काठमाडौं । अमेरिकी हल्का पेय उत्पादक कम्पनी पेप्सीकोकी ६२ वर्षीय प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रा नुई अक्टोबरदेखि सीईओ पद छाड्दै छिन् । सन् २००६ मा कम्पनी प्रमुख बन्दा नुई अमेरिकाका ५ सय ठूला पब्लिक कम्पनीका १ दर्जनभन्दा कम महिला सीईओमध्ये एक थिइन् । अहिले ती कम्पनीमा करीब २ दर्जन महिला सीईओ छन् । एक त आप्रवासी, त्यसमाथि महिला । विश्वकै शक्तिशाली कर्पोरेट हाउसमध्ये एकको शीर्ष स्थानसम्मको उनको यात्रा, त्यसपछिको सङ्घर्ष, कार्यालय र निजी जीवनबीचको तालमेलको कथा निकै रोचक छ ।
नुईले कम्पनीको कार्यभार सम्हाल्दा पेप्सिकोको वार्षिक आम्दानी ३५ अर्ब डलर थियो । अहिले यो बढेर ६३ अर्ब डलरभन्दा बढी पुगिसकेको छ । कम्पनीको शेयरमूल्य पनि यस अवधिमा करीब ८० प्रतिशत बढेको छ । २२ बहुराष्ट्रिय ब्राण्ड भएको तथा वार्षिक ६३ अर्ब डलरभन्दा बढीको कारोबार गर्ने कम्पनी हेर्छिन् उनी । अहिले उनी धेरै महिलाका लागि ‘रोल मोडल’ बनिसकेकी छिन् । काम गर्ने क्रममा अप्ठ्यारा त आइहाल्छन् । तर, खुट्टा नकमाईकन दह्रो गरेर टेक्ने र आफूले पाएको जिम्मेवारीमा पूर्ण ध्यान लगाउनु नै उत्तम विकल्प हो भन्छिन् नुई ।
‘सीईओ हुनु भनेको विशेष कामको जिम्मेवारी लिनु हो । यो एउटा जागीर भन्ने सोचेर गर्ने काम होइन । यसमा तपाईंको मस्तिष्क, मुटु र हात सबै पूर्णरूपमा डुब्नैपर्छ । तपाईंको आत्मा नै यस काममा संलग्न हुनुपर्छ, यसले तपाईंलाई पूरै खाइदिन्छ,’ सन् २००७ मै एक अन्तरवार्तामा नुईले भनेकी थिइन् । कहिलेकाहीँ हाम्रो जैविक घडी र करीअरको घडी पूर्ण टकरावको स्थितिमा पनि आउँछन् । त्यसैले, महिलालाई उसको काममा सफल बनाउने सहयोग र समर्थनको बृहत् सञ्जाल नै चाहिने उनको अनुभव छ । यस क्रममा विभिन्न समस्या र अवरोध पनि आउँछन् । तर, यी सबैलाई स्वीकारेर, त्यसको डटेर समाना गरेर बढ्नु नै राम्रो उपाय हो भन्ने नुईको बुझाइ छ ।
नुई बोष्टन कन्सल्टिङ ग्रूप (बीसीजी), मोटोरोला, अशी ब्राउन बोभेरी हुँदै सन् १९९४ मा पेप्सीकोमा प्रमुख रणनीतिज्ञका रूपमा छिरेकी थिइन् । त्यतिबेला नुई ज्याक वेल्चको कम्पनी जनरल मोटर्समा काम गर्ने अवसर छाडेर पेप्सीको आएकी थिइन् । तत्कालै उनले कम्पनीको रणनीतिलाई आफ्नो प्रभावमा लिइन् । तत्कालीन सीईओ रोजर इन्रिकोलाई कम्पनीको फाष्ट फूड व्यवसायलाई छुट्ट्याएर अर्को कम्पनी बनाउने र पछि त्यसलाई बेच्ने सल्लाह दिइन् ।
यसरी आएको रकम कम्पनीको कर्जा कटौतीमा लगाइयो । पेप्सीकोले सन् १९९८ मा ट्रपिकाना र सन् २००० मा क्वेकर ओट्स किन्नुमा पनि नुईको ठूलो भूमिका छ । सन् २००१ मा कम्पनीको अध्यक्ष र प्रमुख वित्तीय अधिकृत भइन् । यसले उनको नेतृत्व शीप र अनुभव मात्रै तिखारेन कम्पनीबारे उनको ज्ञान पनि फराकिलो बनायो । पेप्सीकोको ४४ वर्षे इतिहासमा उनी पाँचौं सीईओ हुन् ।
