ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाली आयातकर्तासँग जीएसटी असुल्दै भारतीय रेलवे : रेलवेले टेरेन वित्त मन्त्रालयको निर्देशन

Aug 15, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल
वीरगञ्ज । भारतले लगाएको वस्तु तथा सेवा कर (जीएसटी) नेपालतर्फको कारोबारमा लागू नहुने भए पनि नेपाली आयातकर्ता ढुवानीमा यस्तो कर तिर्न बाध्य छन् । भारतबाट नेपालका लागि वस्तुको निकासीमा जीएसटी लाग्दैन । ढुवानी सेवाप्रदायकले भने जीएसटी असुल्ने गरेको नेपाली आयातकर्ताले बताए । भारतीय रेलवेले तेस्रो मुलुकबाट आएका मालवस्तु ओसार्दा जीएसटी असुलेको भन्दै वीरगञ्ज उद्योग वाणिज्य सङ्घले विरोध गरेको छ । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले भारतले नेपालका लागि हुने ढुवानीमा यो कर लगाउनु न्यायोचित नभएको बताए । नेपालका आयातकर्ताले भारतीय बन्दरगाह ट्राञ्जिटका रूपमा प्रयोग गरेकाले ढुवानीमा जीएसटी लिन नपाइने व्यवसायीको भनाइ छ । आयातकर्ता माधव राजपालले भारतीय वित्त मन्त्रालयले नेपालका लागि हुने कार्गो ढुवानीमा जीएसटी नलिन निर्देशन दिए पनि रेलवेले कर लिइरहेको बताए । नेपालका लागि तेस्रो मुलुकबाट हुने आयातमा मात्र भारतीय रेलवेले वार्षिक ५० करोड रुपैयाँभन्दा बढी जीएसटी असुल्ने अनुमान सङ्घका सचिव राजपालको छ । ‘भारतबाट वस्तुको निर्यातमा समेत नलाग्ने कर ढुवानीमा लाग्नु कदापि उचित होइन,’ अध्यक्ष शर्माले भने, ‘तेस्रो मुलुकबाट हुने वस्तु ओसार्दासमेत कर थोपरिएको छ ।’ भारतीय वित्त मन्त्रालयले अक्टोबर २०१७ मै निकासीजन्य वस्तु र सेवामा जीएसटी नलिन निर्देशन दिएको थियो । ढुवानी सेवाप्रदायकले यो निर्देशनलाई पालना गरेका छैनन् । भारतीय रेलवेका अधिकारीहरूले जारी हुने बिलमा करप्रणालीले नै जीएसटी लिने भएकाले प्रविधि अद्यावधिक नगरी समाधान नहुने बताउने गरेको आयातकर्ता बताउँछन् । व्यवसायीहरूले यो कर हटाउन प्रभावकारी पहलका लागि सरकारी निकायलाई पटकपटक आग्रह गरेका छन् । तर, सरकारी निकाय आवश्यकताजति गम्भीर नभएको गुनासो उनीहरूको छ । सङ्घले अघिल्लो हप्ता भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्याललाई समस्या समाधानमा पहलका लागि आग्रह गरेको छ । भारतीय रेलवेले ढुवानी भाडा र विभिन्न शीर्षकमा लिइने जरीवानामा जीएसटी जोडेर लिएको आयातकर्ताले बताएका छन् । रेलवेको प्राविधिक कमजोरीले हुने विलम्बमा पनि रेलवेले कर लिन्छ । कोलकाता बन्दरगाहमा कार्गो जोख्ने प्रविधि नभएकाले बाटोमा तौल गराउँदा १० घण्टासम्म ढिलाइ हुने गरेको शर्माले बताए । रेलवेको प्राविधिक कारणले भएको विलम्बको जरीवानामा समेत जीएसटी लिइने व्यवसायीको गुनासो छ । भारतीय रेलवले हालै रक्सौल यार्डमा जाम बढेको भन्दै वृद्धि गरेको जरीवानाले स्वदेशी आयात महँगो परेको पत्रमा उल्लेख छ । मालवाहक रेल अनलोड हुने तीनओटा लिकमध्ये एउटामात्र चालू अवस्थामा रहेकाले अनलोडमा समय लागिरहेको राजपालले बताए । रेलवेले रक्सौल यार्डमा १५ दिनका लागि जरीवानाको दर ३ गुणासम्म बढाएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)