ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटकीय गन्तव्य विस्तारको तयारी : ५६ जिल्लाले बुझाए ६ सय गन्तव्यस्थलको सूची

Aug 27, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । पर्यटकीय गन्तव्यस्थलहरूको विस्तारका लागि सरकारले गृहकार्य अघि बढाएको छ । २० लाख पर्यटक भिœयाउने उद्देश्य राखेर सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरिसकेको सरकारले सोहीअनुरूप पर्यटकीय स्थलको थप विस्तार र पहिचान गर्ने कार्य अघि बढाएको हो । हाल सीमित मात्रामा रहेका पर्यटकीय गन्तव्यस्थलको थप विस्तार र नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचानका लागि भन्दै ७७ जिल्लामा पर्ने गरी १ सय ओटा पर्यटकीय गन्तव्यस्थलको पहिचान गर्न नेपाल पर्यटन बोर्डले सूचना जारी गरेको थियो । सूचनाअनुसार छोटो अवधिमै विभिन्न जिल्लाले उत्साहजनक रूपमा आप्mना जिल्लाका सम्भावना भएका पर्यटकीय गन्तव्यस्थलको सूची उपलब्ध गराइरहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले जानकारी दिए । गत साउनको अन्तिम साता जारी गरिएको सूचनाअनुसार हालसम्म ५६ जिल्लाबाट ६ सयभन्दा बढी गन्तव्यस्थलको सूची बोर्डमा आइपुगेको छ । उनले भने, ‘हामीले मागेअनुसार जिल्लाहरूबाट सूची आउने क्रम जारी छ । सम्भावित गन्तव्यको पहिचान तथा मूल्याङ्कनको काम भदौभित्रै सक्नेगरी गृहकार्य अघि बढाएका छौं ।’ २१ जिल्लाबाट भने सम्भावित पर्यटकीय गन्तव्यस्थलको सूची अझै नआइपुगेको पनि उनले जानकारी दिए । बोर्डले पर्यटकीय गन्तव्यस्थलको पहिचान र दायरा विस्तारका लागि प्रदेश सरकारसँग पनि सहकार्य गरी अघि बढ्ने बताएको छ । उनले भने, ‘नेपाल भ्रमण वर्ष २०२०’लाई लक्षित गरी बोर्डले पर्यटकीय गन्तव्यहरू पहिचान गर्नका लागि गृहकार्य अघि बढाएको हो ।’ यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातओटै प्रदेशमा पर्ने गरी सातओटै पर्यटकीय गन्तव्य छनोट गरेको छ । यी सात प्रदेशमा पर्ने पर्यटकीय गन्तव्यस्थलको विकास तथा प्रवद्र्धनका लागि मन्त्रालयले ‘पर्यटन विकास क्षेत्र’ निर्माणको गुरुयोजनासमेत तयार गरिसकेको छ । गत साउन महीनासम्ममा भएका उपलब्धि सार्वजनिक गर्दै मन्त्रालयले देशको सीमित क्षेत्रमा रहेको पर्यटन गतिविधिलाई विस्तार गर्ने लक्ष्यसहित सातओटा गन्तव्यस्थल छनोट गरिएको उल्लेख गरेको छ । मन्त्रालयका अनुसार प्रदेश नं. १ मा इलामको सन्दकपुर, २ मा धनुषाको धनुषाधाम, ३ मा मकवानपुरको कुलेखानी, गण्डकी प्रदेशमा कास्कीको पञ्चासे, ५ मा कपिलवस्तुको निग्लिहवा, कर्णाली प्रदेशमा मुगुको रारा र प्रदेश नं. ७ मा कञ्चनपुरको भादागाउँमा पर्यटन विकास क्षेत्र निर्माणको गुरुयोजना तयार भएको छ । नेपाल पर्यटकीय गन्तव्य मुलुक मानिए पनि सरकार तथा सम्बन्धित निजीक्षेत्रले पर्यटकीय स्थलहरूको विस्तार तथा पहिचानका लागि भने खासै सक्रियता देखाउन नसकेका बेला अहिले भएका गन्तव्य छनोट र खोजी कार्यले मुलुकको पर्यटकीय गन्तव्यमा विविधताका साथै गन्तव्य विस्तार पनि हुने सम्भावना देखिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)