ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विश्वमा क्यान्सर : नयाँ रोगीको सङ्ख्या १ करोड ८१ लाख, ९६ लाखको मृत्यु

Sep 13, 2018  
समाचार जीवनशैली गृह पृष्ठ मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
भदौ २८, काठमाडौं (अस) । विश्व स्वास्थ्य संगठन अन्तर्गतको निकाय इण्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आइएआरसी)ले १ सय ८५ देशमा ३६ प्रकारका क्यान्सरलाई समेटेर क्यान्सरले विश्व समुदायमा पार्ने भारको पछिल्लो अनुमानित आँकडा प्रकाशित गरेको छ । सन् २०१८ मा क्यान्सरका नयाँ रोगीहरूको सङ्ख्या बढेर १ करोड ८१ लाख र क्यान्सरबाट मृत्यु हुनेहरूको सङ्ख्या ९६ लाख पुगेको अनुमान गरिएको छ । विश्वका ५ जना पुरुषमध्ये एक जना र ६ जना महिलामध्ये एक जनालाई उनीहरूको जीवनकालमा कुनै न कुनै प्रकारको क्यान्सर हुने गरेको छ । ८ जना पुरुषमध्ये एक जना र ११ जना महिलामध्ये एक जनाको क्यान्सरबाट मृत्यु हुन्छ । क्यान्सर लागेको पत्ता लागेपछि ५ वर्षसम्म (जसलाई ५ वर्षे प्रिभलेन्स अवधि भनिन्छ) जीवित रहने व्यक्तिहरूको सङ्ख्या विश्वभरीमा ४ करोड ३८ लाख रहेको अनुमान छ । क्यान्सरको भार वृद्धि हुनुका विभिन्न कारणहरू छन् । जनसङ्ख्या वृद्धि तथा उमेर वृद्धि र साथसाथै सामाजिक तथा आर्थिक विकाससँग सम्बन्धित क्यान्सरका केही निश्चित कारकहरूको बढ्दो प्रभाव यसका केही कारणहरू हुन् । यो विशेषगरी तीव्र विकास भइरहेका अर्थतन्त्रहरूमा लागू हुन्छ । जहाँ एक तर्फ गरिबी तथा सङ्क्रमणहरूसँग सम्बन्धित क्यान्सर रोगीको सङ्ख्या कम हुँदै छ भने अर्को तर्फ औद्योगिक विकास भएको देशको नागरिकको जस्तै जीवनशैलीसँग सम्बन्धित क्यान्सर रोगीको सङ्ख्या बढिरहेको छ । आधाभन्दा बढी क्यान्सरका रोगी एशियामा प्रभावकारी रोकथाम प्रयासहरूले गर्दा (उदाहरणको लागि, उत्तरी युरोप र उत्तर अमेरिकाका पुरुषहरूमा) फोक्सोको क्यान्सर र (उदाहरणको लागि, सब(साहारन अफ्रिका भनेर चिनिने सहारा मरुभूमिको दक्षिणी देशहरू बाहेक अधिकांश क्षेत्रमा) पाठेघरको क्यान्सर जस्ता केही क्यान्सरहरू लाग्ने दर घटेका पनि छन् । तर, नयाँ तथ्याङ्कले अधिकांश देशहरूमा निदान हुने क्रममा रहेका तथा उपचार आवश्यक भएको क्यान्सरका बिरामीहरूको कुल सङ्ख्या बढेको देखाउँछ । पुरुष तथा महिलाको विश्वव्यापी तथ्याङ्कलाई जोडेर हेर्दा सन् २०१८ मा क्यान्सरका नयाँ बिरामीहरूको कुल सङ्ख्यामध्ये लगभग आधा र क्यान्सरको कारणले मृत्यु हुनेहरूको कुल सङ्ख्या मध्ये आधाभन्दा बढी एशियामा बसोबास गर्ने मानिसहरू रहेको देखिन्छ । विश्व जनसङ्ख्याको लगभग ६० प्रतिशत एशियामा बसोबास गर्ने भएकोले पनि यस्तो अवस्था देखिएको हो । क्यान्सरका प्रकार :– फोक्सोको क्यान्सर, महिलामा स्तन क्यान्सर र ठूलो आन्द्राको क्यान्सर सङ्ख्याको हिसाबले तीन प्रमुख क्यान्सरहरू हुन् । यी क्यान्सरहरू मृत्युका हिसाबले पनि प्रमुख पाँच क्यान्सर (क्रमशः पहिलो, पाँचौ, र दोस्रो) भित्र पर्दछन् । एकसाथ हेर्ने हो भने यी तीन क्यान्सरहरू विश्वभर रहेका क्यान्सरका बिरामीको सङ्ख्या र क्यान्सरको कारणले हुने मृत्युको कुल सङ्ख्याको एक तिहाईका लागि जिम्मेवार छन् । समग्रमा हेर्दा अधिकांश क्यान्सरका नयाँ बिरामीको सङ्ख्या कम वा मध्यम मानव विकास सूचकाङ्क(एचडीआई) भएका देशहरूमा भन्दा उच्च वा अति उच्च मानव विकास सूचकाङ्क भएका देशहरूमा समान्यतया २÷३ गुणा बढी रहेको पाइन्छ । यद्यपि, यी दुई वर्गका देशहरूमा मृत्यु दर बीचको अन्तर भने कम छ, किनभने एकातिर कम एचडीआई भएका देशहरूमा गरिबीको जीवनशैलीसँग जोडिएका केही क्यान्सरहरूको सङ्ख्या उच्च छ भने, अर्कोतिर उनीहरूले समयमै निदान र प्रभावकारी उपचार पाउँदैनन् । फोक्सोको क्यान्सर पुरुष र महिला दुबैको मृत्यको प्रमुख कारण हो र यो २८ देशमा क्यान्सरका कारणले महिलाको मृत्यु हुने प्रमुख कारण पनि हो । पुरुषमा यस क्यान्सरलाई सङ्ख्याको हिसाबले प्रोस्टेट क्यान्सर र ठूलो आन्द्राको क्यान्सरले पछ्याएको छ भने मृत्युका हिसाबले कलेजो र पेटको क्यान्सरले पछ्याएको छ । महिलामा सबैभन्दा बढी देखिने क्यान्सर स्तन क्यान्सर हो (विश्वभर ४ जना महिलामा क्यान्सर पत्ता लाग्दा करीब एक जनालाई स्तन क्यान्सर भएको पाइन्छ) । यस्ता बिरामीको सङ्ख्या १ सय ८५ देशमध्ये १ सय ५४ देशमा सबैभन्दा बढी छ । महिलाको मृत्यु हुने प्रमुख कारण स्तन क्यान्सर पनि हो । त्यसैगरी पाठेघरको क्यान्सर सङ्ख्या र मृत्युका हिसाबले चौँथो नम्बरमा आउँछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)