सानो छँदा कुनै एउटा फिल्म हेरियो भने अर्को वर्ष अर्को फिल्म नहेरुञ्जेल त्यही फिल्मका बारेमा वर्षौंसम्म चर्चा चलिरहन्थ्यो । फिल्ममा नायकले यसरी डायलग हान्यो, उसरी फाइट खेल्यो वा भिलेनले कसरी बोल्यो, हिरोइनको सल कसरी हावामा उड्यो, उनी कसरी नाचिन् आदि विषयमा साथीभाइबीच खुब गफ चल्दथ्यो । तर, हिजोआज फिल्म हेरेको गफ कसैले गर्दैन । अहिले प्रायः चलचित्र हलहरु खाली खाली हुन्छन् । किन होला त भनेर बुझ्दा कुरा यस्तो पो आयो त !
हिजोआज फिल्ममा देखाइने राजनीतिक दाउपेच, फाइटको थ्रिल, हत्या, बलात्कार आदि त फिल्ममा भन्दा वास्तविक जीवनमा बढी देखिन थालेछ । एकपछि अर्को अप्रत्याशित परिदृश्यहरुले मानिसलाई जतिखेर पनि क्लाइमेक्समै पुर्याइरहन थालेछ । समाजमा विगतमा कल्पनासम्म गर्न नसकिने तर अहिले भइरहेका कतिपय गतिविधि सरकारका विभिन्न तहमा हुने निर्णय र तीसँग सम्बन्धित कामकारबाही आदि हेर्दा अब फिल्म हलमै गएर भन्दा वास्तविक जीवनमै बढी मसालेदार कथा हेर्ने सौभाग्य अहिलेका पुस्तालाई अवसर आएछ । यस मानेमा फिल्ममा भन्दा बढी कल्पनाशीलताको प्रयोग सरकारी मन्त्री, नेता, व्यवसायीका संस्था आदिले बढी गरिरहेको देखिएकाले दर्शकको आकर्षण हलभन्दा सभाहल र टीभीका पर्दामा वास्तविक नाटक हेर्नेहरुको सङ्ख्या धेरै भएछ । त्यै भएर धेरै फिल्म हलहरु अहिले बन्दप्रायः अवस्थामा छन् ।
यतिबेला सरकार प्रेस स्वतन्त्रता र चिकित्सक सेवा विधेयकको बारेमा पनि संसार हसाउन व्यस्त छ । एक कार्यक्रममा आपूर्तिमन्त्रीले नेपालका मिडिया र यहाँका उद्योगी, व्यवसायीले गर्दा नेपालमा विदेशी लगानी नआएको भनेर पनि जोक गरे ।
फिल्ममा पहिले बलात्कारी, चोर वा डाँकाले पुलिसलाई जित्छ । तर, अन्तमा गएर पुलिसकै जित हुन्छ । तर, वास्तविक जीवनमा अहिले ठीक उल्टो छ । त्यस्तै, कमेडियनको रोल स्वयम् प्रधानमन्त्री वा मन्त्रीहरुले गर्दिरहेका हुन्छन् । बिमष्टेक सम्मेलनमा सदस्य राष्ट्रबीच भारतमा संयुक्त सैन्य अभ्यास गर्ने सहमति नेपाल सरकारले गर्यो । तर, सरकारले सेना भारत पठाएन । यहाँ सरकारले संसारलाई नै हँसायो । तर, सेनाले सरकारलाई थाहै नदिई तीन सेना अनौपचारिक रूपमा पठाएर अर्को जोक मार्यो । यसरी उनीहरुले दर्शकलाई बेलाबेला जोक, चुट्किला सुनाइरहेकै हुन्छन् ।
हेर्दा असामान्य वा कल्पनाबाहिरको लाग्ने तर वास्तविक रूपमै किसिम किसिमका नाटक स्वयम् सरकारका मन्त्रीहरुले प्रदर्शन गर्दिरहेका हुन्छन् । त्यसले गर्दा दर्शकलाई हलसम्म गएर, पैसा तिरेर फिल्म हेर्नुपर्ने आवश्यकता नै रहेन । त्यसमाथि प्रधानमन्त्री स्वयम्ले विपक्षी होस् वा डा. गोविन्द केसी, सबैका विरोध कार्यक्रमलाई नाटकको संज्ञा दिने गर्नुभएको छ । अब स्वयम् प्रमले नै नाटक भनेपछि दर्शक हलमा नाटक, फिल्म हेर्न किन जान्थे र ? उदाहरणका लागि, रामबहादुर थापाले आफू गृहमन्त्री भएपछि सिङ्घम शैलीमा यातायातको सिण्डिकेट हटाउने घोषणा गरे । तर, ठ्याक्क भिलेनको रोलमा पर्दामा आए सरकारकै अर्का मन्त्री रघुवीर महासेठ र सिण्डिकेटको गाडीलाई उल्टोतिर गुडाइदिए ।
