ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमा समितिको ‘वार्षिक कार्यक्रम–२०७५/७६’ : बीमाङ्की पढ्न छात्रवृत्ति

Aug 20, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । बीमा समितिले बीमाङ्की विज्ञान अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ । समितिको प्रस्तावित ‘वार्षिक कार्यक्रम–२०७५/७६’मा यस्तो व्यवस्था गरिएको हो । समितिले बीमाङ्की विज्ञान पढ्ने विद्यार्थीलाई प्रोत्साहनस्वरूप केही रकम छात्रवृत्ति प्रदान गरिने बताएको छ । नेपालमा लामो समयसम्म यस विषयको अध्यापन नहुँदा नेपाली बीमा बजारमा बीमाङ्की जनशक्तिको अभाव हुँदै आएको छ । यस्ता समस्यालाई दृष्टिगत गर्दै त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले केही वर्ष अघिदेखि स्नातक तहमा बीमाङ्की विज्ञानको अध्यापन शुरू गरिसकेको छ । त्रिवि र समितिको यस कदमले बीमाङ्की पढ्ने विद्यार्थीलाई प्रेरणा मिल्ने देखिन्छ । समितिले सातै प्रदेशमा बीमा जागरण कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । सातै प्रदेशअन्तर्गतका प्रमुख शहर तथा स्थानीय तहमा बीमा जागरण कार्यक्रम गर्ने व्यवस्था गरिएको समितिको भनाइ छ । नेपालमा बीमा व्यवसाय शुरू भएको ७० वर्ष भइसक्दा पनि यसको दायरा फराकिलो हुन नसक्दा जागरण कार्यक्रम ल्याइएको हो । समितिका अनुसार हाल बीमाको पहुँच ११ प्रतिशत मात्र छ । यस्ता विषयलाई दृष्टिगत गर्दैै बीमाको पहुँच र साक्षरता बढाउन यस योजनालाई प्राथमिकतामा राखिएको समितिको भनाइ छ । समितिका निर्देशक राजुरमण पौडेलले स्थानीय सरकारसँगको सहकार्यमा यस कार्यक्रमलाई सञ्चालन गर्ने बताएका छन् । कार्यक्रममा आम नागरिक, पत्रकार, शिक्षक, विद्यार्थीलगायत विभिन्न क्षेत्रका व्यक्तिलाई सहभागी गराउने योजना रहेको उनको भनाइ छ । उनले भने, ‘बीमाको बढ्दो आवश्यकतासँगै यसको दायरा पनि बढाउन आवश्यक छ । यसअनुसार हामीले विभिन्न माध्यमबाट प्रचारप्रसार गर्ने योजना पनि बनाएका छौं ।’ समितिले गत आवमा पनि विभिन्न स्थानीय तहमा बीमा जागरण कार्यक्रम गरेको थियो । अब हुने यस कार्यक्रमले बीमाको साक्षरता र पहुँचमा उल्लिखनीय वृद्धि हुने समितिको अपेक्षा छ । समितिका अनुसार यस कार्यक्रमका लागि आवश्यक रकम पनि प्रस्ताव गरिएको छ । कार्यक्रम पारित भएलगत्तै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिने समितिको भनाइ छ । वार्षिक कार्यक्रमले पाठ्यक्रममा बीमासम्बन्धी विषयवस्तु समावेश गर्नेबारे पनि व्यवस्था गरेको छ । यसअतिरिक्त कार्यक्रममा लघुबीमा, जोखीममा आधारित सुपरिवेक्षण र नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस)सम्बन्धमा पनि उचित व्यवस्था गरिएको समितिको भनाइ छ । उक्त वार्षिक कार्यक्रम सञ्चालक समितिले पारित गरेपछि मात्र लागू हुनेछ । यस विषयमा तयारी भइरहेको बताउँदै समितिका एक अधिकारीले भने, ‘वार्षिक कार्यक्रम पारित गर्न आवश्यक प्रक्रिया पुगिसकेको छ । अब केही दिनमा नै सञ्चालक समितिबाट यो कार्यक्रम पारित हुन्छ ।’ बीमाक्षेत्रको एकीकृत सफ्टवेयर समितिको वार्षिक कार्यक्रममा बीमाक्षेत्रको एकीकृत सफ्टवेयर बनाउने उल्लेख गरिएको छ । समितिले बीमाक्षेत्रलाई प्रविधिमय बनाउने उद्देश्यअनुरूप एकीकृत सफ्टवेयरको अवधारणा ल्याइएको बताएको छ । उक्त सफ्टवेयरमार्फत समिति र कम्पनीहरूको विभिन्न तथ्याङ्क प्राप्त गर्न सकिने समितिको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)