आमसञ्चार क्षेत्रमा राजनीतिक, आर्थिक, सामाजिक, प्राविधिक, शैक्षिक पत्रपत्रिका प्रकाशन भइरहनु कुनै नौलो विषय होइन । तर, जापानमा भने यो क्रमलाई तोड्दै नयाँ खालको पत्रकारिता विधा शुरु भएको छ । कुख्यात जापानी सङ्गठित आपराधिक गिरोह यामागुची–गुमीले एक ट्याब्लोइड स्वरुपको ‘इन–हाउस’ पत्रिका प्रकाशन शुरु गरेको छ । जापानको सबैभन्दा शक्तिशाली सङ्गठित गिरोहका रुपमा परिचित यामागुची–गुमीले आफ्ना २७ हजार सदस्यको मनोबल बढाउन यस्तो पत्रिका छापेको हो ।
यसभित्र गिरोहका नाइके केनिची सिनोडा (चित्रमा बीचमा) र अन्य प्रमुखहरुका लेख/रचना छापिएका छन् । सदस्यहरुलाई गिरोहका ‘मूल्य र मान्यता’ दह्रोसँग समातेर अघि बढ्दै सकेसम्म आम्दानी बढाउन कसरी सकिन्छ भन्ने उनीहरुले सिकाएका छन् । लेखमा समय खराब बन्दै गइरहेकाले सबै सदस्यलाई कडा मेहनत गर्न निर्देशनहरु दिइएका छन् । त्यसैगरी, प्रहरीले बेलाबेलामा गर्ने धरपकडका बीच पनि सदस्यहरुले मनोबल उँचो राख्नुपर्ने लेखहरुमा उल्लेख गरिएका छन् ।
आठ पृष्ठको उक्त पत्रिकामा मनोरञ्जनात्मक सामग्री पनि प्रकाशित छन् । तिनमा गिरोहका नाइकेहरु माछा मार्न जाँदाका संस्मरणहरु उल्लेख गरिनुका साथै ‘गो’ र ‘सोगोई’जस्ता परम्परागत जापानी ‘बोर्ड गेम’हरु खेल्न पनि सिकाइएका छन् । त्यतिमात्र नभई एक पृष्ठ साहित्यका लागि छुट्ट्याइएको छ, जहाँ नाइके र अन्य प्रमुखहरुले रचना गरेका व्यङ्ग्यात्मक हाइकु पनि छापिएका छन् ।
एक शताब्दीदेखि सक्रिय यो गिरोह जापानमा सबैभन्दा लामो इतिहास बोकेको आपराधिक गिरोह हो । कोबे शहरको धनाढ्यहरुको बसोबास भएको क्षेत्रमा निकै अग्लो पर्खालले छेकिएको एक बङ्गलालाई यामागुची–गुमीको मुख्यालय मानिन्छ । अन्य व्यापारीहरुले झैं महँगा सुट लगाएर लक्जरी कारमा चढ्ने गिरोहका नाइकेहरु ‘भिजिटिङ कार्ड’ पनि बोकेर हिँड्ने गर्छन् । लागूपदार्थ तस्करी, सम्पत्ति शुद्धीकरण, वेश्यावृत्ति, अवैध जुवा अखडा र जबर्जस्ती रकम असुली यो समूहको आम्दानीका मुख्य स्रोत हुन् । यीबाहेक कतिपय वैध कारोबारबाट पनि याकुजाले आम्दानी गर्ने गर्दछ । विशेषगरी अवैध आम्दानीलाई घरजग्गा व्यापारमा गिरोहले लगानी गर्ने गर्दछ ।
हिंसात्मक गतिविधिमा सकेसम्म प्रवेश नगर्ने यो गिरोहका सदस्यहरुले लामो समयदेखि प्रहरीको धरपकडबाट आफूलाई जोगाउँदै आएका छन् । सञ्चारमाध्यम र प्रचार निकै मन पराउने यो गिरोहले कहिलेकाहीँ पत्रकार सम्मेलन पनि गर्ने गर्दछ । योमिउरी पत्रिकाका पूर्व अपराधजगत् संवाददाता जेक अल्डेस्टेइनका अनुसार गिरोहका एक प्रमुखले लेखेको आत्मवृत्तान्त प्रकाशन भएर बजारमा आउँदैछ ।