असार १८, लण्डन (बेलायत) । बेलायती केन्द्रीय बैङ्क ‘बैङ्क अफ इङ्ल्याण्ड’ (बीओके)का नयाँ गभर्नर मार्क कार्ने विश्वका सबैभन्दा बढी आम्दानी गर्ने केन्द्रीय बैङ्कर भएका छन् । तलब, भत्ता र आवासीय खर्चसहित कार्नेको कुल आम्दानी वार्षिक १३ लाख डलर रहेको छ । यसैक्रममा बेलायती अर्थमन्त्री जर्ज ओसबर्नले सही उम्मेदवारलाई काममा राख्दा अधिक मूल्य तिर्नुपर्ने बताएका छन् । क्यानाडाली केन्द्रीय बैङ्कका पूर्वगभर्नरसमेत रहेका कार्नेको नेतृत्वमा बेलायती अर्थतन्त्रले नयाँ गति पाउने अपेक्षा गरिएको छ । यसका साथै बीओकेका गभर्नरका रूपमा उनका चुनौतीहरू पनि थपिएको छ ।
बीओकेका पूर्वगभर्नर मर्भिन किङको सेवा निवृत्तपछि सोमवारदेखि ५ वर्षको कार्यकाल सम्हालेका कार्नेले आफ्नो नेतृत्वमा बैङ्क सफलताको उचाइमा पुग्ने दाबी गरेका छन् । बेलायतमा भइरहेको तीव्र सरकारी खर्च कटौतीको वर्तमान समयमा घरायसी र व्यावसायिक कर्जामा बढावा दिन मुद्रास्फीतिलाई नियन्त्रण गर्नुपर्ने दायित्व उनीमाथि रहेको बताइन्छ । ब्याजदर निर्धारण र सम्पत्ति खरीदको व्यवस्थापन गर्नेजस्ता कार्य गर्दै आएको बेलायतको केन्द्रीय बैङ्कले हालै मात्र बैङ्किङ क्षेत्र र समग्र बेलायती वित्तीय प्रणालीको नियमनको जिम्मेवारी पनि उठाएको छ ।
‘म विश्वको सबैभन्दा सस्तो शहरमध्येको एक ओटावाबाट विश्वकै सबैभन्दा महँगो शहरमध्येको एक बेलायततर्फ लागिरहेको छु,’कार्नेले गत फेब्रुअरीमा बताएका थिए । बैङ्क अफ इङ्ल्याण्डले गत बिहीवार कार्नेको नेतृत्वमा पहिलो मौद्रिक नीतिगत बैठकको आयोजना गरेको थियो । विश्लेषकहरूले बैङ्कमा महत्वपूर्ण परिवर्तन ल्याउन कार्नेले सबैभन्दा पहिला अमेरिकी फेडरल रिजर्भले गत अगष्टमा लिएको ब्याजदरसम्बन्धी नीतिलाई अपनाउनु पर्नेमा जोड दिएका छन् । एजेन्सी