ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युतीय सवारी प्रयोग

Sep 13, 2018  
प्रडक्ट.समाचार. यातायात
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
विद्युतीय सवारीसाधनको प्रयोगले विश्वभर नै प्राथमिकता पाइरहेको अवस्थामा नेपाल पनि यसको प्रयोगलाई विस्तार गर्ने क्रममा छ । सोही कार्यलाई प्रोत्साहन गर्न भन्दै अहिले राष्ट्रपतिदेखि ऊर्जामन्त्री, राष्ट्रिय योजना आयोगका पूर्व–उपाध्यक्षलगायतले विद्युतीय सवारीको प्रयोग गरेका छन् । साथै, व्यक्तिगत रूपमा पनि विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको छ । विश्वमा विद्युतीय सवारीसाधन मूलतः वातावरणमैत्री तथा हाल भएको प्रदूषणलाई कम गर्ने विषयमा केन्द्रित हुँदा नेपालमा भने यस प्रकारका साधनले तीनओटा पक्षमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ । अहिले मुलुकको अर्थतन्त्रलाई नै आयातमुखी अर्थतन्त्रको रूपमा चित्रण गरिने अवस्था छ । यस अवस्थालाई टेवा दिने कार्यमा पेट्रोलियम पदार्थको आयातलाई प्रमुख मानिएको छ । नेपाल आयल निगमको २०७४/७५ सम्म आइपुग्दा मुलुक इन्धनको खपतमा २० प्रतिशतले वृद्धि भएको देखिन्छ । नेपाल पेट्रोलियम पदार्थमा पूर्णरूपमा भारतमाथि निर्भर छ । विद्युतीय सवारी सञ्चालन गर्दा नेपालले लाभ लिने पहिलो पक्ष भनेको व्यापार घाटा कम गर्नु हो । गत आव २०७४/७५ मा नेपालले वैदेशिक व्यापार घाटा करीब रू. ११ खर्ब ६२ अर्ब पुगेको थियो । त्यसमा पेट्रोलियम पदार्थ आयात गर्दा नेपालले करीब २ खर्ब (रू. १ खर्ब ९८)को पेट्रोलियम पदार्थ आयात गरेको भन्सार विभागको तथ्याङ्क छ । जनसङ्ख्या र सवारीसाधनको वृद्धिसँगै इन्धनको खपत पनि सोही क्रममा बढ्दै गएको छ । खाना पकाउने ग्यासदेखि सवारीसाधनका लागि इन्धनको आवश्यकता पर्छ । यसबाट आयात हुने इन्धनलाई कम गराउन पनि नेपालले बिजुली उत्पादनलाई प्राथमिकतामा राखेर खपत बढाउन जोड दिनुपर्छ । अहिले यही कार्यलाई प्रोत्साहन गरिएको छ । अर्काे दोस्रो पक्ष विश्वले अहिले गरेको अभ्यासमा नेपालको पनि अग्रसरता । नेपालका प्रमुख शहर काठमाडौंलगायत केही शहर वायुप्रदूषण भएका शहरको रूपमा गणना हुन थालेका छन् । खासगरी पुराना सवारीसाधनबाट निस्किएको धूँवाका कारण पनि वायुप्रदूषण हुने गरेको देखिएको छ । यसलाई कम गराउन विद्युतीय सवारी अत्यावश्यक हुन्छ । ध्वनि तथा वायुप्रदूषण कम गरी वातावरणमैत्री पर्यावरणको सृजनाका लागि पनि अब विद्युतीय सवारीलाई जोड दिनु आवश्यक छ । यसले वातावरण स्वच्छ राख्न मद्दत गर्नुका साथै जनस्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । अहिले वायुप्रदूषणका कारण आमजनताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्दै आएको छ भने यसले राज्य तथा सर्वसाधारणको ठूलो लगानी यसमा परिचालन भएको छ । यसलाई रोक्न पनि विद्युतीय सवारीको प्रयोगले टेवा पुर्‍याउँछ ।

