विश्वभरिका धनी मानिसमध्ये भारतीय धनाढ्यहरु सबैभन्दा दानी भएको एक सर्वेक्षणले देखाएको छ । बहुराष्ट्रिय बैङ्क बार्कलेजले गरेको सर्वेक्षणअनुसार भारतमा लगभग २० प्रतिशत धनाढ्यमा सकेसम्म बढी दान गर्ने प्रवृत्ति पाइएको छ । ‘ओरिजिन्स एण्ड लिगेसी : द चेञ्जिङ अर्डर अफ वेल्थ क्रियशन’ शीर्षकको उक्त सर्वेक्षण प्रतिवेदनमा दानीहरुको यो आकार बेलायत र अमेरिकाको तुलनामा क्रमशः चार र पाँच गुणा बढी भएको उल्लेख छ । बेलायत र अमेरिकामा आफ्नो सम्पत्तिको केही अंश दान गर्न चाहने धनाढ्य क्रमशः ५ र ४ प्रतिशत रहेको प्रतिवेदनमा बताइएको छ ।
विश्वभरिका २ हजार धनाढ्यबीच गरिएको उक्त सर्वेक्षणमा १ सय जना भारतीय सहभागी थिए । १० लाख डलर लगानीयोग्य उच्च नेट वर्थ (एचएनडब्ल्यूआई) भएका पाँचमध्ये एक व्यक्तिले आफ्नो सम्पत्ति दानमा वा आफ्ना साथीभाइ र परिवारका सदस्यलाई दिने चाहना राखेको बताएका छन् । ‘विश्वभरिका एचएनडब्ल्यूआईहरुले जीवनकालमा आफ्नो सम्पत्ति विरासतमा भन्दा साथीभाइ, परिवार र दानमा दिन चाहने गरेका छन्, ’बैङ्कले भनेको छ । विश्वभरि ३० प्रतिशत धनी मानिसले यस्तो गर्न चाहने बताइएको छ ।
बार्कलेजको भारतीय एकाइको सम्पत्ति तथा लगानी व्यवस्थापक विभागका प्रमुख कार्यकारी अधिकृत सत्यनारायण वंसलले धेरै मानिसले आफनो जीवनकाल मै सम्पत्ति दान गर्र्ने चाहना राखेको बताएका छन् । प्रतिवेदनले बताएअनुसार ८४ प्रतिशत उत्तरदाताहरुले विगतमा भन्दा अहिले सम्पत्ति विस्तार उल्लेख्य रुपमा भएको बताएका थिए । सर्वेक्षणमा सम्मिलित ५२ प्रतिशत भारतीय उत्तरदाताहरुले विश्वव्यापी वित्तीय सङ्कटपछि उनीहरुको सम्पत्तिमा बढेको अभिव्यक्ति दिएका थिए । प्रायजसो भारतीयमा आफ्नो सम्पत्ति व्यक्तिगत प्रयोजन र जिन्सी सामानमा भन्दा लगानी र बचतप्रति बढी प्रयोग गर्ने प्रवृत्ति पाइएको बार्कलेजको भनाइ छ । उत्तरदाताहरुले आफनो सम्पत्तिको २८ र २७ प्रतिशत अंश क्रमशः नगद बचत र लगानीमा लगाउन चाहेको अभिव्यक्ति दिएका थिए । त्यस्तै उनीहरुले कुल सम्पत्तिको १४ र १६ प्रतिशत अंश क्रमशः जिन्सी वस्तु र व्यक्तिगत सम्पत्तिमा लगाउने प्रतिवेदनमा भनिएको छ ।