ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

असोज ९ र १० गते बीमासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन हुँदै : मुख्य एजेण्डा ‘विपद् जोखीम व्यवस्थापन’

Sep 2, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । नेपालमा दोस्रोपटक बीमासम्बन्धी अन्तरराष्ट्रिय स्तरको सम्मेलन हुने भएको छ । आगामी असोज ९ र १० गते विकासशील राष्ट्रका बीमक र पुनर्बीमकको सङ्गठन (एआईआरडीसी)ले आफ्नो २२औं सम्मेलन नेपालमा गर्ने भएको हो । नेपालमा यसअघि सन् २००० मा पनि यस्तो सम्मेलन भएको थियो । १८ वर्षपछि नेपालले फेरि एआईआरडीसीको सम्मेलनलाई नेतृत्व गर्ने अवसर पाएको छ । सम्मेलन काठमाडौंस्थित सोल्टी क्राउन प्लाजामा हुने बताइएको छ । बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले सम्मेलन नेपाल पुनर्बीमा कम्पनीका लागि बढी उपयोगी हुने बताए । उनका अनुसार सम्मेलनमार्फत पुनर्बीमा कम्पनीले आफ्नो व्यावसायिक दायरा बढाउन सक्नेछन् ।’ सम्मेलनमा विदेशी बीमा कम्पनीहरूको सहभागिता रहनेछ । पौडेलले सम्मेलनमा बीमाको वर्तमान समस्या र आगामी चुनौतीबारे पनि छलफल हुने जानकारी दिए । सम्मेलन नेपालको बीमा बजारका लागि बढी फाइदाजनक हुने उनको भनाइ छ । सम्मेलनको तयारीका लागि विभिन्न उपसमिति बनाएर अघि काम बढाइएको छ । सम्मेलनका लागि गठित आयोजक समितिको अध्यक्षमा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र सहअध्यक्षमा नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाह रहेका छन् । सम्मेलनमा सम्बन्धित देशको नियामक निकायका प्रतिनिधि, विदेशी बीमाविज्ञ र बीमाक्षेत्रमा आबद्ध व्यक्तित्वहरूको सहभागिता रहनेछ । सम्मेलनमा करीब ५ सयको सहभागिता हुनेमा विदेशी मुलुकबाट झण्डै २ सय जना हुनेछन् । सम्मेलनमा विपद् जोखीम व्यवस्थापनसम्बन्धी विषयलाई मुख्य एजेण्डाका रूपमा लिइएको छ । समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले भने, ‘सोही विषयमा केन्द्रित भई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बीमाविज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् । त्यसमाथि छलफल गरेर आवश्यक निष्कर्षसमेत निकालिनेछ ।’ सोही निर्णयको आधारमा काठमाडौं घोषणापत्र जारी गरिने उनले बताए । नेपालमा भूकम्प, बाढीजस्ता प्राकृतिक विपद्ले ठूलो मात्रामा जनधनको क्षति हुँदै आएको छ । २०७२ सालको भूकम्प र वर्षेनि आउने बाढीले आम जनतासँगै राज्यलाई पनि प्रभावित बनाएको छ । बीमा कम्पनीहरूले पनि त्यस्तो अवस्थामा उच्च मात्रामा दाबी भुक्तानी दिनुपर्ने हुन्छ । त्यसैले ‘विपद् जोखीम व्यवस्थापन’सम्बन्धी एजेण्डामा हुन लागेको सम्मेलन नेपालका लागि महत्त्वपूर्ण हुने बीमाविज्ञहरू बताउँछन् । सम्मेलनमा हुने आर्थिक खर्चको व्यवस्थापन बीमा समिति र बीमक सङ्घले गर्ने बताइएको छ । समितिका अनुसार सम्मेलनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आवश्यक छलफल भइरहेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)