ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बिमष्टेक नजिकिँदा कालोपत्र गर्न भ्याइनभ्याई : टालटुले विकासले छोपिएला लाज ?

Aug 26, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपालका कुनै अन्तरराष्ट्रिय कार्यक्रम आयोजना हुँदा रातारात हुने ‘विकासको नेपाली मोडल’ बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालका खाडीका देशहरूको प्रयास (बिमष्टेक)को चौथो शिखर सम्मेलनको पूर्वसन्ध्यामा पनि देखिएको छ । यही भदौ १४ र १५ गते काठमाडौंमा आयोेजना हुने बिमष्टेकको चौथो शिखर सम्मेलनको पूर्वतयारीका क्रममा यतिबेला सरकारलाई विदेशी पाहुना आवतजावत गर्ने रूटमा पर्ने सडकका खाल्डाखाल्डी पुर्न भ्याइनभ्याई भएको छ । सम्मेलनमा सहभागी हुन भारत, भुटान, श्रीलङ्का, बङ्गलादेश, थाइल्याण्ड र म्यानमारका राष्ट्राध्यक्ष तथा सरकारप्रमुख तथा अन्य मन्त्री र उच्चपदस्थ कर्मचारी काठमाडौं आउँदै छन् । आम उपभोक्ताले सडकमा दिनहुँ सास्ती खेप्नु पर्दा समस्याको समाधान नखोज्ने सरकारी निकाय यतिबेला भने बिमष्टेकमा सरकारी लाज छोप्न टालटुले विकास मोडलमा व्यस्त छ । यसरी टालेको विकास बिमष्टेकमा आएका विदेशी पाहुना फर्किन नपाउँदै पूर्ववत् अवस्थामै फर्किने छ । विशिष्ट विदेशी पाहुनाहरूको आगमनका बेलाबाहेक अन्य समयमा भने सरकारको त्यो तदारुकता कमै देख्न पाइन्छ । २०७१ साउन १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको राजकीय भ्रमणमा आउँदा सरकारले सडक मात्र होइन, काठमाडौंमा सडक छेउका घर पनि सिँगारेको थियो । त्यतिबेला मोदी पुग्ने कार्यक्रम रहेका ठाउँमा सरकारले सडक कालोपत्र गरेर चिल्लो बनाएको थियो । त्यस्तै सोही वर्ष काठमाडौंमा सार्क शिखर सम्मेलनका समयमा पनि सरकारले विकासको नेपाली मोडल प्रयोग गरेर सार्क राष्ट्र प्रमुखहरूका अगाडि आफ्नो लाज छोपेको थियो । सार्क सम्मेलनमा सार्क सदस्य राष्ट्रका ८ राष्ट्राध्यक्ष तथा सरकार प्रमुख काठमाडौं आएका थिए । गत वैशाख २८ गते पनि भारतीय प्रधानमन्त्री मोदी दुईदिने नेपाल भ्रमणमा आउँदा विमानस्थलदेखि उनी बस्ने होटल ह्यातसम्मको सडक कालोपत्रे गरिएको थियो । त्यो कालोपत्र सडक मोदी फर्केसँगै पूर्ववत् अवस्थामै फर्किसकेको छ । अहिले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्मको सडकमा खाल्डा पुर्ने र मर्मत गर्ने काममा सडक विभागका कर्मचारी रातदिन नभनी खटिएका छन् । सरकारको यो रवैयाको सडकदेखि संसद्सम्म आलोचनासमेत भएको छ । एकातिर सामाजिक सञ्जालमा टालटुले विकासको यो मोडेलको विरोध भइरहेको छ भने अर्कोतिर सदनमा पनि विदेशी पाहुनालाई अलग अलग ठाउँमा राखेमा धेरै ठाउँका सडकका खाल्डा पुरिनेथियो भनेर सांसदहरूले सरकारमाथि व्यङ्ग्य गरेका छन् । केही दिनअघिको संसद् बैठकमा सरकारको यो कामप्रति व्यङ्ग्य गर्दै सांसद गगन थापाले संसद् बैठकमा बिमस्टेक सम्मेलनमा आउने विदेशी पाहुनालाई छुट्टाछुट्टै होटलमा राख्न सरकारलाई सुझाव दिएका थिए । बिमष्टेकमा आउने सबै पाहुनालाई सरकारले होटल सोल्टीमा राख्ने भएको छ । त्यसैले विमानस्थल हुँदै तीनकुने, बानेश्वर, माइतीघरलगायतका स्थानमा सडकका खाल्डाखुल्डी पुर्ने तथा रेलिङ र पर्खालमा रङ लगाउने काम तीव्र गतिमा भइरहेको छ । कतिपय ठाउँमा सडकका दायाँबायाँ पेण्टिङ गर्ने र रुख बिरुवा कटान गरी सुन्दर बनाउने काम भएका छन् । त्यसका लागि अहिले दिनरात साँझ बिहान धमाधम कालोपत्रेको काम भइरहेको छ । अन्य समयमा प्रधानमन्त्रीले निर्देशन दिँदासमेत नपुरिएका काठमाडौंका खाल्डा पुर्ने र भत्किएका पिच बनाउने काम अहिले धमाधम भइरहेका छन् । जनताको करबाट उठाएको रकमबाट गरिएका यस्ता विकासका काम न त गुणस्तरीय हुन्छन् न त दिगो नै ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)