कम्पनीका विभिन्न तहमा नेतृत्व दिनु र सीईओको पदभार सम्हाल्नुबीच निकै भिन्नता रहेको नुईको बुझाइ छ । कम्पनीको कुनै एउटा एकाइ वा व्यवसायको मात्रै नेतृत्व गर्दा व्यक्तिमा नेतृत्व गर्ने केही खास गुण चाहिन्छ । तर, शीर्ष पदमा पुगेपछि भने उसमा नेतृत्वका त्यस्ता गुण केही मात्र थप हुँदैन, गुणोत्तर रूपमा थपिन्छ । आफू कम्पनीको अध्यक्ष मात्रै हुँदा यो त मैले गर्न सकिहाल्छु नि भन्ने धारणा उनमा थियो । ‘तर सीईओ भएपछि भने जिम्मेवारी पनि ह्वात्तै बढ्छन्, किनकि त्यतिबेला मलाई हरेक कुराको चिन्ता हुन थाल्छ,’ उनले भनिन् । पहिलाको अनुभव र क्षमताले मात्रै सफल सीईओ बन्न सकिँदैन । नुईका अनुसार यसका लागि जीवनभर आफूलाई सुधार्दै लैजाने र सिकिरहने प्रयत्न र वाचा गर्नुपर्छ । सीईओले आफूलाई जति विस्तार र विकसित गर्दै जान्छ, कम्पनी त्यति नै ‘भाइब्रेण्ट’ हुन्छ भन्छिन् नुई ।
कम्पनीको जिम्मेवारी सम्हालेपछि नुईले संस्थागत लगानीलाई जङ्क फूडबाट हेल्थी फूडतिर डोर्याइन् । उनको यो कदमको निकै विवाद पनि भयो । यसबाट उत्पन्न विवाद अन्त्य गर्न उनले पेप्सीकोका प्रडक्टलाई ‘फन फर यू’, ‘बेटर फर यू’ र ‘गूड फर यू’ गरी तीन वर्गमा वर्गीकरण गरिन् । पुनः वर्गीकरणको रणनीति धेरै हदसम्म सफल भयो । सन् २०१० मा नुईले ‘फन फर यू प्रडक्ट’ घटाएर ‘डायट’ प्रडक्टलाई प्रवर्द्धन गरिन् । अहिले कम्पनीले गुलिया पेयपदार्थ र आलुचिप्स मात्र बेचिरहेको छैन, ट्रपिकाना, नेकेड जूस, इज्जेलगायत स्वस्थ्यवर्द्धक पेय पनि बेचिरहेको छ । कम्पनीमा आबद्ध भएदेखि नै नुईले मुख्य उत्पादनमा नून, चिनी तथा चिल्लोपदार्थ घटाउन र आधुनिक समाजको मागअनुरूपका वस्तु उत्पादनमा जोड दिइन् ।
नुईको सबैभन्दा ठूलो सफलता पेप्सी ब्राण्डको पूर्ण परिवर्तन नै हो । अहिले उनी उदीयमान बजारको मध्यम वर्गमा कम्पनीको उत्पादनको पहुँच विस्तार गर्नेलगायत रणनीति लिइरहेकी छिन् । उनको प्रभाव दूरगामी थियो । दृढ निश्चय र सबै काम ‘पर्फेक्ट’सँग गर्ने बानीका कारण अरूले अपेक्षा गरेभन्दा धेरै पर पुग्न उनी सफल भइन् ।
महिला सीईओ धेरै नहुनुमा नुईको तर्क
अहिले पनि विश्वका धेरै कम्पनीमा महिला सीईओ निकै कम छन् । यस्तो किन भएको होला भन्नेबारे नुईले फेबु्रअरीमा फिकोनोमिक्स रेडियो शोमा भनेको कुराको सार :
हरेक कार्यालयमा धेरै महिला कर्मचारी न्यूनस्तरमा हुन्छन् । उनीहरूमध्ये धेरैजना मध्यम व्यवस्थापन तहमा पुग्छन् । तर, त्यसपछि बच्चा जन्माउनुपर्यो, उनीहरूलाई हुर्काउनुपर्यो । महिलाका लागि बालबच्चा, करीअर, विवाहबीच तालमेल मिलाउन निकै गाह्रो हुन्छ । अनि कम्पनीको वृद्धि र विकासलाई डोर्याउने उच्च क्षमता भएको ‘आउट–पर्फमर’ हुन त झन् कठिन छ । त्यसैले गर्दा जति जति माथिल्लो तहमा पुग्यो, त्यति त्यति महिलाको उपस्थिति पातलिँदै जान्छ ।