ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

संसद्द्वारा मण्ट्रियल महासन्धि पारित : हवाई यात्रुको बीमा रकम अब सवा करोड

Aug 24, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । लामो समयदेखि बहसमा आएको मण्ट्रियल महासन्धिलाई प्रतिनिधिसभाको बिहीवारको बैठकले सर्वसम्मतिबाट पारित गरेको छ । यो महासन्धि पारित भएसँगै नेपालबाट अन्तरराष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा उल्लेख्य वृद्धि भएको छ । हवाई यात्रुको रू. २० लाखमात्रैको बीमा हुँदै आएकोमा अब महासन्धिअनुसार रू. १ करोड २४ लाख ४१ हजारको बीमा हुनेछ । बैठकले ‘अन्तरराष्ट्रिय हवाई परिवहन’ विषयक नियम एकीकरण गर्ने मण्ट्रियल महासन्धिलाई अनुमोदन गरेको हो । महासन्धिका प्रावधानले अन्तरराष्ट्रिय उडानका क्रममा हुने दुर्घटनामा नेपाली र विदेशी यात्रुले पाउने बीमा रकम अब समान हुनेछ । हवाई उड्डयनका माध्यमबाट हुने परिवहनबाट सृजित जोखीमबाट यात्रुलाई सुरक्षित गर्न महासन्धिका प्रावधान महत्त्वपूर्ण रहेका छन् । हवाई यात्रुको बीमा रकम अन्तरराष्ट्रिय मापदण्डबराबर बनाउने उद्देश्यले सन् १९९९ देखि नै मण्ट्रियल महासन्धि कार्यान्वयनमा आएको थियो । तर, महासन्धि अनुमोदन हुन नसक्दा हवाई यात्रुको बीमा रकम बढ्न सकेको थिएन । नेपालमा हालसम्म सन् १९५५ देखि कार्यान्वयनमा आएको ‘हेग प्रोटोकल’अनुसार नै बीमा रकम दिइने गरिएको थियो । सोअनुसार हवाई यात्रुको बीमा रकम मात्रै २० हजार डलर रहेको थियो । विश्वका १३२ देशले अभिसन्धि अनुमोदन गरिसकेका छन् । दक्षिण एशियामा भारत र श्रीलङ्काले सो अभिसन्धिलाई यसअघि नै अनुमोदन गरेका थिए । अनुमोदन गर्ने नेपाल तेस्रो राष्ट्र भएको छ । हवाई यात्रुको बीमामा उल्लेख्य वृद्धि गर्दै अन्तरराष्ट्रिय मापदण्डअनुसार बनाउन सरकारले महासन्धिलाई लागू गर्न लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताए । हवाई यात्रामा हुने जोखीम कम गर्न र यात्रुको सुविधालाई संसारभर समान बनाउन उक्त महासन्धि अनुमोदन गरी कार्यान्वयनमा ल्याउन लागिएको उनले बताए । नेपालमा गतवर्ष यूस बङ्गलाको विमान दुर्घटना भएपछि मण्ट्रियल महासन्धि पारित गर्ने विषयमा बहस थालिएको थियो । सो महासन्धि लागू भएपछि हवाई उडान दुर्घटना वा हवाई अव्यवस्थापनका कारण भोग्नुपरेका कष्ट, कार्गोको ढिलाइ, ओसारपसार गर्दा हुने सामानको नोक्सानी तथा क्षतिको उचित क्षतिपूर्ति प्राप्त गर्ने प्रावधानलाई सुनिश्चित गर्न सहयोग गर्ने छ । महासन्धिको पक्षराष्ट्र हुँदा नेपाललाई थप आर्थिक दायित्व वहन गर्नु नपर्ने, नेपालमा उडान गर्ने पर्यटक तथा यात्रुको मनोबल उच्च हुने र हवाई उडानवाहकका दायित्वलाई सुनिश्चित गर्दै बढी क्षतिपूर्ति पाइनेछ । यसबाट मुलुकलाई समेत समग्रमा फाइदा पुग्ने बताइएको छ । महासन्धिमा अग्रिम क्षतिपूर्ति भुक्तानी र दाबी गर्ने अधिकार क्षेत्रको छनोटजस्ता यात्रुमैत्री प्रावधानसमेत अभिसन्धिमा समेटिएका छन् । महासन्धिअनुसार कार्गोको नोक्सानी, क्षति वा विलम्ब भएमा प्रतिकिलो रू. २ हजार ९० क्षतिपूर्ति तिर्नुपर्नेछ । यस्तै यात्रुका सामग्रीको नोक्सानी वा क्षति भएमा रू. १ लाख २४ हजार ४ सय १० क्षतिपूर्ति तिर्नुपर्नेछ । यात्रुको यात्रा विलम्ब भएमा रू. ५ लाख १६ हजार ३ सय ४० क्षतिपूर्ति दिनुपर्ने व्यवस्था महासन्धिले गरेको छ । बीमा रकम नबढाए नेपाल वायुसेवा निगमलाई अन्तरराष्ट्रिय उडानमा समस्या पर्ने भन्दै सरोकारवाला निकायले समेत महासन्धि अनुमोदनका लागि पटकपटक आग्रह गर्दै आएका थिए । महासन्धि कार्यान्वयन भएपछि अन्तरराष्ट्रिय उडान गर्ने नेपाली विमानसेवा कम्पनीलाई समेत सहज हुने छ । महासन्धि अनुमोदनपछि सरकारले अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)को मुख्यालय क्यानडाको मण्ट्रियलमा पठाउनेछ । आईकाओमा पेश गरेको ६० दिनभित्र यो महासन्धि लागू हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)