ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

थोक मूल्य मापन विधि परिमार्जन : म्यानुफ्याक्चरिङ उत्पादनलाई बढी भार

Sep 24, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले दोस्रो थोक मूल्य सर्वेक्षणमार्फत आन्तरिक बजारमा खपत हुने वस्तुको थोक मूल्य मापन विधि परिमार्जन गरेको छ । परिमार्जित विधिमा उत्पादन तथा प्रशोधन (म्यानुफ्याक्चरिङ) उद्योगका उत्पादनलाई सबैभन्दा बढी ५७ दशमलव ६५ प्रतिशत भार दिइएको छ । थोक मूल्य सूचकाङ्क गणना गर्न निर्माण गरिएका वस्तुको डालोमा यस समूहबाट मात्रै १ सय ८० ओटा वस्तु समावेश छन् । पुरानो थोक मूल्य सूचकाङ्कमा यो समूहका ५० वस्तुलाई ५५ दशमलव ६९ प्रतिशत भार दिइएको थियो । कुल २ सय ६२ वस्तु समावेश नयाँ वस्तु डालोमा खाद्य तथा गैरखाद्य गरी ७५ वस्तुलाई प्राथमिक समूहमा राखी ३३ दशमलव ५९ प्रतिशत भार दिइएको छ । पुरानो वस्तु डालोमा जम्मा ७१ थिए, जसमा समावेश २० प्राथमिक वस्तुलाई ३९ प्रतिशत भार दिइएको थियो । सेवालाई समावेश नगरिएको थोक मूल्य सूचकाङ्कमा इन्धन र ऊर्जासमूहमा वस्तुको सङ्ख्या तथा भार दुवै वृद्धि गरिएको छ । पुरानो डालोमा एउटा मात्र वस्तु र ५ दशमलव २९ प्रतिशत भारलाई अहिले विस्तार गरेर क्रमशः ७ वस्तु ८ दशमलव ७६ प्रतिशत भार दिइएको छ । केन्द्रीय बैङ्कले परिमार्जित थोक मूल्य सूचकाङ्कका लागि आर्थिक वर्ष (आव) २०७४/७५ लाई आधार तय गरेको छ । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले आइतवार प्रतिवेदन सार्वजनिक गर्दै २४ बजार केन्द्रबाट कृषि, उद्योग तथा आयातित वस्तुको मूल्य सङ्कलन गरिएको जानकारी दिए । अबदेखि २४ बजार केन्द्रबाट डालोमा समावेश सबै वस्तुको मूल्य नियमित सङ्कलन गरिने उनले बताए । पुरानो सूचकाङ्कका लागि २० ओटा बजार केन्द्रबाट मूल्य सङ्कलन गरिँदै आएको थियो । नयाँ वस्तु डालोमा विद्यमान डालोमा समावेश भएका सलाई र ड्राइसेल ब्याट्रीबाहेक अन्य सम्पूर्ण वस्तु यथावत् रहेको राष्ट्र बैङ्क अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । आधार वर्ष परिवर्तनसँगै विगतको थोक मूल्य सूचकाङ्कलाई पनि आव २०७४/७५ को मूल्यका आधारमा समायोजन गरिएको थापाले जानकारी दिए । आन्तरिक उत्पादनको हकमा सबैभन्दा बढी उत्पादन गर्ने उद्योग र आयातित वस्तुहरूको हकमा आयातकर्ताका संस्थाको सिफारिशका आधारमा ठूला आयातकर्ता पहिचान गरी सम्बन्धित वस्तुको भार निर्धारण गरी सोहीअनुसार मूल्य सङ्कलन गरिएको प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणले मूल्यमा धेरै उतारचढाव हुने फलफूल, तरकारी, माछा तथा कुखुराको मासुको मूल्य पाक्षिक रूपमा, खाद्यान्नको मासिक रूपमा र मूल्यमा कम उतारचढाव हुने प्रकृतिका वस्तुहरूको मूल्य त्रैमासिक रूपमा सङ्कलन गरिने बताइएको छ । थोक मूल्य सूचकाङ्कको प्रयोग प्रतिनिधिमूलक डालोमा रहेका वस्तुको थोक मूल्यमा हुने परिवर्तनलाई मापन गर्न थोक मूल्य सूचकाङ्क प्रयोग गरिन्छ । हाल विश्वमा ८५ मुलुकले थोक मूल्य सूचकाङ्क निर्माण गर्ने गरेका छन् । विश्वका कतिपय मुलुकले समग्र मुद्रास्फीति मापन गर्नसमेत थोक मूल्य सूचकाङ्कको प्रयोग गरेको पाइन्छ । अर्थतन्त्रमा भएको संरचनात्मक परिवर्तनसँगै उपभोगको प्रवृत्ति, बजारमा नयाँ वस्तुहरूको आगमन/प्रतिस्थापन तथा कारोबार रकममा आएको परिवर्तनलगायत सूचकाङ्क निर्माणसम्बन्धमा अन्तरराष्ट्रिय अभ्याससमेतलाई दृष्टिगत गरी विद्यमान थोक मूल्य सूचकाङ्क अद्यावधिक गर्ने उद्देश्यका साथ उक्त दोस्रो थोक मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको राष्ट्र बैङ्कको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)