ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्मचारी सञ्चयकोष : ६ लाख सञ्चयकर्ताको स्वास्थ्य बीमा गर्ने गृहकार्यमा

Sep 17, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । कर्मचारी सञ्चय कोषले ६ लाख सञ्चयकर्ताको स्वास्थ्य बीमा गर्न आन्तरिक गृहकार्य थालेको छ । बोर्ड बैठकले स्वास्थ्य बीमाका लागि सञ्चयकर्ताहरूको प्रिमियम तिर्ने निर्णय पारित गरेकाले कोषले त्यस्तो गृहकार्य थालेको हो । आइतवार राजधानीमा आयोजित कोषको ५७औं वार्षिकोत्सवमा कोषले कडा रोग र दुर्घटनाका लागि प्रतिव्यक्ति रू. १० लाखबराबरको बीमा गर्ने योजना बनाएको कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिए । यसबारे सम्पूर्ण विवरणसहितको कार्यविधि भने बनिसकेको छैन । कर्मचारी सञ्चयकोषअन्तर्गतको नेपाल वित्तीय संस्था कर्मचारी सङ्घका अध्यक्ष अर्जुनप्रसाद आचार्यले सञ्चयकर्ताका लागि स्वास्थ्य बीमा कार्यान्वयन गरिए कोषले वार्षिक रू. ३० करोडको व्ययभार बेहोर्नुपर्ने बताउँदै यसबारे बोर्डले गरेको निर्णय हचुवा भएको आरोप लगाए । यसैगरी प्रशासक गौतमले चालू आर्थिक वर्ष (आव) २०७५/७६ को बजेट वक्तव्यमा समेटिएअनुसार सञ्चयकर्ताका लागि आवास योजना सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए । ‘त्यसअन्तर्गत पहिलो चरणमा कोषको चितवनस्थित जग्गामा आवासीय घर निर्माण गरिनेछ भने दोस्रो चरणमा सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुरूप निजी तथा सरकारी क्षेत्रसँगको सहकार्यमा आवास परियोजना सञ्चालन गरिनेछ,’ उनले भने । यस्तै, कोषको दीर्घकालीन वित्तीय स्रोतलाई आवास तथा पूर्वाधार विकासका उययुक्त परियोजनाहरूमा लगानी गरिनेमा उनले जोड दिए । ‘उपयुक्त प्रतिफल र सुरक्षा सुनिश्चितता हुनसके अगामी ५ वर्षभित्र कोषले १ खर्ब रुपैयाँभन्दा बढी पूर्वाधार विकासका क्षेत्रहरूमा लगानी गर्न सकिन्छ,’ उनले भने, ‘यसका लागि नेपाल सरकारलगायत प्रदेश सरकार, अन्य संस्थागत लगानीकर्ता एवम् बैङ्क तथा वित्तीय संस्थाहरूसँग साझेदारी र सहकार्य गर्न कोष तयार छ ।’

कोषका अनुसार चालू आव २०७५/७६ का लागि सञ्चयकर्ताको विशेष सापटीमा कोषले लिने ब्याजदर यथावत् राखे पनि सञ्चयकर्तालाई सञ्चय कोष रकममा प्रदान गरिने ब्याजदरमा शून्य दशमलव २५ प्रतिशत बढाएर ८ दशमलव २५ प्रतिशत पुर्‍याइएको छ । २०७५ असार मसान्तको वित्तीय प्रतिवेदनअनुसार कोषमा कुल रू. २ खर्ब ९२ अर्ब ६३ करोड वित्तीय स्रोत रहेको छ । सोमध्ये रू. २ खर्ब ८७ अर्ब ७८ करोड अर्थात् ९८ दशमलव ३४ प्रतिशत विभिन्न क्षेत्रमा लगानी गरिएको छ । कुल लगानीमध्ये सञ्चयकर्ता सापटीमा ५८ प्रतिशत, परियोजना कर्जामा १६ प्रतिशत, वाणिज्य बैङ्कहरूको मुद्दती निक्षेपमा १९ प्रतिशत र बाँकी ७ प्रतिशत अन्य क्षेत्रमा प्रवाह भएको छ । आव २०७४/७५ को अवधिमा ऋण तथा लगानीबाट कुल रू. २ अर्ब ५२ करोड आम्दानी भएको छ । सो रकमबाट सञ्चयकर्तालाई प्रदान गरिएको ब्याज तथा कोषको व्यवस्थापन खर्च कटाउँदा रू. ३ अर्ब २० करोड खुद मुनाफा हुने देखिएको बताइएको छ । सो मुनाफा रकम सञ्चयकर्तालाई सामाजिक सुरक्षा सुविधा र मुनाफा वितरणको माध्यमबाट सञ्चयकर्ताकै लागि उपयोग गरिने प्रशासक गौतमले जानकारी दिए । कर्मचारी सञ्चय कोष ऐनमा भएको नयाँ व्यवस्था एवम् अन्तरराष्ट्रिय सामाजिक सुरक्षा संस्थाले जारी गरेको सामाजिक सुरक्षा कोषहरूको लगानी व्यवस्थापनसम्बन्धी मार्गदर्शनसमेतका आधारमा नयाँ लगानी नीति तर्जुमा गर्ने कार्य भइरहेको पनि बताइएको छ । वैदेशिक रोजगारमा जानेहरूलाई कर्मचारी सञ्चय कोषमार्फत सामाजिक सुरक्षाको दायरामा ल्याउन आवश्यक गृहकार्यसमेत भइरहेको उनले जानकारी दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)