ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पेट्रोल र ग्यासको विषयमा छलफल गर्न आयोजित नेपाल–भारत जेडब्लूजीको उच्चस्तरीय वार्ता टर्यो, भारतीय अधिकारी नआउनु अर्थपूर्ण

Sep 27, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
असोज ११, काठमाडौं । नेपाल–भारतका उच्च अधिकारीहरूबीच पेट्रोलियम पाइपलाइन र प्राकृतिक ग्यासका विषयमा हुने भनिएको संयुक्त कार्यदल (जेडब्ल्यूजी)को बैठक तत्काललाई टरेको छ । बुधवार र बिहीवार हुने भनिएको उक्त उच्चस्तरीय वार्ता अन्तिम समयमा आएर स्थगित भएसँगै तत्काललाई टेरेको हो । काठमाडौंको सोल्टी होटलमा हुन लागेको बैठकको सम्पूर्ण तयारी पूरा भएर पनि बैठक स्थगित गरिएको छ । उक्त बैठकमा भाग लिन आएका केही भारतीय अधिकारी बैठक स्थगित भएपछि विना कुनै सहमति फर्किएका छन् । भारतीय अधिकारी नआउनुको कारण नखुलाइएकोले र अन्तिम समयमा आएर बैठक स्थगित हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेपालको तर्फबाट सो बैठकको नेतृत्व गर्ने जिम्मा पाएका वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले भारतीय टोलीका तर्फबाट नेतृत्व गर्ने जिम्मा पाएका केही उच्च अधिकारीहरू नआएपछि अन्तिम समयमा आएर बैठक रोकिएको बताए । उनका अनुसार तत्काल बैठक बस्ने सम्भावना टरेको हो । उनले भने, ‘बैठकमा भाग लिन आउनुभएका केही भारतीय अधिकारीहरू फर्किसक्नुभएको छ ।’ मन्त्रालयले अब अर्को महीना सो बैठक राख्न भारतीय अधिकारीहरूसँग प्रस्ताव राख्ने उनको भनाइ छ । बैठक स्थगित भएको विषयमा नेपालस्थित भारतीय दूतावासका द्वितीय सचिव रोशन लोप्चाले केही अधिकारी आइपुग्न ढिला भएकाले बुधवारको बैठक स्थगित भएको र बिहीवार उक्त बैठक बस्ने जानकारी दिएका थिए । तर, बिहीवार पनि बैठक नबसेपछि संयुक्त कार्यदलको बैठक टरेको हो । बैठकको एजेण्डा रक्सौल–अमलेखगन्ज र मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन आयोजनाको समीक्षा, अमलेखगन्जदेखि चितवनसम्मका पेट्रोलियम पाइपलाइन निर्माणको मोडालिटी र पेट्रोल तथा ग्यास आपूर्तिसँग सम्बन्धित रहेको थियो । यसैबीच, भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान शुक्रवार नेपाल आउने भएका छन् । स्थगित भएको बैठक पुनः डाक्ने विषयमा समेत उनीसँग कुराकानी हुने नेपाली पक्षले बताएको छ । त्यससँगै भारतीय पेट्रोलियम मन्त्रीसँग पेट्रोलियम पदार्थ तथा ग्यास दुवानीमा देखिएका पछिल्ला समस्याका विषयमा छलफल हुने कार्यतालिका रहेको मन्त्रालयले बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)