ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिनी आयात रोक्न प्रधानमन्त्रीको निर्देशन : उद्योगहरूमा १ लाख मेटनभन्दा बढी चिनी मौज्दात

Sep 10, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपाल चिनी उत्पादक सङ्घले लामो समयदेखि उठाउँदै आएको चिनी आयात बन्द गर्ने माग पूरा गर्न सरकार सहमत भएको छ । व्यवसायीहरूको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि चिनी आयात रोक्न निर्देशन दिएका छन् । उखु उत्पादक किसान सङ्घ र नेपाल चिनी उत्पादक सङ्घका प्रतिनिधिसँग बालुवाटारमा भएको छलफलपछि प्रधानमन्त्रीले सम्बन्धित मन्त्री र सचिवलाई यो निर्देशन दिएका हुन् । यो निर्देशनसँगै तत्कालका लागि बाहिरी मुलुकबाट चिनी ल्याउन पाइने छैन । नेपालमा भारत, पाकिस्तानलगायत मुलुकबाट चिनी आयात हुने गरेको छ । प्रधानमन्त्री ओलीले बाहिरी मुलुकबाट सस्तो मूल्यमा आयात भएको चिनीसँग स्वदेशको चिनीले प्रतिस्पर्धा गर्न नसकेको गुनासो आएपछि आयात बन्द गर्न निर्देशन दिएको बताएका छन् । यस्तै आउने सिजनमा विदेशबाट उखु आयात गर्न पनि नपाइने भएको छ । उद्योगीले भारततिरको उखु किन्ने तर नेपाली किसानको उखु नकिनेको गुनासो सम्बोधन गर्न सरकारले उद्योगीलाई नेपाली उखु नै किन्न बाध्य पारेको छ । चिनी उद्योगीहरूले नेपाली चिनी विक्री नभएको भन्दै चिनी आयात पूर्णरूपमा बन्द गर्न सरकारसँग माग गर्दै आएका थिए । आयात कम गर्न चिनी उत्पादक सङ्घले चिनीको आयातमा लाग्ने भन्सार शुल्क १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पुर्‍याउनुपर्ने माग अघि सारेका थिए । सरकारले केही महीना अघिमात्रै उद्योगीको उक्त माग पूरा गरी भन्सार शुल्क बढाएर ३० प्रतिशत पुर्‍याएको थियो । त्यसपछि पनि चिनी आयात नरोकिएपछि उद्योगीहरूले आयातलाई नै बन्द गर्न माग गरेका थिए । सङ्घका अध्यक्ष शशिकान्त अग्रवालले सरकारको यो निर्णयले नेपाली किसान तथा उद्योगको प्रवर्द्धनमा सहयोग पुग्ने प्रतिक्रिया दिए । उनका अनुसार नेपाली उद्योगहरूले यो सिजनमा उत्पादन गरेको १ लाख ७८ हजार मेट्रिक टन चिनीेमध्ये करीब ५०÷६० हजार मेट्रिक टन चिनी मात्र विक्री भएको छ । अहिले नेपाली उद्योगीहरूसँग १ लाख मेट्रिक टनभन्दा बढी चिनी मौज्दात रहेको अग्रवालले जानकारी दिए । अबको सिजनमा चिनी बढी खपत हुन्छ । उनले नेपालमा चिनी अभाव हुँदा उद्योगीले नै सरकारलाई आवश्यक चिनी खरीद गर्न आग्रह गर्ने गरेको उनले जानकारी दिए । अग्रवालले उद्योगीले चिनी विक्री गर्न नपाउँदा किसानको रकमसमेत भुक्तानी गर्न समस्या पर्ने गरेको बताए । यद्यपि सबै चिनी उद्योगले उखुको ५० प्रतिशतभन्दा बढी रकम भुक्तानी गरिसकेको बताइएको छ । आयात रोकिँदा मूल्य बढ्दैन : उद्योगी चाडपर्वको मुखैमा चिनी आयातमा प्रतिबन्ध लगाइएपछि चिनीको मूल्य बढ्ने हल्ला चलिरहँदा उद्योगीले भने मूल्य नबढ्ने बताएका छन् । अध्यक्ष अग्रवालले भने, ‘एकातिर हामीसँग पर्याप्त चिनी मौज्दात छ भने अर्कोतर्फ आयात बन्द गर्ने सरकारको निर्णयको बेला हामीले मूल्य नबढाउने लिखित प्रतिबद्धता जाहेर गरेका छौं । त्यसैले चिनीको मूल्य बढ्दैन ।’ सङ्घका महासचिव राजेश केडियाले नेपाली उद्योगसँग १ लाख र बजारमा करीब १ लाख मेट्रिक टन गरी अहिले २ लाख मेटन चिनी रहेकाले चाडपर्वमा चिनीको समस्या नहुने बताए । आउने सिजनमा हाम्रो माग धान्नेगरी चिनी स्वदेशमै उत्पादन हुने उनले बताए । केडियाले सबै चिनी उद्योगले किसानको ७० प्रतिशतभन्दा बढी रकम भुक्तानी गरिसकिएको र उखु क्रशिङ गर्ने आउने समयअगाडि बाँकी रकम भुक्तानी दिइने बताए । अहिले नेपालमा १३ ओटा चिनी उद्योग छन् । सङ्घका अनुसार चिनी उद्योगसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा ५ हजार किसान जोडिएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)