ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्तरराष्ट्रिय उडानमा फड्को मार्दै नेवानि: थप ३ देशमा ३ महीनाभित्र उडान

Aug 8, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)ले थप ३ देशमा उडान सञ्चालन गर्ने भएको छ । हाल आठओटा अन्तरराष्ट्रिय उडान गर्दै आएको नेवानिले जापान, दक्षिण कोरिया र साउदी अरेबियामा ३ महीनाभित्रमा उडान गर्ने योजना अघि सारेको छ । हाल नेवानिले दोहा (कतार), हङकङ, दुबई (संयुक्त अरब इमिरेट्स), क्वालालालम्पुर (मलेशिया) र बैङ्कक (थाइल्याण्ड)का साथै भारतका दिल्ली, बैङ्गलोर र मुम्बईमा उडान गर्दै आएको छ ।

नेवानिका प्रवक्ता राजेन्द्र श्रेष्ठले करीब ३ महीनाभित्रै निगमको अन्तरराष्ट्रिय उडानलाई थप विस्तार गर्ने नीतिअनुसार ती देशमा जहाज सञ्चालनको तयारी गरिएको जानकारी दिए । उनले भने, ‘सोही तयारीअनुसार नेवानिले हालै खरीद गरेका दुईओटा वाइडबडी विमानमध्ये अन्नपूर्णले एओसी (उडानयोग्य प्रमाणपत्र) पाइसकेको छ भने मकालु एओसी प्राप्त गर्ने चरणमा रहेको छ ।’ मकालुले पनि एओसी पाएपछि नेवानिलाई थप देशमा जहाज सञ्चालन गर्न सहज हुने श्रेष्ठको भनाइ छ ।

स्रोतका अनुसार जापान र दक्षिण कोरियाका प्राविधिक टोलीहरू केही समयमै नेपालले ती देशमा उडान सञ्चालनका लागि गरिरहेको तयारी र पूर्वाधारको अनुगमन तथा निरीक्षण गर्न आउँदै छन् । सम्बन्धित देशका प्राविधिक अधिकारीहरूले निगमको जहाज सञ्चालनका लागि स्वीकृति दिएपछि ती देशमा सेवा विस्तार गरिने बताइएको छ । साउदी अरेबियामा उडान सञ्चालन गर्न आवश्यक अध्ययनका लागि नेपालबाट पाइलट गएर अध्ययन थालिसकेको पनि थाहा भएको छ । प्रवक्ता श्रेष्ठका अनुसार आगामी सेप्टेम्बरभित्रै यस विषयमा निष्कर्षमा पुगिने छ ।

अहिले नेवानिसँग ७५ जना पाइलट छन् । नेवानिका पाँचओटा विमानमध्ये चारओटा सञ्चालनमा छन् । अन्नपूर्ण अहिले परीक्षण उडानमा छ । केही समयपछि नै यसले नियमित उडान गर्ने श्रेष्ठले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पाँच वर्षीय कार्यदिशामा पनि नेवानिलाई अन्तरराष्ट्रिय स्तरको प्रतिस्पर्धी बनाउने उल्लेख छ । साथै नेपालको अन्तरराष्ट्रिय हवाई व्यापारको ६० प्रतिशत अंशसहित प्रमुखवाहक बन्ने पनि उल्लेख गरिएको छ ।

‘सलाम’ एयर सञ्चालन गर्न अनुमति

नेपाल नागरिक उड्डयन प्राधिकरणले ओमनको मस्कट नेशनल डेभलपमेण्ट एण्ड इन्भेष्टमेण्ट कम्पनीलाई नेपाल–ओमन हवाई सेवा सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चालन अनुमतिसँगै अब नेपाल–ओमनबीच सीधा हवाई सेवा सञ्चालन हुनेछ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले प्राधिकरणले सञ्चालन अनुमति दिएसँगै टीआईएले पनि स्लट (उडान र अवतरण गर्ने समय) उपलब्ध गराएको जानकारी दिए । उनले सलाम एयरले आगामी १ सेप्टेम्बर २०१८ देखि नै बिहानको समयमा उडान गर्ने अनुमति पाइसकेको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)