ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विश्वको सबैभन्दा ठूलो भवन चीनमा

Jul 15, 2013  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar Krishna Giri

चीनमा निर्माण गरिएको विश्वको सबैभन्दा ठूलो भवन सर्वसाधारणका लागि खुला गरिएको छ । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको राजधानी चेङ्दुमा निर्मित ‘न्यू सेञ्चुरी ग्लोबल सेण्टर’ विश्वकै ठूलो संरचना रहेको चिनियाँ अधिकारीले बताएका छन् । ५ सय मिटर लम्बाइ र ४ सय मिटर चौडाइ भएको उक्त कम्प्लेक्सको उचाइ भने सय मिटरमात्र रहेको छ । तर, यो भवनको सतह भने १७ लाख वर्गमिटरमा फैलिएको छ । न्यू सेञ्चुरी ग्लोबल सेण्टरभित्र अष्ट्रेलियाको सिड्नी ओपेरा हाउसको आकार भएका २० ओटा भवन अटाउन सक्ने अधिकारीहरुको दाबी छ । त्यसैगरी, अमेरिकी रक्षा मन्त्रालय पेण्टागनको जत्रै तीनओटा संरचना पनि अट्न सक्ने उनीहरुको जिकीर छ ।

यो कम्प्लेक्सलाई थप आकर्षक बनाउन बिजुलीबत्तीको कृत्रिम सूर्य निर्माण गरेर झलमल्ल पारिएको छ । शपिङ मल, कार्यालय, कन्फरेन्स हल, विश्वविद्यालय परिसर, व्यावसायिक केन्द्र, पाँचतारे होटल र आइम्याक्स सिनेमा हल रहेको यो कम्प्लेक्स सानो शहरजस्तै लाग्छ । यो कम्प्लेक्सको प्रमुख आकर्षण ५ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको कृत्रिम सामुद्रिक तट रहेको छ । ४ सय मिटर लम्बाइको उक्त सामुद्रिक तटलाई जीवन्तता दिन पाम रुखहरु रोपिएका छन् । त्यहाँ एकैपटकमा ६ हजार मानिस अटाउन सक्ने सामुद्रिक परिकारहरु पाइने विशाल रेष्टुराँ पनि रहेको छ । यो भवनको छाना निकै आकर्षक देखिन्छ, जसले समुद्रमा उठेको छालको झझल्को दिन्छ । त्यसैगरी, त्यहाँ बनाइएको कृत्रिम नदी र्‍याफ्टिङ पनि गर्न सकिन्छ । त्यस्तै, त्यहाँ पानीका ठूल्ठूला फोहोरा र वाटर पार्क पनि निर्माण गरिएका छन् ।

यो कम्प्लेक्स सुविधासम्पन्न भए पनि यस कम्प्लेक्सको संरचनात्मक आकर्षणलाई लिएर दर्शकबीच भने मतभेद भएको पाइएको छ । ट्विटरको चिनियाँ संस्करण मानिने इण्टरनेट सामाजिक सञ्जाल सिना वेबोमा एक जनाले यो कम्प्लेक्समा रचनात्मक अभाव रहेको आरोप लगाएका छन् । अर्का एक दर्शकले चाहिँ ‘चेङ्दुमा सबै संरचनाको नामलाई विश्वव्यापी (ग्लोबल) किन भनिन्छ ? ’भन्दै कम्प्लेक्सको नामलाई लिएर खिल्ली उडाएका छन् । यद्यपि, कम्प्लेक्सले अन्य धेरैलाई भने आकर्षित गर्न सफल भएको छ । थुप्रैले यो भवन चेङ्दुको नयाँ पहिचानका रुपमा स्थापित हुने सामाजिक सञ्जालहरुमा पोष्ट गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)