ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यातायात, स्वचालन र रोजगारी अवसर

Aug 14, 2018  
यातायात
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
पछिल्लो समय विश्वभरि नै कृत्रिम बौद्धिकता र स्वचालनको प्रयोग बढिरहेको छ । यसले विश्वको रोजगारी बजारमै क्रमिक परिवर्तन ल्याइरहेको छ । स्वचालनले मानवीय रोजगारी खोस्छ भन्ने चिन्ता पनि छ । स्वचालनले कहिले, कसलाई, कसरी प्रभावित पार्ला भन्नेबारे विभिन्न अनुसन्धान पनि भएका छन् । बजार अनुसन्धाता संस्था पीडब्ल्यूसीले यसै वर्षको शुरूमा यस्तैखाले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । स्वचालनले यातायात क्षेत्रको सबैभन्दा धेरै रोजगारी खोस्ने सो प्रतिवेदनले देखाएको थियो । तर, कर्मचारी भर्ती गर्ने कम्पनी जिपरिक्रुटरले भने यातायात क्षेत्रमा हुने स्वचालनले रोजगारी मात्रै खोस्दैन, सृजना पनि गर्ने बताएको छ । स्वचालित कारमा रोजगारीको अवसरबारे सुन्दा ४१ वर्षीय विल मुआटले शुरूमा पत्याएका थिएनन् । उनले इञ्जिनीयरिङसम्बन्धी विषय पढेका थिएनन् । पेशाले वकिल मुआटले यसअघि सप्mटवेयर कम्पनी पिक्स आर्ट र सङ्गीतसम्बन्धी एप शाञ्जामको कानून विभागमा काम गरेका थिए । स्वचालित सवारीको क्षेत्रमा काम गर्न पाइन्छ भन्ने सुन्दा उनी निकै रोमाञ्चित भए । उनले तत्कालै मौकाको सदुपयोग गरेर नयाँ टीमसँग काम थाले । सो टीममा क्रिस उर्मसन र स्टर्लिङ एण्डर्सन थिए । उर्मसन अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिन गुगल इङ्कको स्वचालित कार विभागका पूर्व प्रमुख प्रविधि अधिकृत थिए । एण्डर्सन भने अमेरिकी बहुराष्ट्रिय विद्युतीय कार निर्माता कम्पनी टेस्ला इङ्कको स्वचालित एकाइ अटोपाइलटका पूर्व प्रमुख थिए । मुआट, उर्मसन र एण्डर्सनले मिलेर स्वचालित कार बनाउने स्टार्टअप कम्पनी अरोरा शुरू गरे । अहिले मुआट अरोरामा उपाध्यक्ष तथा जनरल काउन्सल छन् । शुरूमा नयाँ प्रविधि अपनाउन निकै डर लाग्छ । स्वचालित कार पनि यसबाट अछुतो छैन । पिउ रिसर्च सेण्टरलगायत अनुसन्धाता संस्थाहरूले गरेको अनुसन्धानले पनि स्वचालनको केन्द्रमा रहेको अमेरिकामै स्वचालित सवारीलाई आम जनताले विश्वास नगरेको देखाएको छ । यसै वर्ष अमेरिकामा स्वचालित सवारीका कारण दुईओटा गम्भीर दुघर्टना भयो । यी घटनाले यस्ता सवारीप्रति आममानिसको धारणा थप बिगारेको छ । स्वचालित सवारीले साँच्चै रोजगारी खोस्छ त ? मानिसमा स्वचालित सवारीले रोजगारी खोस्छ भन्ने डर एकदम धेरै छ । तर, स्वचालित सवारी उद्योगले रोजगारी मात्रै खोस्दैन । यसले नयाँ रोजगारी पनि सृजना गरिरहेको छ । भविष्यमा यस क्षेत्रमा थप काम पाइने दाबी विज्ञहरू गर्छन् । अहिले प्रविधि कम्पनीहरू मात्रै होइन, परम्परागत अटो कम्पनी पनि विश्वकै पहिलो व्यावसायिक स्वचालित कार सडकमा ल्याउने होडबाजीमा छन् । फलतः स्वचालित सवारी उद्योगमा लगानीको बाढी आएको छ र यहाँ कर्मचारीको माग पनि बढेको छ । सन् २०१८ को जनवरीमा यस उद्योगमा