ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटकीय सिजन लक्षित यातायात सेवा : १ अर्ब लगानीमा १५० पर्यटकीय बस

Oct 1, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । पर्यटकीय सिजन शुरू हुने क्रम नजिकिएसँगै पर्यटकीय यातायात सेवालाई सहज बनाउन सम्बन्धित कम्पनीहरू लागिपरेका छन् । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घसँग आवद्ध करीब ७० ओटा कम्पनीले रू. ९७ करोड ५० लाख लगानी गरी १ सय ५० ओटा पर्यटकीय बस खरीद गरेका छन् । सङ्घका अनुसार प्रतिबस रू. ६५ लाख लगानी भएको छ । अक्टोबरदेखि डिसेम्बरलाई नेपालमा पर्यटकीय सिजन मानिन्छ । सङ्घका अध्यक्ष रामशरण कार्कीले पर्यटन यातायातसम्बद्ध विभिन्न कम्पनी बढी सीट क्षमताका पर्यटकीय बसहरू खरीद गर्ने क्रममा रहेको जानकारी दिए । ‘पर्यटकीय सिजनलाई लक्षित गरी यातायातको सहज उपलब्धताका लागि अहिले हामीले बढी र कम सीट क्षमताका केही बस किनिसकेका छौं,’ उनले भने, ‘अहिले विभिन्न कम्पनीले ४० ओटा पर्यटकीय बस ल्याउनका लागि प्रक्रिया अघि बढाएका छन् ।’ उनका अनुसार भारतबाट ल्याउन लागिएका त्यस्ता बसहरू २७ देखि ३९ सीट क्षमताका छन् ।’ सङ्घले पर्यटकीय यातायात आयात गर्दा खासगरी ट्राभल कम्पनीमार्फत आयात हुने कम तथा बढी सीट क्षमताका सवारीमा भन्सार छूट हुनुपर्ने माग गरेको छ । कार्कीले भने, ‘एउटा उद्देश्य राखेर कम्पनी दर्ता गरी पर्यटकीय यातायात सुविधा दिँदा राज्यले करोडौं राजस्व गुमाएको छ ।’ ‘अहिले विनादर्ता पर्यटकीय यातायात सुविधा दिएकोले व्यवसाय गर्न अप्ठ्यारो भएको छ र यसले बेथिति जन्माएको छ । पर्यटन विभागले इजाजत दिने तर त्यसको अनुगमन तथा नियमन नगर्दा थप जटिलता देखिएको छ,’ उनले भने । अहिले मुलुकभर कम र बढी सीट क्षमताका गरी झण्डै ४ हजार ४ सय पर्यटकीय यातायात सञ्चालनमा रहेको सङ्घको भनाइ छ । सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखे पनि यसका लागि आधारभूत पूर्वाधारहरू (सुविधायुक्त बस सेवा, पार्किङ क्षेत्र, विभिन्न स्थान तथा पर्यटकीय स्थलमा शौचालय, गुणस्तरीय सडक नहुनु) पर्याप्तमात्रामा ध्यान दिन सकेको छैन । पर्यटन क्षेत्रको प्रवर्द्धन तथा विकासका लागि सञ्चालनमा आएका विभिन्न निजीक्षेत्रहरूको सीमित पहलमा अहिले पर्यटन क्षेत्र प्रवर्द्धन हुँदै आएको छ । पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि पर्यटकीय यातायात क्षेत्रमा लगानीको अवसर रहेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरिसकेको र २० लाख पर्यटक नेपालमा भित्र्याउने लक्ष्य राखेकोले गर्दा पनि अहिले यो क्षेत्रमा लगानीको वातावरण बनेको सम्बद्ध व्यवसायीहरू बताउँछन् । उत्कृष्ट सेवा उपलब्ध गराए प्रतिफल पनि सकरात्मक हुने देखिन्छ । अहिले सङ्घले यस प्रकारका यातायात/गाडीको भाड दरसमेत समायोजन गरेर असोज १५ गतेदेखि लागू गर्दै छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि अहिले सडक यातायात नै उपयुक्त मानिदैं आएको सङ्घको भनाइ छ । नेपालका पर्यटकीय स्थलहरू सबैभन्दा बढी सडक यातायातसँग जोडिएका छन् । तर, गुणस्तरीय सडक नहुँदा पर्यटकीय बसहरू छिटै क्षति हुन पुगेको कार्की बताउँछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)