काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाका कुल बचत खातामध्ये लामो समयदेखि कारोबार नगरेका निष्क्रिय (डोरमेण्ट) खाताको सङ्ख्या ४५ दशमलव २९ प्रतिशत पुगेको छ । २०७५ असार मसान्तसम्म बैङ्किङ प्रणालीमा कुल १ करोड ९१ लाख ९१ हजार बचत खाता रहेकोमा १ करोड ४ लाख ९९ हजार मात्रै सक्रिय रहेको राष्ट्र बैङ्कको तथ्याङ्क छ । बाँकी ८६ लाख ९१ हजार ९ सय ८५ खाता निष्क्रिय देखिएका हुन् ।
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार २०७४ असारयता निष्क्रिय रहेका खाता सङ्ख्या आधाभन्दा बढीले वृद्धि भएको छ । एउटै व्यक्तिले दुईभन्दा बढी खाता खोल्ने तर एउटामा मात्र नियमित कारोबार गर्ने प्रवृत्तिका कारण पनि यस्तो भएको बैङ्करहरू बताउँछन् । राष्ट्र बैङ्कले ६ महीनासम्म कारोबार नभएका खातालाई निष्क्रिय खातामा परिणत गर्ने प्रावधान बनाएको छ । ग्राहकले ६ महीनासम्म नगद राख्ने र झिक्ने नगरेमा बैङ्कले त्यस्ता खातालाई स्वतः निष्क्रिय खातामा वर्गीकरण गर्ने गर्छ । यस्तो खातालाई पुनः सक्रिय बनाउन ग्राहकले खाता खोलेकै बैङ्कको शाखामा गएर निवेदन दिनुपर्छ । तर, लामो समयदेखि निष्क्रिय रहेका र पहिले ग्राहक पहिचान विवरण (केवाईसी) नबुझाएकाले भने सो विवरणसमेत भर्नुपर्छ ।
बैङ्कहरूले आफूकहाँ भएका निष्क्रिय खातालाई आफ्नो वेबसाइटमा खातावालाको नाम खुल्ने गरी राख्नुपर्ने राष्ट्र बैङ्कको निर्देशन छ । लामो समयदेखि निष्क्रिय रहेका खातालाई बैङ्क तथा वित्तीय संस्थाले सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । विशेष गरेर द्वन्द्वकालदेखिका कतिपय खाता भएकाहरू सम्पर्कमा नआएकाले १० वर्षदेखि यस्तो निष्क्रिय खाताको सङ्ख्या बढेको बैङ्करहरू बताउँछन् ।
एउटै व्यक्ति वा संस्थाले विशेष कामका लागि विभिन्न बैङ्कमा खाता खोल्ने तर सबैमा नियमित कारोबार नगर्ने हुँदा यस्ता खाताको सङ्ख्या बढेकोे एनबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैङ्कर सङ्घका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाको भनाइ छ । ‘कतिपय बैङ्कले अझ शून्य मौज्दातमा नै खाता खोल्ने योजना ल्याएका छन् । त्यस्ता खाता खोल्नेहरूले बिर्सेपछि ती निष्क्रिय भएर बसेको हुन्छ,’ उनले भने । त्यसबाहेक विभिन्न कारणले पनि खाता निष्क्रिय हुनसक्ने उनले बताए ।
निष्क्रिय खातालाई ‘डोरमेण्ट’ भनी नराखे समस्या आउनसक्ने उनको भनाइ छ । उनले भने, ‘खातामा लामो समयसम्म कारोबार भएको छैन । तर, रकम थुप्रो छ भने बैङ्कका कर्मचारीले फ्रड गर्न नसकून् भनेर कारोबार गर्न नपाउने गरी डोरमेण्ट भनी लक गरेर राखिन्छ । खातावाला स्वयम् आए पनि केही डकुमेण्ट भएपछि मात्र खाता सक्रिय हुन्छ । ’
सम्बन्धित व्यक्तिले नै पैसा पाऊन् भनेर निष्क्रिय खाता लक हुने व्यवस्था गरिएको राष्ट्र बैङ्कका प्रवक्ता नारायणप्रसाद पौडेल बताउँछन् । लामो समयसम्म कारोबार नभएका निष्क्रिय खाताबारे बैङ्क तथा वित्तीय संस्थाले केन्द्रीय बैङ्कलाई जानकारी दिनुपर्ने प्रावधान छ । मन्त्रिपरिषद्को बैठकले पारित गरेपछि गतवर्षको मौद्रिक नीतिले २० वर्षसम्म कारोबार नभएका निष्क्रिय खाताका रकम बैङ्क तथा वित्तीय संस्थाले राष्ट्र बैङ्कमा पठाउनुपर्ने व्यवस्था गरेको थियो । बैङ्कर सङ्घका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले भने, ‘यो व्यवस्था राम्रो हो । तर, भर्खरै आएकाले अहिलेसम्म यस्तो पैसा राष्ट्र बैङ्क गएको छैन ।’
लेखक रोजकुमार श्रेष्ठ भने बैङ्कले डोरमेण्ट गर्न नपाउनेबारे विरोध गर्छन् । उनका अनुसार चेक कारोबारलाई सहज पार्न, विश्वासयोग्य बनाउन विनिमय अधिकार पत्र ऐन, २०३४ छ भने अर्कातिर सम्पूर्ण सेवाग्राही सम्बन्धित खातावालकै अनुरोधमा मात्रै डोरमेण्ट गरियोस् भन्ने चाहन्छन् । ‘बचत खाताको अर्थ आफूलाई चाहिएको बेला मात्र रकम निकाल्ने हो । हरेक ६ महीनामा बैङ्कमा हाजिरी जनाएर विशेष फाराम भर्नुपर्ने दुःख किन ?’ उनले भने, ‘बैङ्कको इच्छामा विशेष कारण नदेखाई रकम निकाल्न रोक किन ? यसरी बैङ्कहरूले आफूखुशी डोरमेण्ट गरिदिँदा चेक भुक्तानी प्रणालीप्रति नै अविश्वास सृजना हुनजाने अवस्था रहन्छ ।’