ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठमाडौं उपत्यका सडक विस्तार अन्योलमा

Aug 6, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । लामो समयदेखि विवादमा अल्झिएको काठमाडौं उपत्यका सडक विस्तारको कार्य तत्कालै समाधान नहुने देखिएको छ । गत असार १४ गते सर्वाेच्च अदालतले काठमाडौं उपत्यकामा सडक विस्तारको कार्य सुचारु गर्न जारी गरेको पूर्णपाठले सडक विस्तारमा समस्या पार्ने भन्दै सडक विभागले सर्वाेच्चको फैसला पुनरवलोकनका लागि आवेदन दिने तयारी थालेको छ भने स्थानीयहरूले भने सर्वाेच्चकै फैसलाअनुसार सडक विस्तारको काम गर्न दबाब दिँदै आएका छन् । यसले गर्दा पनि सडक विस्तारको कार्य थप अन्योलमा पुगेको हो ।

सडक विभागका प्रवक्ता मुक्ति गौतमले तत्कालीन ‘राजमार्ग ऐन २०१९’ (हालको सडक ऐन २०३४) अनुसार सर्वाेच्चको पूर्णपाठको फैसला नभएको भन्दै उक्त फैसलालाई पुनरवलोकन गराउन सर्वाेच्चमा निवेदन दायर गरिने जानकारी दिए । उनले राजमार्ग घोषणा भएका स्थानमा सडकका लागि लिइने जग्गाको मुआब्जा दिन नपर्नेलगायत व्यवस्था भएकाले यो फैसला पुनरवलोकन गर्न आवश्यक भएको बताए । उनले भने, ‘फैसला आएको ६० दिनभित्र पुनरवलोकनका लागि मुद्दा दायर गर्नुपर्ने हुन्छ, सोहीअनुसार पुनरवलोकनका लागि गृहकार्य गरिएको छ, १ महीनामै हामीले मुद्दा दायर गर्ने तयारी गरेका छौं ।’ त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा हुँदै नौबीसे–हेटौंडा जाने सडक त्रिभुवन राजपथअन्तर्गत पर्छ । सोहीअनुसार मुआब्जा दिन मिल्दैन ।

काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तारको कामका कारण पीडितहरूले गतवर्षको भदौमा सर्वाेच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सर्वाेच्चको पूर्ण इजलाशले जग्गा प्राप्ति ऐन २०३४, सार्वजनिक सडक ऐन २०३१ अनुरूपको कार्य अनिवार्य रूपमा गर्नुपर्ने फैसला गरेको थियो । सो फैसलाले सम्बन्धित जग्गाधनीलाई मुआब्जा दिएर, वासस्थानको अधिकार हनन नहुने गरी, बालबालिकाको पठनपाठनमा हानि नपुग्ने, कानूनबमोजिम जग्गा प्राप्त गरेरमात्रै सडक विस्तार गर्ने कार्य अघि बढाउनेलगायत व्यवस्था गरेको छ ।

काठमाडौं उपत्यकाव्यापी सडकपीडित सङ्घर्ष समितिले भने सर्वाेच्च अदालतको पूर्णपाठ पूर्णरूपमा कार्यान्वयन गर्न माग गर्दै आएको छ । सडक विभागका प्रवक्ता गौतमले त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा सडक कालोपत्र गर्ने क्रममा अहिले उपलब्ध भएको चौडाइअनुसार नै कालोपत्र गरिने बताए ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले बर्खायाम सकिएलगत्तै हाल उपलब्ध सडकमै कालोपत्र गर्ने र सकभर डिजाइनअनुसार नै बनाउने कोशिश गरिने बताए ।

उनले भने, ‘अहिलेको डिजाइनअनुसार रेखाङ्कन भएको २२ मिटर सडकमध्ये २/२ मिटरमा फूटपाथ र १७ मिटरमा सडक पीच गर्ने भनिएको छ, तर अहिले देखिएको सडक विस्तारको समस्या र यथास्थितिमै सडक विस्तार गर्दा कतिपय स्थानमा फूटपाथ बन्न नसक्ने अवस्था हुन्छ । सडकको चौडाइ १७/१८ मिटर भएको खण्डमा ती क्षेत्रमा फूटपाथ निर्माण गर्न सकिँदैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार काठमाडौंका प्रमुख २ सडक चाबहिल–बौद्ध–साँखु र त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा’सम्म सडकको उपलब्ध चौडाइमै कालोपत्र गर्ने बताइएको छ । समयमै सडक मर्मत तथा कालोपत्रको काम सम्पन्न नहुँदा दैनिक आम जनताले यी सडकबाट निकै सास्ती खेप्नुपरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)