ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बिमष्टेक सम्मेलनमा विदेशी पाहुना आउने क्रम शुरू : आज विदेश सचिवस्तरीय बैठक

Aug 28, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमष्टेक) सम्मेलनमा विदेशी पाहुना आउने क्रम शुरू भएको छ । विदेशी पाहुना आउने क्रमसँगै काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । भदौ १४ र १५ गते काठमाडौंमा आयोजना हुन लागेको शिखर सम्मेलनमा भाग लिन सोमवार सदस्य राष्ट्रका सचिवहरू काठमाडौं आइसकेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सम्मेलनस्थल होटल सोल्टीमा मङ्गलवार (आज) सचिवस्तरीय बैठक हुनेछ । सचिवस्तरीय १९औं बैठकले मन्त्रीस्तरीय बैठकको एजेण्डा तय गर्ने छ । आजै सदस्य राष्ट्रका विदेशमन्त्रीहरू आउने कार्यक्रमसमेत छ । सम्मेलनको पूर्वसन्ध्यामा विदेशमन्त्री स्तरीय बैठक बस्नेछ । बुधवार (भोलि) बस्ने १६औं मन्त्रीस्तरीय बैठकले सम्मेलनको एजेण्डाको मस्यौदा तय गर्ने छ । त्यस्तै बैठकले बिमष्टेक महासभा र समझदारीपत्र र काठमाडौं घोषणापत्रलाई हस्ताक्षरका लागि अन्तिम रूप दिनेछ । मन्त्रालयका अनुसार राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरू १३ गते साँझ र १४ गते बिहानसम्ममा नेपाल आउने कार्यक्रम छ । बिमष्टेकमा सहभागी हुन बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना, थाइल्याण्डका प्रधानमन्त्री प्रायुत चान–ओ–चा, म्यानमारका राष्ट्रपति विन मिन्त र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे नेपाल आउँदै छन् । विभिन्न विषयमा समझदारी हुने शिखर सम्मेलनले बिमष्टेकको स्थापनाको २१ वर्षपछि आफ्नो बडापत्र पारित गर्ने कार्यक्रम छ । यसैगरी बिमष्टेक महासन्धि कार्यान्वयनका विषयमासमेत छलफल हुनेछ । नेपालले केही दिन अघिमात्र अन्तरराष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागू औषध कारोबारविरुद्ध सहयोगसम्बन्धी बिमष्टेक महासन्धिलाई अनुमोदन गरिसकेको छ । यस्तै सदस्य मुलुकहरूबीच विद्युत् प्रसारण (ग्रीड कनेक्टिभिटी) र यातायात तथा पारवहन सम्झौतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । सम्मेलनमा बिमष्टेकले पहिचान गरेका १४ ओटा सहयोगसम्बन्धी साझेदारीका क्षेत्रहरूका विषयमा समेत छलफल हुने मन्त्रालयले जानकारी दिएको छ । सुरक्षा व्यवस्था कडा सम्मेलनका लागि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । सरकारले चारओटै सुरक्षा निकायलाई परिचालन गर्ने भएको छ । सम्मेलनको सुरक्षा व्यवस्थाको लागि सरकारले चारओटै सुरक्षा निकायलाई परिचालन गर्ने भएको छ । सुरक्षाको सबै तयारी पूरा भइसकेको सुरक्षा निकायले जानकारी दिएका छन् । प्रहरीले सोमवार बिहान भीआईपीको सुरक्षाका लागि पूर्वाभ्याससमेत गरेको छ । सम्मेलनमा चारओटै सुरक्षा निकायका २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लागि सुरक्षा जाँच गर्न १३ सदस्यीय कमाण्डोको टोली सोमवार काठमाडौं आएको छ । भारतीय वायुसेवाको विमानमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढ्ने तीनओटा गाडीसमेत भारतबाटै ल्याइएका छन् । त्रिभुवन विमानस्थल बिहीवार अढाई घण्टा बन्द त्रिभुवन विमानस्थल सम्मेलनका लागि बिहीवार अढाइ घण्टा बन्द गरिने भएको छ । बिमष्टेक सम्मेलनका लागि विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष आउँदा विमानस्थलका अरू नियमित उडान बन्द हुनेछन् । बिहीवार बिहान ८ बजेदेखि साढे १० बजेसम्म आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द हुने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले बताए । यस्तै विमानस्थलले बिमष्टेक सम्मेलनलाई ध्यानमा राख्दै यात्रु तथा सर्वसाधारणका लागि नयाँ व्यवस्थासमेत लागू गरेको छ । विमानस्थलले बिमष्टेक सम्मेलन देशकै प्रतिष्ठाका रूपमा महत्त्वपूर्ण उत्सव भएकाले यात्रुको सुरक्षा तथा सहजीकरणका लागि यात्रुबाहेकका आगन्तुकको प्रवेश निषेध गरेको सूचना जारीगरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)