ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अकाशिँदो डलर मूल्यको प्रभाव : भारूमा आयात गर्दा फाइदा

Sep 13, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । गत सातादेखि अमेरिकी डलरसँग नेपाली रुपैयाँ (नेरू)को विनिमय दर दैनिक औसत १ रुपैयाँका दरले वृद्धि भएको छ । बुधवार १ अमेरिकी डलर खरीद गर्दा १ सय १६ रुपैयाँ खर्च गर्नुपर्ने भएको थियो । एकातिर विश्वबजारमा डलरको भाउ अकाशिनु र नेरूसँग आबद्ध भारतीय मुद्रा डलरको तुलनामा सर्वाधिक कमजोर हुनु नै नेपाली मुद्रा सर्वाधिक सस्तो हुनुको कारण हो । यसरी डलर महँगिएको समयमा भारूमा वस्तु तथा सेवा आयात गर्दा केही राहत मिलेको राष्ट्र बैङ्कको तर्क छ । केन्द्रीय बैङ्क विदेशी विनिमय विभागका अनुसार नेपाल र भारतको स्थिर विनिमय दर भएका कारण बाध्यताले नै भारतसँग मुद्रा सटही गरेर आयात गर्नु परेको हो । ‘तर, अहिले नेपालको अधिकतम आयात भारतीय मुद्रामा नै हुने स्थिति बनेकाले डलर महँगिँदा केही राहत मिलेको हो,’ विभाग स्रोतले भन्यो ।

गत आर्थिक वर्षको तथ्याङ्कअनुसार भारतबाट कुल ८ खर्ब ९ अर्ब ८१ करोड रुपैयाँको वस्तु आयात गर्दा साढे १ खर्ब रुपैयाँ मात्र अमेरिकी डलरबाट भुक्तानी गरिएको छ । बाँकी सबै भारूमा भुक्तानी भएको छ । त्यसबाहेक चीनबाट हुने आयातका लागि १ खर्ब ५९ अर्ब ६३ करोड रुपैयाँबराबर अमेरिकी डलरमा भुक्तानी गरिएको छ । अन्य मुलुकबाट सामान आयात गर्न २ खर्ब ७३ अर्ब ३७ करोड रुपैयाँबराबरको डलर भुक्तानी भएको तथ्याङ्क छ । गत आवमा कुल आयातको करीब ६० प्रतिशत वा ६ खर्ब ५७ अर्ब ८५ करोड नेरूको आयात भारुमा भुक्तानी गरिएको छ भने ५ खर्ब ८४ अर्ब ९६ करोड रुपैयाँबराबरको आयात डलरमा भएको छ ।

यसरी डलरमा भन्दा भारूमा बढी आयात हुने भएकाले नेपाललाई लाभ देखिएको छ । ‘भारतसँग स्थिर विनिमय दर भएकाले र धेरै आयात भारूमै हुने कारण बाध्यताले डलर तिरेर भारू खरीद गर्नुपरेको हो,’ विभागका एक अधिकारीले भने, ‘तर, डलर महँगो हुँदा भने नेपाललाई फाइदा हुन्छ ।’ यसरी नेपालले भारू खरीद गर्नका लागि नेपालसँग प्रशस्त डलर हुन जरुरी छ । तथ्याङ्कअनुसार यतिबेला नेपालसँग सञ्चिति पर्याप्तता सूचकले करीब ११ महीनाको वस्तु आयात र साढे ९ महीनाको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी मुद्रा रहेको देखाएका छन् । तेस्रो मुलुकसँगको कारोबारमा भने नेपाललाई नोक्सान भएको छ । अमेरिकाबाहेक अन्य मुलुकमा जाँदा वा कारोबार गर्दा सोही मुलुकको मुद्रासँग गरेमा कम प्रभाव पर्ने राष्ट्र बैङ्कको तर्क छ ।

केन्द्रीय बैङ्क विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाका अनुसार नेपाली मुद्रा कमजोर हुँदा सैद्धान्तिक रूपमा नेपालको निर्यात बढनु पर्ने हो । तर, अत्यावश्यक वस्तुहरू आयात नगरी नहुने अवस्था रहेको नेपालमा यसले आयातको बिल महँगो हुन जान्छ ।

राष्ट्र बैङ्कले यतिबेला डलरको सञ्चिति कम भएको बताएको छ । ‘यो बेला भारू किनेर राखेको भए धेरै फाइदा हुन्थ्यो । भारतीय रुपैयाँको मूल्य घटेपछि बढेको डलरबाट भारू किन्दा तुलनात्मक रूपमा बढी रुपया आउँथे यो । वर्षेनी अर्बौं डलर खर्चेर खरीद गरेको भारूले भारतबाट वस्तु आयात गर्नुभन्दा त्यस्तो आयातको भुक्तानी डलरमा नै गर्ने व्यवस्था मिलाए अर्थतन्त्रलाई दोहोरो फाइदा हुने अर्थशास्त्रीको तर्क छ ।

गत वर्षदेखि भारतमा लागू भएको वस्तु तथा सेवाकर (जीएसटी)ले भारूको माग व्यवस्थापन र विदेशी मुद्रा सञ्चिति दोहोरो लाभ प्राप्त गर्ने अवसर सृजना गरिदिएको छ । पहिलो डलरमा हुने निर्यातमा भारतले जीएसटी नलगाउने भएकाले नेपालमा आयात हुने औद्योगिक कच्चा पदार्थ, मेशिन उपकरण तथा उपभोग्य वस्तुको लागत कम हुने उनीहरूको तर्क छ । यसबाट नेपाली उद्योगको उत्पादकत्व र उपभोक्ताको क्रयशक्तिमा सुधार आउने एक अर्थशास्त्रीले बताए । अर्को राष्ट्र बैङ्कले डलर बेचेर भारू खरीद गर्ने झन्झट पनि गर्नु पर्दैन भने नेपालले नक्कली भारू कारोबार स्थलको आरोप पनि खेप्नु नपर्ने उनको भनाइ छ ।

डलरको मुख्य स्रोत विप्रेषण नेपालमा भित्रिने डलरको मुख्य स्रोत विप्रेषण हो । हालसम्म कुल डलर आप्रवाहको ५२ प्रतिशत विप्रेषणबाट आएको राष्ट्र बैङ्कको तथ्याङ्क छ । यसबाहेक निर्यातबाट ६ प्रतिशत, वैदेशिक ऋणबाट ६ प्रतिशत, विदेशी लगानीबाट १ प्रतिशत, पेन्सन आयबाट ४ प्रतिशत, पर्यटनबाट १२ प्रतिशत र अनुदानबाट ४ प्रतिशत डलर भित्रिने गरको छ । दशैं,तिहारजस्ता चाडवाड आएको र डलरको मूल्यसमेत बढेकाले आगामी दिनमा डलर आप्रवाह केही बढ्ने राष्ट्र बैङ्कको अपेक्षा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)