यसैगरी तेस्रो पक्ष कार्बन व्यापार हो । कार्बन मोनोअक्साइड ग्यासका कारण अहिले प्रदूषण बढ्दै गएको छ । पुराना प्रक्रिया (डिजेल, पेट्रोल, मट्टितेल र दाउरा) बाट सञ्चालन हुने सवारीसाधन र दैनिक खाना बनाउने प्रक्रियालाई विद्युत्मार्फत गर्न सकियो भने कार्बन उत्सर्जनमा कमी आउँछ । यसले वातावरण जोगाउन मद्दत मिल्छ । एकातर्फ यसले वन जङ्गलको विनाश रोक्छ, भने अर्काेतर्फ स्वच्छ बिजुलीमार्फत आम सर्वसाधारणका कार्यहरू (खाना पकाउनेदेखि सवारीमा आवतजावत) गर्दा सस्तो र सुलभ हुँदा दिनचर्यामै सकारात्मक प्रभाव पार्छ । कार्बन उत्सर्जन कम गराएर नेपालले यसलाई निर्यात व्यापारको रूपमा अघि बढाउन सक्छ । अहिले सरकारले ‘रेड’ कार्यक्रममार्फत कार्बन व्यापारका विषयमा छलफल अघि बढाइसकेको छ । अर्काेतर्फ नेपालको ऊर्जालाई ‘स्वच्छ ऊर्जा’को रूपमा हेरिएको छ । यसले नेपालको विद्युत् निकासीमा मद्दत पुर्‍याउने निश्चित छ । अहिले संसारभर नै वातावरण प्रदूषणको विषय पेचिलो बन्दै गएको छ । यसबाट हुने हानि तथा क्षतिका विषयलाई विश्वले नै गहन रूपमा हेरेकाले नेपालले पनि यसलाई महत्त्व दिनु आवश्यक हुने साङ्ग्रिला मोटर्स प्रालिका सेल्स एण्ड सर्भिस प्रमुख अच्यूतराज आचार्यको तर्क छ । २०१० देखि विद्युतीय सवारी विक्री गर्दै आएको अग्नि इनर्जी प्रालिका वरिष्ठ कार्यकारी प्रवन्धक प्रमोद भण्डारी पहिलाभन्दा अहिले निकै सहज भएको बताउँछन् । ‘विद्युतीय सवारी भिœयाउने हामी पायोनीयर कम्पनी हौं । अहिले सबैले ल्याउन थालेका छन्,’ उनले भने, ‘काठमाडौंलाई प्रदूषणमुक्त बनाउन, स्वच्छ श्वासप्रश्वास र स्वच्छ जीवनशैली अपनाउन यसले मद्दत गर्छ ।’ सरकारले मास ट्रान्सपोर्ट (ठूला सीट क्षमता)का सवारी सञ्चालनलाई उच्च प्राथमिकता दिएको अवस्थामा निजीक्षेत्रका यातायात व्यवसायीले अहिले चाइनाबाट विद्युतीय सवारीसाधन आयात गर्ने क्रममा छन् । सरकारले यस्ता सवारी आयातमा ५० प्रतिशत भन्सार छूट दिएको छ भने सडक दस्तूर पनि मिनाहा गरेको छ । यसले गर्दा पनि अहिले सबैको प्राथमिकतामा विद्युतीय सवारीसाधन परेको देखिएको छ । पूर्वाधार र ब्याट्री व्यवस्थापनको चिन्ता ! विद्युतीय सवारीसाधनको प्रयोगमा तीव्र रूपमा चासो बढ्दै गर्दा यसका लागि आवश्यक पर्ने पूर्वाधारको उपलब्धता र यसमा प्रयोग हुने ब्याट्री व्यवस्थापन अहिले चुनौतीका विषय बनेका छन् । अर्काेतर्फ व्यक्तिगत प्रयोजनका लागि सञ्चालन गरिएका यस्ता गाडीहरू सार्वजनिक बसको रूपमा सञ्चालन गर्ने भन्ने विषय पनि चुनौती छ । काठमाडौंमा मङ्गलवारदेखि शुरू भएको नाडा अटो शोमा पनि विद्युतीय सवारीसाधन लञ्च गर्ने विषय प्राथमिकतामा रहेको देखियो । यसमा विभिन्न कम्पनीका नेपाली आधिकारिक विक्रेताहरूले विद्युतीय गाडी लञ्चलाई नै उच्च प्राथमिकता दिए । त्यसमध्ये महिन्द्रा, किया, होण्डा, हुण्डाईजस्ता चर्चित ब्राण्डले विद्युतीय चार्जिङ स्टेशन नै राखेर गाडीहरूको प्रचारप्रसार गरेका थिए भने आम अवलोकनकर्ताको चासोसमेत यस्तै गाडीमा देखिएको थियो । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका विद्युतीय सवारीसाधन कमिटीका अध्यक्ष सुरज भट्टराईले यसपटकको अटो शोमा विद्युतीय सवारी नै प्राथमिकतामा राखिएको बताए । ‘यसप्रकारका गाडीहरू सञ्चालन गर्न चासो बढ्दै गएको अवस्थामा पूर्वाधार (ब्याट्री चार्जिङ) र ब्याट्री व्यवस्थापनमा चिन्ताको विषय भएको छ,’ उनले भने, ‘अब हामीले चार्जिङ स्टेशन स्थापना र ब्याट्री व्यवस्थापन गर्न अब सरकार तथा निजीक्षेत्रको सहकार्यमा अन्तरराष्ट्रिय अभ्यास हेर्दै गृहकार्य अघि बढाउनु आवश्यक छ ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)