यदि कुनै व्यापारव्यवसायमा लाग्नुभएको छ र सहुलियत र सुविधा मात्रले उपभोक्ता आकर्षित हुन्छन् भनेर सोच्नुहुन्छ भने आफ्नो शैलीलाई परिवर्तन गर्नुहोस् । किनभने, ग्राहकलाई दिइने विभिन्न उपहार र सुविधाले व्यापारमा बेफाइदा पनि हुन सक्ने एक अध्ययनमा पाइएको छ । जर्नल अफ कन्ज्युमर रिसर्चको पछिल्लो अङ्कमा प्रकाशित एक रिपोर्टअनुसार बढी सहुलियतपूर्ण व्यवहार पाउने उपभोक्ता कम प्राथमिकता पाउने उपभोक्ताको उपस्थितिमा प्रसन्न नहुने सम्भावना बढी हुन्छ । अमेरिकी प्राध्यापक लान जियाङ र क्यानाडेली प्राध्यापकद्वय जो आन्द्रे होएग र डारेन डब्ल्यू डालले गरेको उक्त संयुक्त अध्ययनमा यसरी ग्राहकलाई फरक व्यवहार गर्नुले व्यापारमा नकारात्मक प्रभाव पर्न सक्ने बताइएको छ । ‘यात्रा, शपिङ र वा बाहिर खाना खान जाँदा केही ग्राहकले प्राथमिकतापूर्ण व्यवहार पाउने गर्दछन्,’ रिपोर्टमा उल्लेख छ ।
अनुसन्धाताहरुले कुनै सार्वजनिक स्थलमा व्यक्तिगत देखभालका उत्पादनको निःशुल्क स्याम्पल प्रदान गर्ने बुथ स्थापना गरेर एक अध्ययन गरेका थिए । केही उपभोक्ताहरुलाई अतिरिक्त नमूनाका साथै तिनको विस्तृत जानकारी दिइएको थियो भने केहीलाई नमूना मात्रै दिइएको थियो ।
अन्य केही उपभोक्ता पनि उपस्थित रहेको सो कार्यक्रममा अतिरिक्त नमूना उपहारका रुपमा पाउने उपभोक्ताहरु सामाजिक असुविधाका कारण कम सन्तुष्ट देखिएका थिए । उनीहरुले बुथमा पनि धेरैबेर बस्न नरुचाएको अध्ययनमा पाइएको छ ।
अध्ययनले बताएअनुसार कुनै परिश्रम र निष्ठाविना आर्जित पुरस्कारलाई कम्पनीहरुले उपभोक्तामाझ नितान्त व्यक्तिगत रुपमा पुर्याउनुपर्ने हुन्छ । त्यस्तै सहुलियतपूर्ण व्यवहार गर्दा कम्पनीहरुले सामाजिक प्रभावलाई बढी महत्व दिनुपर्ने अनुसन्धानकर्ताहरुको सुझाव छ । ‘कम्पनीहरुले यदि यस्तो सहुलियतपूर्ण व्यवहार कम्पनीको विज्ञापन र प्रचारप्रसारका लागि गर्छन् भने ग्राहकलाई यस्तो व्यवहार कडा परिश्रमबाट मात्र आर्जन गर्न सकिन्छ भनेर बुझाउन सक्नुपर्छ, ’रिपोर्टमा उल्लेख छ ।