सामान्यतः मानिसहरु जति धेरै आकर्षक र राम्रा भए त्यति नै उनीहरु ‘बुलिङ’को शिकार हुने धारणा पाइन्छ । तर, हालै अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीका विद्वान्हरुले गरेको अध्ययनमा भने कार्यक्षेत्रमा कुरुप ठानिने मानिसहरु बुलिङबाट बढी पीडित हुने गरेको पाइएको छ । व्यवस्थापनका एशोसिएट प्रोफेसर तथा यो अध्ययनका प्रमुख अनुसन्धानकर्ता ब्रेण्ट स्कटले भने, ‘मान्छेले आफूलाई कार्यस्थलमा जति नै व्यावसायिक र परिपक्व ठाने पनि धेरै हदसम्म स्थिति माध्यमिक विद्यालयको भन्दा फरक हुँदैन ।’
धेरैजसो अध्ययनमा आकर्षक व्यक्तित्व भएका विद्यार्थी विद्यालयमा बढी लोकप्रिय हुने तथ्य भेटिएको छ । व्यक्तिको आकर्षक अनुहार र उसले भोग्ने निर्दयी व्यवहारबीचको सम्बन्ध पहिल्याउने यो नै पहिलो अध्ययन भएको बताइएको छ । यो अध्ययनको प्रतिवेदन जर्नल ‘ह्युमन पर्फमेन्स’मा प्रकाशित छ । अमेरिकाको दक्षिणी क्षेत्रको एक स्वास्थ्य सेवा केन्द्रका १ सय १४ कामदारमाझ यो सर्वेक्षण गरिएको थियो । उनीहरुलाई आफ्ना सहकर्मीहरुले चित्त दुख्ने कुरा भन्ने, अशिष्ट व्यवहार गर्ने, खिल्ली उडाउनेजस्ता नराम्रा व्यवहार कत्तिको गर्छन् भनेर प्रश्न सोधिएको थियो ।
ती सहभागीलाई नचिन्ने व्यक्तिहरुलाई उनीहरुको डिजिटल फोटो देखाएर त्यसका आधारमा ती सहभागी आकर्षक भए नभएको बताउन लगाइएको थियो । अध्ययनमा आकर्षक कर्मचारीको तुलनामा कुरुप कर्मचारीलाई बढी नै रुखो व्यवहार गरिएको पाइयो । ती कर्मचारीको उमेर, लिङ्ग र नोकरी अवधिले यसमा खासै फरक पारेन । त्यसैगरी अनुसन्धानकर्ताहरुले ती कर्मचारीका साथी, पति—पत्नी र सहयोगीबाट पनि तिनीहरु कत्तिको मिलनसार र मित्रवत् छन् भन्नेबारे पनि जानकारी सङ्कलन गरेका थिए । यो अध्ययनले कुरुप कर्मचारीजस्तै कम मिलनसार कर्मचारी नराम्रो व्यवहारको शिकार हुने तथ्य पनि फेला परेको छ । ‘हाम्रो अध्ययनले व्यक्तित्व र बाहिरी रुपको महत्व छ भन्ने तथ्य उजागर गरेको छ,’ स्कटले भने ।