ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

टीआईएमा पार्किङ व्यवस्थापन चुनौतीपूर्ण

Aug 13, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए)मा देखिएको जहाज पार्किङ व्यवस्थापनको समस्या तत्काल समाधान नहुने देखिएको छ । नेपाल वायुसेवा निगम (नेवानि) र हिमालय एयरलाइन्सका आफ्ना विमानहरू पार्किङ वेमा ‘होल्ड’ गरी राख्नुपरेपछि टीआईएमा पार्किङ समस्या यथावत् रहनुका साथै दैनिक अन्तरराष्ट्रिय उडानसमेत प्रभावित भएका छन् । टीआईएमा नौओटा पार्किङ वे छन् । तीनदेखि चारओटा पार्किङ वेमा ती दुई कम्पनीका जहाजहरू अधिकांश समय पार्किङमै रहने गरेका छन् । टीआईएबाट ३१ ओटा एयरलाइन्स कम्पनीले दैनिक करीब ८९ देखि १ सय उडान (टेक अफ एण्ड ल्याण्ड) गरिरहेका छन् । टीआईएअन्तर्गतको विमानस्थल सञ्चालन विभागका निर्देशक तथा प्रवक्ता प्रेमनाथ ठाकुरले टीआईएले जहाज पार्किङको व्यवस्थापन गर्न चुनौतीपूर्ण नै देखिएको बताए । ‘अहिले नेवानिले खरीद गरेका २ ओटा एयरबस–३३० र ३२० वाइडबडी विमान र पहिलाको बोइङ–७५७ धेरैजसो समय पार्किङ गरेर राखिएका छन् । हिमालय एयरलाइन्सका तीनओटा जहाज पनि अधिकांश समय पार्किङमै हुन्छन्,’ प्रवक्ता ठाकुरले भने । उनले ती दुई कम्पनीका जहाजका कारण देखिएको समस्या समाधानका लागि सम्बन्धित कम्पनीलाई जानकारी गराइएको बताए । ‘नेवानिका जहाजहरू उडानका लागि सहकार्य गरिरहेका छौं । हामीले हिमालय एयरलाइन्सलाई पनि जहाज सञ्चालनका लागि भनेका छौं । लामो समयसम्म पार्किङ वेमा पार्किङमा राख्न सक्ने अवस्था छैन भनेर हामीले दुवैलाई भनिसकेका छौं ।’ स्रोतका अनुसार हिमालय एयरलाइन्सलाई कुनै गन्तव्यमा उडान गर्न, नभए जहाज नै फिर्ता गर्न भनिएको छ । नेवानिलाई जहाज उडानको तालिका ल्याउन भनिएको छ ।’ टीआईएको धावनमार्गको गुणस्तरीय निर्माणका साथै त्यहाँको समस्याको दीर्घकालीन समाधानमा ध्यान नदिइँदा धावन मार्गको पिच अहिले दैनिक २ देखि ३ पटक सम्म उप्किने गरेको छ । १५/२० मिनटभित्रै मर्मतसम्भार गरेर अहिले धावनमार्ग सञ्चालनमा ल्याइएको छ । धावनमार्ग उप्कने समस्याको तत्कालीन समाधानका लागि टीआईएको सिभिल इञ्जिनीयरिङ महाशाखाले क्वीक रेस्पोन्स मेण्टिनेन्स टीम बनाएको छ । सो टीमले उप्केको धावनमार्गलाई तुरुन्त मर्मतसम्भार गरी उडानयोग्य बनाउँछ । धावनमार्ग मर्मत सम्भारका लागि ३ पटक टेण्डर गरे पनि बीड परेको छैन । रातिको समयमा मर्मतसम्भार गर्नुपर्ने र निर्माण सामग्रीको दररेट न्यून रहेको कारण देखाउँदै निर्माणका लागि प्रस्ताव नै नपरेको प्रवक्ता ठाकुरको भनाइ छ । उनका अनुसार महाशाखाले नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालन समितिसँग रातिको समयमा काम गर्नुपर्ने भएकाले केहीमा दररेट बढाएर टेण्डर गरौं भन्ने प्रस्ताव पेश गर्ने तयारी गरेको छ । ट्याक्सी वे र धावनमार्ग मर्मत सम्भारको टेण्डरमा केही दर रेट तथा लागत बढाएर भए पनि पुनः टेण्डर गरिने भएको छ । उनले भने, ‘अहिले १ घण्टाका लागि पनि जहाज बन्द गर्ने अवस्था छैन । टीआईएले अहिले ३/४ घण्टा सञ्चालन हुने गरी धावनमार्ग मर्मतसम्भार गर्दै आएको छ । दीर्घकालीन समाधानका लागि धावनमार्ग जगदेखि नै खनेर मर्मत सम्भार गर्ने योजना बनाइएको छ ।’ गौतमबुद्ध विमानस्थल बनेपछि रातिको समयमा टीआईएको धावनमार्ग निर्माण गर्ने गरी योजना बनाइएको बताइएको छ । टीआईएले अहिले आन्तरिक उडानमा पनि पार्किङको समस्या झेल्दै आएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)