कर्मचारीको माग २७ प्रतिशत बढेको कर्मचारी भर्ती गर्ने अनलाइन कम्पनी जिपरिक्रुटरले बताएको छ । सन् २०१७ को दोस्रो त्रैमासदेखि सन् २०१८ को दोस्रो त्रैमासबीचको अवधिमा कर्मचारीको माग २ सय ५० प्रतिशत बढेको थियो । अरोरा मात्रै होइन, यही क्षेत्रमा जुक्स नामक अर्को स्टार्टअप कम्पनी पनि छ । यी दुई कम्पनीले करीब १ हजारलाई काम दिइरहेको छ । आगामी केही वर्ष कर्मचारी भर्ती सुस्ताउँदैन भन्छन् यी दुवै कम्पनी । स्वचालित सवारी बनाउने होडमा टेस्ला, एप्पल, गुगलको मातृ कम्पनी अल्फाबेट पनि लागेका छन् । फक्सवागन, फोर्ड, जनरल मोटर्स टोयोटालगायत परम्परागत अटो कम्पनीले पनि यही क्षेत्रमा अर्बौं डलर लगानी गर्ने घोषणा गरेका छन् । स्वचालनले शुरूमा कसलाई प्रभाव पार्ला ? स्वचालित कारले वार्षिक ३ लाख चालकको रोजगारी खोस्छ भनेर सन् २०१७ को मेमा गोल्डम्यान श्याख्सको एक प्रतिवेदनले देखाएको थियो । तर, यो तत्कालै हुँदैन । सन् २०२५ देखि सन् २०३० को अवधिमा मात्रै ती सङ्ख्यामा रोजगारी गुम्ने गोल्डम्यानको ठम्याइ छ । त्यतिबेला विश्वमा विक्री हुने कारमा स्वचालित कारको हिस्सा २० प्रतिशत हुने उसको अनुमान छ । ‘नयाँ प्रविधिले कति छिटो सवारी चालकको रोजगारीमा बाधा उत्पन्न गराउँछ भन्ने चासोको कुरा हो,’ सेक्युरिङ अमेरिकाज फ्युचर्स इनर्जीमा स्वचालित सवारी र मोबिलिटी नवप्रवर्तन एकाइका उपाध्यक्ष अमिताई बिन–नुनले भने । स्वचालन आउनेबित्तिकै रातारात रोजगारी गायव हुँदैन । स्वचालन भर्खरै शुरू भएको र पूर्ण स्वचालनको अवस्थाबीचमा कयौं चरण पार गर्नुपर्ने हुन्छ । अहिले मानिसले सवारी उद्योगमा आएको स्वचालन र यसबाट आउने परिवर्तनलाई नौलो मानिरहेका छन् । तर, यो कृषिक्षेत्रमा एक शताब्दी पहिला आएको परिवर्तनजस्तै हो भन्छन् बिन–नुनले । उतिबेला अधिकांश मानिस कृषि उद्योगमा आबद्ध थिए । अहिले केही मात्रै छन् । फरक त्यति मात्रै हो । भविष्यमा स्वचालित सवारी उद्योगमा पाइने कामहरू अमेरिकामा अहिले नै ट्रक चालक पाउन मुश्किल भइसकेको छ । मानिसले गर्न नचाहेको धेरैजसो कामलाई यातायात क्षेत्रमा हुने स्वचालनले विस्थापित गर्दछ भनेर जिपरिक्रुटरका सह–संस्थापक तथा सीईओ इ्यान सेइगलले भनेका छन् । तर यसले नयाँ रोजगारीको अवसर पनि सृजना गर्ने दाबी उनको छ । स्वचालित कार कम्पनीले अहिले स्वचालित कार बनाउन इञ्जिनीयर, प्राविधिज्ञ, सफ्टवेयर डेभलपर र डिजाइनरहरू धमाधम भर्ती गरिरहेका छन् । यस उद्योगमा इञ्जिनीयरिङ बाहेक विक्रीलगायत केही अन्य क्षेत्रमा पनि करीअर बनाउन सकिन्छ । भविष्यमा स्वचालित कार उद्योगले थोरै मात्रै बेरोजगारी गराउने अर्थशास्त्री इरिका ग्रोशेनले जुनमा सार्वजनिक सेक्युरिङ अमेरिकाज फ्युचर इनर्जी शीर्षकको प्रतिवेदनमा भनेकी थिइन् । उनका अनुसार सन् २०४५ देखि सन् २०५५ का बीचमा स्वचालित सवारीले शून्य दशमलव शून्य ६ प्रतिशतदेखि शून्य दशमलव १३ प्रतिशत मात्रै बेरोजगारी गराउनेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)