ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कित्ताकाटमै अल्झियो बाहिरी चक्रपथ

Sep 10, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । कार्यान्वयनको चरणमा पुगेको भनेर प्रचारित बाहिरी चक्रपथ आयोजनाको काम तत्काल शुरू नहुने देखिएको छ । कुल ७२ किलोमिटर (किमी)मध्ये पहिलो चरणमा निर्माण गर्ने भनिएको चोभार–गाम्चा–सतुङ्गलको ६ दशमलव ६ किलोमीटर खण्डमा जग्गा कित्ताकाटको समस्या पुनः बल्झिएपछि आयोजनाकोे निर्माण कार्य अघि बढ्न नसकेको हो । जग्गा एकीकरण (ल्याण्ड पुलिङ) प्रणालीबाट जग्गा विकास गरिए पनि यस क्षेत्रमा ससाना जग्गाहरूको बाहुल्य अत्यधिक देखिएपछि तत्काल निर्माण कार्य अघि बढाउन नसकिने शहरी विकास मन्त्रालयले जानकारी दिएको छ । पहिलो चरणमा निर्माण हुने यस खण्डको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) भने मन्त्रिपरिषद्बाट पारित भइसकेको छ । गत वैशाख ४ गतेको मन्त्रिपरिषद्को बैठकले पहिलो चरणमा निर्माण हुने चोभार–गाम्चा–सतुङ्गल खण्डको डीपीआर स्वीकृत गरेको थियो । आयोजनाले मन्त्रिपरिषद्को स्वीकृतिपछि प्रधानमन्त्री केपी शर्मा ओलीको १ सय दिनको कार्यावधि पुगेको दिन पारी आयोजनाअन्तर्गतको ‘चोभार–सतुङ्गल’ खण्डको निर्माण कार्य शुरू गर्ने तयारीसमेत गरेको थियो । तर, अहिले सोही क्षेत्रमा साना–साना कित्ताका जग्गाहरू बढी भएको भन्दै मन्त्रालयले निर्माण प्रक्रियालाई यथावत् राखी यसको समाधानका लागि पहल गरिरहेको बताएको छ । यस्तै आयोजना कार्यान्वयनको प्रमुख भूमिका खेल्ने काठमाडौं उपत्यका विकास प्राधिकरणले पनि जग्गा व्यवस्थापनका लागि अहिले निर्माणको प्रक्रिया अघि नबढाएको उल्लेख गरेको छ । त्यसैगरी, बाहिरी चक्रपथ आयोजना निर्माणको जिम्मा लिएर गठन गरिएको ‘बाहिरी चक्रपथ आयोजना’ प्रमुखविहीन समेत भएको छ । पूर्वआयोजना प्रमुखको अवकाश भइसकेको तर अहिले आयोजनामा प्रमुख नियुक्त नहुँदा आयोजनाका कार्यहरू अघि बढाउन असहज भएको प्राधिकरणका अधिकारी बताउँछन् । जग्गा प्राप्ति ऐन २०३४ अनुसार सरकारले त्यस क्षेत्रको जग्गा अधिग्रहण र एकीकरण गरेर विकसित घडेरी जग्गाधनीलाई नै हस्तान्तरण गर्ने गरी आयोजना शुरुआत भएको हो । राजधानीकै सबै क्षेत्र सडक सञ्जालबाट वञ्चित रहेको, प्रमुख स्थानहरूबाट राजधानीका प्रमुख क्षेत्रसँग जोड्ने र अव्यवस्थित रूपमा शहरीकरण पनि बढ्दै गएकाले यसलाई व्यवस्थापन गर्ने उद्देश्य आयोजनाको छ ।
प्राधिकरणलाई पत्राचार गरेका छौं दीपेन्द्रनाथ शर्मा सचिव शहरी विकास मन्त्रालय आयोजनाको काम अघि बढाउन अहिले केही जग्गा विकास र प्राविधिक समस्या देखिएको छ । बाहिरी चक्रपथको काम अघि बढाउनेमा दुईमत छैन । यो कार्यलाई मन्त्रालयले प्राथमिकताका साथ राखेको छ र अहिले केही जग्गा विकासको अध्ययन गर्दा प्राविधिक समस्या देखिएको पाइएको हो । पहिलो चरणमा निर्माण हुने चोभार–गाम्चा–सतुङ्गल खण्डका जग्गामा कित्ताकाट बढी भएका विषय आएका छन् । यस विषयमा प्राविधिकलगायत अन्य समस्याका विषयमा हामीले काठमाडौं उपत्यका विकास प्राधिकरणलाई पत्राचार गरेका छौं । यसको जवाफ आएपछि बाहिरी चक्रपथको कार्य अघि बढाउँछौं । जग्गा विकास गर्दा धेरै साना–साना कित्ताकाट देखिएकाले पछि प्रभावित जग्गाधनी तथा लाभग्राहीलाई व्यवस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले अहिले केही समय लाग्ने भएको हो । कित्ताकाट छिट्टै टुङ्गिन्छ भाइकाजी तिवारी विकास आयुक्त, काठमाडौं उपत्यका विकास प्राधिकरण जग्गा प्राप्तिलाई सहज बनाउन र जग्गाधनी विस्थापित नहुने गरी जग्गाको कित्ताकाटमा हामीले ध्यान दिन जरुरी छ । पहिलो खण्डको ६ दशमलव ६ किमीमा मात्रै ३ आना र त्यसभन्दा मुनिका २ हजार ९ सय ५३ कित्ताको जग्गा विभाजन गरिएको देखिएको छ । त्यसमध्ये ६ सय कित्ता सरकारी जग्गा देखिएको छ । साना कित्ताकाटका जग्गा हुँदा जग्गाधनीलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती हामीलाई हुन्छ, अर्काेतर्पm सम्मानित सर्वाेच्च अदालतले पनि जग्गा विकास गर्दा तथा प्लटिङ गर्दा कसैलाई पनि विस्थापित नगराउनु भन्ने आदेश दिएको छ । यसले गर्दा पनि जग्गा विकाससम्बन्धी मापदण्ड नै परिवर्तन गरेर वा केही समाधान निकालेपछि मात्रै बाहिरी चक्रपथ निर्माणको काम अघि बढ्छ । अहिले जग्गा रोक्का भएको छैन । ल्याण्ड पुलिङमार्पmत जग्गा विकास गरिएकाले राज्यलाई कुनै भार हुँदैन भने अर्कोतर्पm प्रभावित स्थानीयलाई पनि विस्थापित नहुने गरी संयुक्त रूपमा अपार्टमेण्ट वा अन्य कुनै उपायबाट कम जग्गा हुनेलाई व्यवस्थापन गरिनेछ । यसका लागि अहिले साना–साना परिणाममा भएको कित्ताकाटको समस्यालाई छिटै समाधान गरी आयोजनालाई थप गति दिने हाम्रो योजना छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)