सोलार प्लाण्टबाट चन्द्रपुरमा ४ मेगावाट विद्युत उत्पादन गरिंदै
Sep 3, 2018
 
समाचार
मुख्य खबर
भदौ १८, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा सोलार प्रणालीबाट ४ मेगावाट विद्युत उत्पादन हुने भएको छ । करीव आठ हेक्टर जमिन भाडामा लिएर एक निजी कम्पनीले बिद्युत उत्पादन गर्न लागेको हो ।
सो कम्पनीले प्रारम्भिक वातावरणीय परीक्षण समेत गरेको छ । अपि पावर कम्पनीले चन्द्रपुर ५ स्थित राजपैडामा जनज्योती माविको स्वामित्वमा रहेको जग्गा ३० वर्षसम्मका लागि भाडामा लिएर विद्युत उत्पादन गर्न लागेको हो । एक हजार किलोवाटको ४ ओटा इन्भटर मार्फत विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणको ३३ केभि प्रसारण लाइनमा जोड्ने कम्पनीले बताएको छ ।
ग्रिडमा आवद्ध सौर्य उर्जा आयोजनाले एक वर्ष भित्र बिद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । उत्पादित बिद्युत करीव तीन किमि टाढा रहेको प्राधिकरणको ग्रिडमा जोडिने छ ।
कम्पनीका प्रतिनिधिहरुले स्थानीय सरोकारवालाहरुसँग छलफल गरेर काम अघि बढाएका छन् । सोलारबाट ४ मेगावाट विद्युत उत्पादन भएपछि जिल्लामा लोडसेडिङ्गको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।