने भएकाले शेयर बजारमा आउने उतारचढावले यिनीहरूलाई प्रत्यक्ष असर पार्ने गर्दछ ।
निरन्तर ओरालो लागिरहेको शेयर बजारबाट जोखीम घटाउन म्युचुअल फण्डहरूले बैङ्कको मुद्दतीमा रकम जम्मा गर्न थालेका हुन् । शेयर बजार घट्दा म्युचुअल फण्डको खुद सम्पत्ति मूल्य (एनएभी) पनि घट्ने गरेको छ भने बजार बढ्दा यिनीहरूको खुद सम्पत्ति मूल्य पनि बढ्ने गरेको छ । १२ म्युचुअल फण्डमध्ये चारओटाले मुद्दतीमा निक्षेप शून्य देखाई बैङ्क मौज्दातमा रकम देखाएका छन् । बाँकी फण्डले निक्षेपमा लगानी गरेका छन् । मुद्दती निक्षेपमा लगानी नगर्नेमा एनएमबी सुलभ इन्भेष्टमेण्ट फण्ड–१, एनएमबी हाइब्रिड फण्ड एल–१, एनआईबीएल प्रगति फण्ड र सिटिजन्स म्युचुअल फण्ड रहेका छन् ।
धितोपत्रमा सबैभन्दा बढी लगानी गर्नेमा एनएमबी हाइब्रिड फण्ड–१ रहेको छ । जेठ मसान्तसम्ममा यो फण्डको शेयर लगानी रू. ८५ करोड ३२ लाख थियो भने असार मसान्तमा रू. ८७ करोड ७४ लाख लागनी गरेको छ । मुद्दतीमा लगानी नगरेको यस फण्डको एनएभी रू. १० दशमलव ३७ छ । सिटिजन्स म्युचुअल फण्डले धितोपत्रमा १४ दशमलव ८९ प्रतिशत लगानी गरेको छ । जेठ मसान्तमा रू. ८२ करोड लगानी गरेको यस फण्डले असार मसान्तमा १७ करोड ८९ लाख मात्र लगानी गरेको छ । यस म्युचुअल फण्डले मुद्दती निक्षेपमा लगानी गरेको छैन । यो फण्डको एनएभी रू. १० दशमलव २२ पुगेको छ ।