यता, नेकपाका दुई अध्यक्षमध्ये एकले नेपालमा मन्त्रीहरु फेरिन्छन् भने । अर्का अध्यक्षले भारत गएर होइन भनेर पनि दर्शक त हँसाइछाडे । विद्यार्थीलाई पनि किन नहँसाउने भनेर होला शिक्षामन्त्रीले पहिले आफैले ल्याएको १३ लाखभन्दा बढी विद्यार्थीले पाइरहेको सुविधा ‘दिवा खाजा’ कार्यक्रम अचानक बन्द गर्दिए । यस्तै, कृषिमन्त्री, आपूर्तिमन्त्री हिन्दी फिल्म ‘नायक’कै शैलीमा व्यापारीका गोदाम, तरकारी बजार, दूध डेरी आदि पुग्छन्, अनुगमन गर्छन् । सबैतिर त्राहिमाम्को वातावरण हुन्छ । दर्शकले ठान्छन्, अब यहाँ केही हुन्छ । तर, भित्रभित्रै के भयो थाहा हुन्न । बाहिर पर्दामा केही पनि देखिन्न । हँ, कहाँ गए बजारका यी नायकहरु ?
३३ किलो सुनकाण्डमा प्रहरीले यसका नाइके समातेको भनेर व्यापक प्रचारप्रसार भयो । तर, त्यो केस अहिले सस्पेन्समै छ । त्यो सुन कहाँ पुग्यो प्रहरी नै बेखबर छ । तर, एउटा युवाले पत्रिकामा के लेख्यो रे भन्ने थाहा पाएर उसलाई प्रहरीले पक्रेर थुनेरै राखेको छ । यस्तो चोर र पुलिसका कथा थुप्रै छन् । दर्शकहरु यी नाटकको अन्त्य कसरी हुन्छ होला भनेर जान्न व्यग्र प्रतीक्षामा छन् । किनकि, यसमा कुन ठूला माछा हुन्, कुन साना माछा हुन्, को भित्र पर्छन्, को भित्रका भएकाले बाहिर पर्छन्, छुट्ट्याउन नसकेर दर्शकहरु रनभुल्लमा छन् ।
२० मिनेटमा पार हुने गरेको कलङ्की–थानकोट सडकमा अहिले ४ घण्टा लाग्छ । शायद सरकार दर्शकलाई एड्भेञ्चर यात्रा गराउन चाहन्छ । तर, जब बिमष्टेकका लागि रातारात स्टेज तयार बनाउँछ सरकार, दर्शक फेरि झुकिन्छन् । अरे सरकारले चाहे त काम तुरुन्तै तमाम हुने रैछ त । तर, सरकार गर्दैन । किन ? यो पनि दर्शकका लागि अर्को सस्पेन्स । फिल्ममा भिलेनले हिरो वा हिरोइनलाई धम्की दिन्छ । वास्तविक जीवनमा आफ्नै दलका, आफैले नियुक्त गरेको मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई धम्की दिन्छन् । यहाँनेर पनि दर्शक एण्टिक्लाइमेक्सको स्थितिमा पुग्छन् ।
यतिबेला सरकार प्रेस स्वतन्त्रता र चिकित्सक सेवा विधेयकको बारेमा पनि संसार हसाउन व्यस्त छ । एक कार्यक्रममा आपूर्तिमन्त्रीले नेपालका मिडिया र यहाँका उद्योगी, व्यवसायीले गर्दा नेपालमा विदेशी लगानी नआएको भनेर पनि जोक गरे ।
यसरी हाम्रा जमानाका यी महान नायकहरु दर्शकलाई हँसाउन सक्रिय छन् र सफल छन् । यसरी नै सधैं हाँसिरहन पाइयोस् ! बाँकी कुरा पशुपतिनाथले गर्दै गर्लान् । जय होस् !