तपाइले काम गर्ने कार्यालय कस्तो छ ? ओपन प्लान छ वा छैन ? ओपन प्लान अफिसमा काम गर्ने कर्मचारीहरु बढी सक्रिय हुने र उनीहरुमा तनावको स्तर पनि क्युविकल्समा भएका डेस्क र निजी अफिसमा काम गर्ने कर्मचारीको तुलनामा कम हुने एक अनुसन्धानले देखाएको छ । ओपन प्लान अफिसमा काम गर्नेहरु गोपनियताका लागि एकान्तको खोजी गर्न प्रयासरत हुने भएकाले उनीहरुमा सक्रियता बढ्ने अनुसन्धानकर्ताहरु बताउँछन् ।
अकुपेशनल एण्ड इन्भाइरोमेण्टल मेडिसिन नामक जर्नलमा प्रकाशित युनिभर्सिटि अफ एरिजोनाका अनुसन्धानकर्ताले गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । अनुसन्धानकर्ताहरुले मुटुको गति र सक्रियतालाई ट्र्याक गर्न एक चेष्ट सेन्सरको प्रयोग गरेका थिए । उनीहरुले विभन्न भवनमा बस्ने सयौं मानिसबीच तीन दिनसम्म अध्ययन गरेका थिए । अमेरिकाको ओपन प्लान अफिस भएका अर्थात् बीचमा ठाउँ नछुट्टाइएको सरकारी भवनका २ सय ३१ जना कर्मचारी बीच भएको अध्ययन अनुसार ओपन प्लान अफिसका कर्मचारी निजी अफिस भएका कर्मचारीको तुलनामा ३२ प्रतिशत र क्युबिकल्स भएका अफिसमा काम गर्नेभन्दा २० प्रतिशत बढी सक्रिय हुन्छन् । त्यस्तै बढी सक्रिय हुनेहरुमा तनावको स्तर कार्यालयबाहिर पनि कम सक्रिय हुने कर्मचारीको तुलनामा १४ प्रतिशत कम रहने गरेको अध्ययनमा पाइयो । काम गर्ने समयमा कम सक्रिय हुनु पनि तनावको प्रमुख कारक रहेको पाइएको छ । काममा तनावमा रहने अधिकांश व्यक्ति घरमा पनि तनावमै रहने र महिलाको तुलनामा पुरुष बढी सक्रिय हुने गरेको पाइयो ।
अधिकांशलाई आफ्नो उत्पादकत्व र गतिविधि बढाउनु पर्ने जानकारी भएपनि मानिसहरुले अपनाएका उपायहरुले लामो समयसम्म काम गर्दैन । कार्यालयको डिजाइन परिवर्तन गरेर उनीहरुलाई बढी स्वस्थ्य व्यवहारका लागि प्रेरित गर्नु कर्मचारीलाई बढी सकृय बनाउन सकिन्छ । हुन त मानिसहरु प्राइभेसी मनपराउँछन् र व्यक्तिगत अफिस वा क्युबिकल्स चाहन्छन् । तर ओपन प्लान कार्यालयका अन्य लाभहरु प्नि रहेको अनुसन्धानकर्ताहरु बताउँछन् । ओपन प्लान अफिसले संवाद राम्रो बनाउन, बिना तयारीको संवादलाई बढाउन र आफ्ना सहकर्मीबारे थप सजग रहन सहयोग गर्छ ।