अस्ति असोज ३ गते अर्थात् संविधान दिवस, जुन भव्य रूपमा मनाइयो । यस अवसरमा सत्तापक्ष, प्रतिपक्ष सबैले भाषण गर्न पाए । जागीरेहरूले छुट्टी पाए । विप्लव लगायतले बन्द गर्ने काम पाए । कतिपयलाई यो दिवस संविधानको विरोध गर्ने अवसर पनि बन्यो । संविधानमा जनताले पनि थुप्रै अधिकार पाएका छन् । शिक्षाको अधिकार । स्वस्थ हुने अधिकार । यहाँसम्म कि, भोको बस्नु नपर्नेगरी खाद्य सुरक्षाको अधिकार पनि संविधानमा सुरक्षित नै छ । यस्ता अधिकार थप सुरक्षित गर्न थोकका हिसाबले थुप्रै कानूनहरू पनि एकसाथ पारित भएर राष्ट्रपतिबाट तिनमा लालमोहर पनि लागिसकेको छ ।
संविधानकै कारण स्थानीयले आफ्नै घरआँगनमा प्रदेश र स्थानीय सरकार पनि पाएका छन् । तीनओटै तहको चुनावपछि त सिंहदरबार पनि गाउँगाउँमा पुगेको छ । विगतमा जस्तो चुनावको बेलाबाहेक कहिल्यै देख्न नपाइने नेताहरूको हँसिलो अनुहार स्थानीयले गाडीको लर्कोसहित गाउँ–टोलमा छ्यास्छ्यास्ती देख्न पाएका छन् । यसरी नयाँ संविधानअनुसार नै सङ्घीयता भव्यताका साथ चलिरहेकै छ ।
वास्तवमा बुर्जुवा शिक्षाको काम पनि छैन । त्यसैले, सरकारले कति कक्षासम्म निःशुल्क पढाउने भनेको छ क्यारे ! त्यो खारेज गर्दिए हुन्छ । किनकि, देशलाई चाहिएको समृद्धि पो हो त । शिक्षा, स्वास्थ्य, पूर्वाधार आदिका नाममा विनाकाममा समय र स्रोत किन खर्च गरिरहनु ?
नयाँ संविधान लागू भएकै कारण देशभरि उत्साह छाएको छ । त्यै मेसोमा प्रधानमन्त्री देशलाई समृद्धिको बाटोमा हिँडाउने कुरा गरेर थाकेका छैनन् । जो समृद्धिको बाटोमा बाधा व्यवधान ल्याउन खोज्छ, त्यसलाई परास्त गर्न प्रमले आफूले पालेका अरिङ्गालहरूलाई अह्राइसक्नु भएको छ । त्यसैले, देश समृद्ध हुनबाट कसैले पनि रोक्न सक्दैन । विप्लवले नि सक्तैन । राउतले नि सक्तैन । चीनले मात्र होइन, अब त भारतले पनि सक्तैन । तर, आफ्नै पार्टीभित्रकाले बाधा गरेछन् भने भिन्नै कुरा हो ।
देश समृद्ध पार्न के छैन र देशमा ? सबैथोक छ । भ्रष्टाचारी चाहिए एकसे एक छन् देशैभरि, कर्मचारीतन्त्रभित्र, व्यवसायभित्र । त्यो खोज्न अन्त जानै पर्दैन वा अन्य देश धाउनै पर्दैन । कमिशनको व्यापार गर्न चाहे गल्लीगल्लीमा दलाल वा एजेण्ट भेटिन्छन्, हरेक काम गर्न गराउन तम्तयार । तस्कर चाहिए सञ्जाल नै भेटिन्छ, पिस्कोर चाहिए तुरुन्तै हाजिर हुन्छन् । बलात्कार मुद्दामा प्रमाण मेटाउनुपर्यो वा अपराधी भगाउनु पर्यो प्रहरी छँदै छ । ठेक्कापट्टा लगाउनुपर्यो क्याम्पस–क्याम्पसमा, वडावडामा गुण्डा पालिएकै छन् । भन्सारबाट विनाशुल्क हात्ती छिराउनु पर्यो, मुस्कानसहित सेवा दिन हाकिमहरू नाकानाकामा बसेकै छन् । राजनीति चम्काउनु पर्यो भने त्यसका लागि अब स्कूलसमेत तयार भइसके । यसमा योगदान दिन शिक्षक सङ्गठनहरू जो छँदै छन् । कतै मुद्दामामिला पर्यो, जिताउन न्यायालयवरिपरि एक से एक तयार छन् । यसरी सबैतिर विकास र निकास तयार छन् । विकास भन्नेबित्तिकै वातावरण सँगै आउँछ । विकासले निकासका साथै धूँवा, धूलो सँगै ल्याउँछ । यो विकास भएको प्रमाण पनि हो । त्यसैले, विकास चाहिए सडकतिर जानोस्, भेटिहाल्नुहुन्छ ।
त्यसैले, संविधान लागू भएसँगै काम गर्नेहरूलाई उपयुक्त समय आएको छ । ढुक्क भएर धन्दा नमानी धन्धा गर्नुहोस् । तपाईंको धन्धालाई सघाउन प्रहरी सधैं तपाईंको साथमै छ । त्यसैले होला, अचेलका बूढापाका भन्छन्, ‘भलाई गर्ने जमाना गयो, मलाई खाने जमाना आयो ।’ अतः मलाई अर्थात् दूधमा पाइने बहुमूल्य तङ्खव खान कि सिंहदरबार छिर्नोस् कि त विदेश । त्यै भएर त युवाहरू कामका लागि विदेश जान विमानस्थलमा लाइनबद्ध छन् । यही कारण विमानस्थल र बसपार्क बिजी छन् । बिजी अर्थात् बिजनेश छ । विदेश जान, काम गर्न अल्छी लागे बन्दूक बोक्न कसले छेकेको छ र ? बन्दूकसँगै माम, दाम, नाम सबै पाइहालिन्छ । र त पढेकाहरू विदेश लाग्न थालेपछि नपढेकाहरू सिंहदरबार छिरेका छन् देश बनाउन ।
वास्तवमा बुर्जुवा शिक्षाको काम पनि छैन । त्यसैले, सरकारले कति कक्षासम्म निःशुल्क पढाउने भनेको छ क्यारे ! त्यो खारेज गर्दिए हुन्छ । किनकि, देशलाई चाहिएको समृद्धि पो हो त । शिक्षा, स्वास्थ्य, पूर्वाधार आदिका नाममा विनाकाममा समय र स्रोत किन खर्च गरिरहनु ? त्यसमाथि पनि जनताले संविधान नै पाइसकेको स्थितिमा बाँकी सबै कुरा गौण हुन् । त्यसैले भन्नैपर्छ, जय संविधान ! जय सङ्घीयता !