नेपाल सरकारले यहाँका स्कूले विद्यार्थीलाई ल्यापटप वितरण गर्ने कार्यक्रम थालनी गर्यो भने हामीमध्ये कति अभिभावकबाट यसको विरोध हुन्छ ? सायद हुँदैन होला । तर, केन्यामा अभिभावकहरुले सरकारले अघि सारेको यस्तै महत्वाकाङ्क्षी योजनाको तीव्र विरोध गरेका छन् । बालबालिकालाई ल्यापटप किनेर दिनुको सट्टा सो रकमलाई शिक्षकको तलब बढाउन र विद्यार्थीलाई खाजा ख्वाउन खर्च गर्न त्यहाँको अभिभावकको सङ्गठन ‘केन्या नेशनल एशोसिएशन अफ प्यारेण्ट्स’का मुसाउ नुण्डाले बताएका छन् । विद्यालयमा शिक्षक सङ्ख्या पर्याप्त नभएको र भएका शिक्षक पनि तलब वृद्धिको माग राखेर नियमितजसो बन्द–हड्तालमा उत्रिरहेकोतर्फ औंल्याउँदै यो योजना सफल नहुने नुण्डाले दाबी गरेका छन् ।
ल्यापटप किन्न खर्चिने रकम स्कूलको खाजा ख्वाउने कार्यक्रममा प्रयोग गर्नुपर्ने नुण्डाको तर्क छ । यसबाट गरीब परिवारका बच्चालाई स्कूलमा टिकाउन तथा उनीहरुको स्वास्थ्य र पोषणको स्तर सुधार्न सहयोग मिल्ने उनले बताए । त्यसैगरी, ल्यापटपमा आधारित शिक्षण विधिबारे शिक्षकलाई ज्ञान नभएको र सरकारले आवश्यक पाठ्यक्रम पनि विकास नगरिसकेकाले यो योजनाको विरोध गरिएको बताइएको छ । हालै निःशुल्क प्राथमिक विद्यालय शिक्षा कार्यक्रमका ७ करोड थान पाठ्यपुस्तक हराएको घटनालाई स्मरण गर्दै ल्यापटप पनि हराउन सक्ने चिन्ता उनले व्यक्त गरेका छन् । त्यसैगरी, खाना खानै नपाउनेहरुलाई ल्यापटप दियो भने त्यो उनीहरुको घरमा टिक्न सक्छ सक्दैन भन्नेमा पनि उनले शङ्का व्यक्त गरे ।
राष्ट्रपति उहुरु केन्याट्टाले केन्यालाई इण्टरनेट हव बनाउने बृहत् योजनाअनुरुप हरेक वर्ष स्कूल जान लागेका १२ लाख बालबालिकालाई ल्यापटप उपलब्ध गराउने महत्वाकाङ्क्षी योजना अघि सारेका थिए । यसैक्रममा सरकारका प्रवक्ता मुथुइ कारयूकीले केन्यामा डिजिटल पद्धतिमा काम गर्ने कर्मचारीहरु तयार पार्ने लक्ष्य हासिल गर्न यो महत्वपूर्ण कदम भएको भन्दै सरकारी कदमको बचाव गरेका छन् । भविष्यबारे चिन्ता नगर्नेहरुले मात्र उक्त परियोजनाको आलोचना गरिरहेको उनको दाबी छ । केन्याको मन्त्रिपरिषद्ले गत बिहीवार विद्यालयहरुमा ल्यापटप वितरण गरिने कार्यक्रमको अनुमोदन गरेको एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको थियो । यसरी वितरण गरिने ल्यापटप चार्ज गर्न सौर्य ऊर्जा प्यानल जडान गरिने विज्ञप्तिमा बताइएको छ । यो कार्यक्रमको पहिलो चरणको लागत १७ करोड ४० लाख डलर लाग्ने अनुमान गरिएको छ ।