ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘भारतको खाल्डो’ र नेपाल

Sep 7, 2018  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
सामाजिक सञ्जालमा अहिले भारतको नक्साजस्तै देखिने ललितपुरतिरको एक सडकमा परेको खाल्डोको तस्वीर निकै भाइरल बनेको छ । पछि कसले हो त्यसमा श्रीलङ्कासमेत जोडेको देखिन्छ । यसरी नक्साजस्तै फोटोमै सही भारत पानीमा डुबेकोमा धेरै नेपालीले निकै खुशी व्यक्त गरेका छन् । यसबाट नेपालीहरू भारतप्रति कति असन्तुष्ट छन् भन्ने पनि देखाउँछ । यो नेपालीहरूमा रहेको भारतविरोधी ग्रन्थी मात्र हो या सरकारी निकम्मापनप्रतिको आक्रोश पनि ? जे होस्, एकछिनलाई मानौं भारत साँच्चै नै पानीमा डुबेछ । त्यसो भएमा के होला त ? पहिलो कुरा त नेपाललाई स्वीट्रजल्याण्ड बनाउने नेपाली नेताहरूको सपना कहिल्यै पूरा हुँदैन । अथवा नेपाललाई स्वीट्जरल्याण्ड बनाउँछु भन्दै नेपाली जनतालाई सधैं मूर्ख बनाइरहने बहाना बाँकी रहँदैन । किनकि, भारत डुब्ने भनेको नेपालको मुखमा समुद्र आउने भनेको पनि हो । स्वीट्जरल्याण्ड हुन त नेपालजस्तै भूपरिवेष्ठित नै रहिरहनु पर्‍यो नि त ! नेपाल स्वीट्जरल्याण्ड नभए सेसेल्स, मरिसस वा माल्दिभ्स बन्न सक्ला नि त भन्नुहोला । हो, ती पनि आफ्नै हिसाबले सुन्दर ठाउँ हुन् र स्वीट्जरल्याण्डजस्तै पर्यटनका केन्द्र पनि हुन् । तर, भारत डुबेर समुद्र नेपालको सँघारमै आए पनि नेपाल सेसेल्स, मरिशस वा माल्दिभ्स बन्न सक्तैन । किनकि, ती देशहरूजस्तै बन्न चारैतिर समुद्र चाहिन्छ । नेपालको उत्तरमा त चीन छ । चीन पनि डुब्यो भने मात्र नेपाल ती देशहरूजस्तै बन्न सक्ला । तर, चीन पनि डुब्यो भने नेपालको चैं हविगत के होला त ? चीन अलिअलि डुबेछ भने पनि नेपाललाई नै नबगाउला र ? ल चीन डुबे पनि नेपाल पूरै डुबेनछ भने फेरि नेपालले खेल्ने गरेको भारत–चीन खेल त समाप्त हुन्छ । चीन–चीन मात्र खेल खेल्न सक्ला र नेपालले ?

अर्काे सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने भारत पानीमा डुब्यो भने नेपाल बोर्डरसँगै जोडिएका भारतका जोगबनी, रक्सौल, रूपैडिया, गौरीफण्टा आदि भारतीय बजारमा सस्तोमा सामान किनमेल गर्न जानै पाइँदैन । उपचार गर्न दिल्ली वा पुना जान पाइँदैन । हाम्रा नेताहरूको राजनीतिक तीर्थाटन पनि रोकिन्छ । सबैभन्दा मुख्य कुरा त ठूल्दाइ कसलाई मान्ने ? राजकाज गर्न सल्लाह कोसँग लिने भन्ने प्रश्न अनुत्तरित रहन्छ । अझ नेपाली बोर्डर क्षेत्रका खासगरी क्यासिनो र होटलहरू सुक्नेछन् । लाखौं नेपाली युवाहरूको एक प्रमुख रोजगारी गन्तव्य सुक्छ । मुम्बईमा पुगेर उदित नारायण र मनीषा कोइराला बन्न चाहनेहरूको सपना तुहिन्छ । भारतीय सेनामा भर्ती पाउन रोकिन्छ । नेपालीहरूका लागि कपाल काटिदिने, घरघरमा तरकारी फलफूल पुर्‍याउनेहरू वा प्लम्बिङ गर्न आउनेहरू बाटो बन्द हुन्छ । त्यसबेला नेपालीहरूको हालत के हुन्छ होला ? भारत मात्रै डुब्यो भने पनि सार्क, बिमष्टेक आदि क्यै नि हुँदैन । ती कार्यक्रमले नेपालको अन्तरराष्ट्रिय छवि कति धेरै बढेको छ, त्यो सबै रोकिन्छ । सडक, शहर सुन्दर बनाउने अवसर पनि रोकिन्छ । अझ चीन र भारत दुवै देशबाट रेल ल्याएर उनीहरूबीच प्रतिस्पर्धा गराउने प्रधानमन्त्रीको सबै योजना तुहिन्छ । भारत डुब्यो भने नेपालको बजार र विकास पनि दुवै सुक्छ । किनकि, नेपाली सडकमा भारतीय गाडीजति सस्तो, सजिलो अन्यत्र कहाँबाट ल्याउने ? त्योभन्दा पनि नेपाली फिल्महलहरू के देखाएर चलाउने ? किनकि, नेपाली फिल्मले मात्र हलमा वर्षैभरि दर्शक तान्न सक्लान र ? अनि भारूसँगको नेपाली नोटको नाता अर्थात् ‘पेग’ टुटेपछि नेपाली रुपैयाँ डलरसँग अझ कति अवमूल्यन होला ? सबैभन्दा प्रमुख कुरा त भारत डुब्यो भने दिनरात हामीले कसलाई गाली गर्ने ? बुद्ध नेपालमै जन्मेका हुन् भनेर बारम्बार कोसँग लडिरहने ? भारतले गर्दा नै नेपालको विकास हुन सकेन भनेर अहिलेजस्तो अर्काे कुन बहाना बनाएर उम्किने ? हो, त्यही भएर होला भारतले के के गरेर नेपाली भूभाग डुबानमा पार्‍यो भन्दै जति कराए पनि नेपालका सम्बन्धित निकायहरू भारतसँग यसबारे कुरै उठाउन चाहँदैनन् । नेपालका केही भूभाग डुबेर के भो र ? भारतचाहिँ किमार्थ डुब्नु हुन्न ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)