ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पालो थिङ्क ट्याङ्कको

Aug 10, 2018  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
अघिल्लो साता नेपाल–भारत थिङ्क ट्याङ्क समिट सम्पन्न भयो । थिङ्क ट्याङ्क मतलव विचारै–विचारले भरिएको ट्याङ्की । अर्को शब्दमा यसलाई बुद्धिजीवी पनि भनिन्छ । बुद्धिजीवी भनेको बुद्धि बेचेर जीविका गर्ने व्यक्ति हो भनेर पनि बुझ्न सकिन्छ । खुशीको कुरा त यो छ कि, समिटले अबदेखि देशमा बुद्धिजीवीहरूको भूमिका जोडदार रूपमा बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । अब भने देशले ठूलै प्रगति गर्ने भो भन्ने कुरामा कुनै द्विविधा रहेन । त्यसो त नेउवा महासङ्घ, सीएनआई जस्ता व्यावसायिक संस्थाहरूले पनि थिङ्क ट्याङ्क राखेका छन् । त्यै भएर त देशमा यति धेरै उद्योगधन्दा चलेका, आर्थिक विकास फलेका ! अब प्रधानमन्त्री कार्यालयमा पनि विभिन्न विषयका थिङ्क ट्याङ्क राख्ने कुरा भइरा रै’छ क्यारे । विगतमा देश सोचेजति उँभो लाग्न नसकेको त्यै थिङ्क ट्याङ्क नभएरै हो । जे होस्, देशले छलाङ मार्ने सङ्केत अब चैं ल्याइसक्या छ । अहिलेसम्म त प्रधानमन्त्री स्वयम् एक्लैले सबै थोक सोच्नुपर्ने, काम पनि आफैले गर्नुपर्ने र खाल्डाखुल्टी पुर्नेदेखि विद्यार्थी भर्ना पनि आफै गर्न जानेसम्म गर्नुपर्ने भएकाले मात्र देश अलि पछिपरेको थियो ।
नेपालमा वास्तविक थिङ्क ट्याङ्क उही हो, जो नेताको दैलो चहार्ने धैर्य राख्छ, परिआए भाग्छ र सरकारी तालमा समृद्धिको राग अलाप्छ । हुन पनि विनाधैर्य थिङ्किङ हुँदैन । र, विनाथिङ्किङ थिङ्क ट्याङ्क पनि बनिन्न ।
अर्को खुशीको कुरा यो छ कि, पहिले पहिले नेपाली थिङ्क ट्याङ्कहरूबीच मात्रै छलफल हुन्थ्यो । त्यसैले, देशले सोचेजति प्रगति गर्न सकेको थिएन । तर, केही समययता दुई देशका थिङ्क ट्याङ्कहरूबीच समेत छलफल हुन थालेछ । अब ठूलै क्यै नभई छाड्दैन कि जस्तो पो छ ! वास्तवमा बुद्धिजीवीहरू नभएको भए यो देश उहिल्यै कहाँ पुगिसक्थ्यो होला, धन्न बुद्धिजीवीहरूले बचाएर पो जोगिएको यो देश । नेपालमा बुद्धिजीवी अर्थात् थिङ्क ट्याङ्कहरू को को छन् भनेर नसोध्नुहोला । त्यसमा स्वघोषित बुद्धिजीवी थुप्रै छन् । जस्तै– अलि पढेलेखेका, केही देश–विदेश घुमेका, केही सुविधा भोगेका जो कोही पनि हुन सक्छन् । ती हरेक मन्त्रालयमा, हरेक मन्त्रीका पीए हुन सक्छन, सीए हुन सक्छन्, डीए अर्थात् डोनर एजेन्सी हुन सक्छन् । ती पत्रकार हुन सक्छन्, कसैका सल्लाहकार हुन सक्छन्, वा जो पनि हुन सक्छन् । यिनीहरु कसरी थिङ्क ट्याङ्क भए भन्नुहोला । यिनीहरू यस कारण थिङ्क ट्याङ्क भए कि, यिनीहरू यदाकदा थिङ्क पनि गर्छन्, ड्रिङ्क पनि गर्छन् । प्रायः यिनीहरूसँग एउटा एउटा ट्याङ्की पनि हुन्छ, जसमा विचार र दारु सँगसँगै एकैचोटि अटाउन सकिन्छ । हाम्रो सन्दर्भमा थिङ्क ट्याङ्कहरूलाई भजन मण्डली पनि भन्न सकिन्छ । नेपालमा वास्तविक थिङ्क ट्याङ्क उही हो, जो नेताको दैलो चहार्ने धैर्य राख्छ, परिआए भाग्छ र सरकारी तालमा समृद्धिको राग अलाप्छ । हुन पनि विनाधैर्य थिङ्किङ हुँदैन । र, विनाथिङ्किङ थिङ्क ट्याङ्क पनि बनिन्न । विनाथिङ्क ट्याङ्क देश पनि बन्दैन । यी थिङ्क ट्याङ्कहरू नभएका भए देशको के हुन्थ्यो होला । कठै ! मेरो देश ! भन्नुपर्थ्यो होला तपाईं सोध्नुहोला फेरि, लौन यी थिङ्क ट्याङ्क कस्ता हुन्छन् भनेर । थिङ्क ट्याङ्क साना टाउका, तर ठूलो इगो र ठूलै भुँडी भएका व्यक्तित्वहरू हुन्, जसले सोच्न सक्छ । उसले आफूले काम भने गर्नुपर्दैन, सोचिदिए मात्र पुग्छ । त्यसैले, प्रायः थिङ्क ट्याङ्कहरू सौच्नैका लागि घण्टौं हातमा गिलास समातेर घोत्लिरहेका हुन्छन् । त्यसैले पनि धेरैले थिङ्क ट्याङ्कहरूलाई ड्रिङ्क ट्याङ्क भनेर पनि बुझ्छन् । जे भने पनि कुरो एउटै हो । किनकि, दुवै अवस्थामा थिङ्क ट्याङ्कले गर्ने भनेको पेशेवरले जसरी सोच्ने काम नै हो । थिङ्क ट्याङ्क बन्न चाहिने कुनै खास शिक्षा त तोकिएको छैन । तर, नेपालमा चलेको चलन हेर्ने हो भने नामअगाडि प्रा वा डा वा प्राडा झुन्ड्याइएकै हुनुपर्छ । नत्र थिङ्क ट्याङ्कको पदवी पाइँदैन । तपाईंलाई अझै नेपाली थिङ्क ट्याङ्कहरू को को रैछन् भनेर चिन्न मन लाइरा’को होला । स्मरण रहोस्, यो लेख पढ्ने तपाईं सबैजना थिङ्क ट्याङ्क वा बुद्धिजीवी वर्गमै पर्नुहुन्छ क्या ! अर्को कुरा, पद नपाई नेपालमा कोही थिङ्क चैं गर्दैन । त्यसैले, आफै पद नपाए अरूलाई सल्लाह दिने कुरा पनि भएन । फेरि पद पाएपछि ऊसँग थिङ्क गरिरहने फुर्सद पनि हुँदैन । त्यै भएर पनि समस्या भैराछ देशमा । नत्र थिङ्क ट्याङ्कहरूको त कुनै समस्या नै थिएन । तर, अब पालो थिङ्क ट्याङ्कहरूको आएको छ । हेर्दै जानुहोला यिनीहरूले चैं अब देशलाई माथि माथि उचाल्नेछन् है !
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)