बिमष्टेकको चौथो शिखर सम्मेलन : क्षेत्रीय सहयोग र सहकार्यमा जोड
Aug 31, 2018
 
समाचार
मुख्य खबर
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमष्टेक)को चौथो शिखर सम्मेलन बिहीवारदेखि काठमाडौंमा शुरू भएको छ । सम्मेलनको उद्घाटन सत्रमा सदस्य राष्ट्रका प्रमुखहरूले बिमष्टेक सदस्य राष्ट्रहरूको विकास र समृद्धिका लागि सहकार्य आवश्यक भएको बताए । विकास र समृद्धिको लागि क्षेत्रीय शान्ति र स्थायित्व आवश्यक रहेको बताउँदै उनीहरूले सदस्य राष्ट्रबीचको सहकार्य र एकताले मात्र यो सम्भव हुने तथ्य औंल्याए ।
सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क र बिमस्टेक एकअर्काको विकल्प नभई परिपूरक भएको तथा बिमष्टेकले देशहरूलाई मात्र जोड्ने नभई दक्षिण एशिया र दक्षिणपूर्वी एशियालाई पनि जोड्ने बताए । उनले भने, ‘बिमस्टेकले हिमालदेखि महासागरसम्मलाई जोड्दै पारस्परिक सहयोग र सहकार्यलाई मजबुत बनाउँछ ।’ बिमष्टेक सदस्य राष्ट्रबीच ऊर्जा, जलस्रोत, पर्यटन, कृषिलगायत विभिन्न क्षेत्रमा सहकार्यको सम्भावना रहेको उनको भनाइ थियो । बिमष्टेक सदस्य राष्ट्रलाई जोड्ने बलियो माध्यम बुद्ध धर्म पनि रहेको पनि उनले बताए ।
प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को चाहना पूरा गर्न अन्तरराष्ट्रिय समुदायको समर्थन र सद्भाव आवश्यक रहेको बताए । प्रधानमन्त्रीले ‘सुखी नेपाली समृद्ध नेपाल’को अवधारणालाई साकार बनाउन सरकारले भौतिक पूर्वाधार, ऊर्जा, सडक सञ्जाल र अन्य क्षेत्रमा अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको स्पष्ट पारे ।
बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले बिमष्टेकका सदस्य राष्ट्रको आर्थिक विकास र समृद्धिका लागि आफू प्रतिबद्ध रहेको बताइन् । बङ्गलादेश पनि विभिन्न समस्याबाट जुध्दै अगाडि बढेको बताउँदै उनले भनिन्, ‘सुनौलो बङ्गलादेश बनाउन सदस्य राष्ट्रहरूको सहयोग आवश्यक छ ।’
भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवम् प्रधान न्यायाधीश ल्योन्पो छिरिङ वाङचुले बिमष्टेकको उद्देश्य परिपूर्तिका लागि भुटान पूर्ण प्रतिबद्ध र यस क्षेत्रको विकास, कनेक्टिभिटी, प्रविधि र समृद्धिका लागि सहकार्य गर्न तयार रहेको बताए । उनले साझा लक्ष्य प्राप्तिको लागि सदस्य राष्ट्रबीच सहकार्यको आवश्यकतामाथि जोड दिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्षेत्रीय विकासका लागि कनेक्टिभिटी आवश्यक भएको धारणा राखे । उनले सदस्य राष्ट्रको आपसी हितका लागि भारत सधैँ तयार रहेको बताए । उनले बिमष्टेक महिला सांसद फोरमको प्रस्ताव गर्दै सदस्य राष्ट्रको लागि विभिन्न छात्रवृत्ति, अनुसन्धान वृत्ति तथा सम्मेलनका लागि भारतले सहयोग गर्ने बताए ।
म्यान्माका राष्ट्रपति वीँ म्यीँले बिमष्टेकले ऊर्जा कनेक्टिभिटीमा जोड दिई पूर्व निर्णयलाई कार्यान्वयनमा ल्याउन पहल गर्नुपर्ने बताए । यातायात सञ्जालको माध्यमबाट एक अर्कालाई जोड्न स्थल र जलमार्ग सुरक्षित तवरले सञ्चालनमा ल्याउनुपर्नेमा उनको जोड थियो ।
श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले कनेक्टिभिटीबाटै सदस्य राष्ट्रको आर्थिक प्रगति गर्न सकिने बताए । बिमष्टेकको सुदृढीकरणबाट त्यो लक्ष्य हासिल गर्न सकिने उनको धारणा थियो ।
थाइल्याण्डका प्रधानमन्त्री प्रयुट चान ओ चाले सदस्य राष्ट्रको विकासले मात्र क्षेत्रीय समृद्धि प्राप्त गर्न सकिने बताउँदै बिमष्टेकलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखे ।
यसैबीच बिमष्टेकका सदस्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीवार शीतल निवासमा भेट गरेका थिए । उनीहरू राष्ट्रपतिद्वारा आयोजित दिवाभोजमा पनि सहभागी भए । सम्मेलन उद्घाटनपछि सदस्य राष्ट्रका प्रमुखहरू प्रधानमन्त्री ओलीले ह्यात होटलमा आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए ।
दोस्रो दिन शुक्रवार विहान सदस्य राष्ट्र प्रमुखहरूको रिट्रिटपछि दिउँसो आयोजना हुने सम्मेलनको कार्यक्रममा अन्तरदेशीय ऊर्जा प्रसारण लाइन स्थापना गर्ने सहमतिपत्रमा हस्ताक्षर हुनुका साथै काठमाडौं घोषणापत्र जारी गरिने कार्यक्रम रहेको छ ।
बिमस्टेक यस क्षेत्रका राष्ट्रबीच आपसी सहयोग र सम्बन्ध विस्तारका लागि सन् १९९७ को जुन ६ मा भएको हो । बिमष्टेकमा नेपालसहित बङ्गलादेश, भुटान, भारत, श्रीलङ्का, म्यानमा र थाइल्यान्ड गरी सात सदस्य राष्ट्र छन् । बिमष्टेकले मुख्य गरी १४ क्षेत्रमा आपसी सहयोग गर्ने उद्देश्य लिएको छ । यसमा प्रविधि, अपराध न्यूनीकरण, कृषि, पर्यावरण, आतङ्कवाद नियन्त्रण तथा गरीबी नियन्त्रणसहितका क्षेत्र प्रमुख रहेका छन् ।
बिमष्टेकको पहिलो सम्मेलन सन् २००४ थाइल्यान्डमा, दोस्रो सन् २००८ भारतमा तथा तेस्रो शिखर सम्मेलन सन् २०१४ मा म्यानमामा भएको थियो । यो चौथो सम्मेलन हो भने पाँचौ सम्मेलन श्रीलङ्काले आयोजना गर्ने छ ।