ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दशैं बिदामा पुस्तक अध्ययन : आनन्द पनि, व्यक्तित्व विकास पनि

Oct 5, 2018  
प्रडक्ट.समाचार.
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दुर्गा लामिछाने
लेखक अष्टिन फेल्प्सको एक विश्व प्रसिद्ध भनाइ छ, ‘पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन ।’ पुस्तक पढ्ने बानी नपरेकाहरूका लागि यो भनाइ अनौठो लाग्न सक्छ । तर, बानी परेकाहरूका लागि भने पुरानो कोट लगाएर मात्रै नभई नयाँ कोट बेचेरै भए पनि पुस्तक किन्नैपर्ने लतसम्म लाग्छ । जीवनका हरेक आयामलाई बुझ्न अध्ययनले निकै ठूलो मद्दत पु¥याउँछ । पढ्नु एउटा बानी हो । जब यो बानी लाग्छ, शुरूशुरूमा देखेका र भेटेका जे जस्ता पुस्तक पनि पढिन्छन् । समयक्रमसँगै आफूलाई उपयोगी हुने पुस्तक छान्ने कला पनि सिकिन्छ । राम्रा पुस्तकले पाठकको मन जित्ने मात्रै होइन, भोक र निद्रासमेत बिर्साइदिन्छन् । खारिएका लेखकले पाठकलाई समेत पुस्तकभित्रका घटनाक्रममा सामेल गराई घटनाक्रमसँगै यात्रा गराउँछन् । वास्तविक संसारका व्यक्तिहरूमा जाग्ने जस्तै राग र द्वेष कथाका पात्रहरूमाथि पनि जाग्छन् । मिल्ने भए कथालाई यसरी नभएर उसरी मोडी आफ्नो सहानुभूतिको पात्रलाई जोगाउँथेँ भन्ने भाव बारम्बार उठ्छ । घटनाक्रमभित्रै छिरेर खल पात्र र सम्भावित दुर्घटनाका बारेमा त्यहाँका अन्य पात्रहरूलाई बताइदिऊँ भैंm लाग्छ । एउटै पात्रलाई दुःखमाथि दुःखमा पारिरहने लेखकसँग नमज्जाले रिस उठ्छ । कहिले, नसकिए हुन्थ्यो भन्ने लाग्दा लाग्दै पुस्तक सकिन्छ त कहिले, कथालाई अलिकति लम्ब्याएर ‘यसोगरी’ अन्त्य गरिदिएको भए हुन्थ्यो भन्ने लाग्दालाग्दै सकिन्छ । पढिसकेको हप्तौंसम्म पनि कथाका पात्रहरूलाई ‘त्यसपछि के भयो होला...’ भन्ने खुल्खुलीले सताइरहन्छ । जसले पुस्तक पढ्दैन, उसले एउटै मात्र जीवन देख्छ, तर पढ्नेले अनेकन् । पाठकले जस्तासुकै घटनाहरूको पनि उदय र अन्त्य देख्छ । एउटा समयमा गएर वास्तविक जीवन चाहिँ कथा हो कि वा कथा चाहिँ वास्तविक जीवन हो भन्ने कुराले मथिङ्गल निकै हल्लाउँछ । विस्तारै कथाका घटनाक्रम जस्तै जीवनको पनि उदय र अन्त्यको सत्यलाई एउटा पाठकले अपाठकले भन्दा छिट्टै र राम्रोसँग बुझ्न सक्दछ । विद्यार्थी जीवनमा बाहिरी अध्ययन विद्यार्थी जीवन विद्यालय तथा विश्वविद्यालय शिक्षाका पाठ्यपुस्तक मात्रै पढ्ने समय होइन । नयाँ विषयवस्तुप्रतिको उत्सुकता र उत्कृष्ट ग्रहण क्षमता हुने यो उमेरमा पाठ्यपुस्तकबाहेक जतिसक्दो धेरै र बहुआयामिक पुस्तकहरू पढ्नु लाभदायक हुन्छ । पढ्ने भनेर ‘यही’ पढ्नुपर्छ भन्ने कुनै बाध्यता छैन । रुचिअनुसार कसैले साहित्य पढ्छन्, कसैले विज्ञान, कसैले दर्शनशास्त्र त कसैले अर्थशास्त्र । प्रख्यात वैज्ञानिक अल्बर्ट आइन्ष्टाइन हुन् वा धनाढ्य बिल गेट्स, राजनीतिज्ञ एवम् मनोवैज्ञानिक लेखक बीपी कोइराला हुन् वा कुनै पनि क्षेत्रमा नाम चलेका व्यक्ति, उनीहरूको एउटा समान विशेषता हुन्छ, बाहिरी पुस्तक पढ्ने । उनीहरू जहाँ पुगेका र जे बनेका हुन्छन्, त्यसमा ६० प्रतिशतभन्दा बढी भूमिका कोर्सबाहिरका पुस्तकको हुन्छ । त्यसैले, आफूलाई फराकिलो व्यक्तित्वका रूपमा विकास गर्न चाहने हो भने कोर्सबाहिरका पुस्तक पढ्नैपर्छ । बिदामा अध्ययन आजभोलिको व्यस्त दैनिकीमा मानिसलाई पढ्ने समय निकाल्न निकै मुश्किल छ । भएका समय पनि व्यवस्थापन गर्न नजान्दा वा सामाजिक सञ्जाल जस्ता भच्र्युअल दुनियाँमा हराउने बानीले पुस्तक पढ्ने समयको अभाव हुन थालेको छ । जसले गर्दा आजको मानिस सूचना धेरै, तर गहिरा ज्ञान कम हुने बन्दै गएका छन् । त्यसैले जीवन, जगत् र यहाँ हुनुको मूल्यलाई बुझ्न सघाउने पुस्तकमा आफूलाई डुबाउन बिदाको समय निकै उपयोगी हुन्छ । पाठकले कुनै धर्म, वाद र सिद्धान्तमा जतिसक्दो सीमित नभई पढ्न सक्यो, त्यति दृष्टिकोण बहुआयामिक बन्न जान्छ । धर्म, दर्शन, वाद वा सिद्धान्तकै कुरामा समाजलाई केही न केही मात्रामा सकारात्मकतातर्फ दिशनिर्देश गर्ने भाव हुन्छन् । त्यसैले, आफैले नपढीकन धारणा बनाउनु भनेको कुवाभित्र बसेर समुद्रको बारेमा बोल्नु जस्तै हो । विपरीत मूल्य–मान्यता व्यक्त भएका दर्शनहरू पढेपछि मात्रै ती सबैको निचोडमा व्यक्तिले आफ्नो वास्तविक धारणा बनाउन सक्दछ । अन्यथा, जुनका बारेमा आफूलाई थोरैतिनो थाहा छ, त्यही सीमित घेराभित्र आफ्नो धारणा कैद हुन्छ । त्यसैगरी अलग–अलग रस र भावका साहित्य पढेपछि मात्रै जीवनमा ती रस र भावको स्थान अनि महत्त्वलाई केलाउन सकिन्छ । धर्म र अध्यात्म ५ हजार वर्षपहिले लेखिएको ‘गीता’ आजको जीवन र समाजमा आइपर्ने चुनौतीहरूको सामना गर्न पनि उत्तिकै सहयोगी छ । २ हजार ६ सय वर्षअघिको गौतम बुद्धका दर्शनहरू जीवनको दुःख सत्यलाई बुझी प्रेम र करुणाको मार्गदर्शनका लागि आज पनि उत्तिकै सशक्त छ । हिन्दू धर्म–दर्शनका लागि ‘गीता’जस्तै बौद्ध धर्म दर्शनका लागि त्रिपिटक रहेको छ । तर, गहन ज्ञान भएका कारणविना गुरुको सानिध्य त्रिपिटक बुझ्न त्यति सहज नहुन सक्छ । त्यसैले, सरल ढङ्गमा नेपाली भाषामै बौद्ध धर्म र यसको महŒव बुभ्mन नारायणप्रसाद रिजालद्वारा लिखित ‘बौद्धादर्श’ उपयोगी छ । इस्लाम धर्मको ‘कुरान’ हिन्दी वा अङ्ग्रेजीमा पढ्न सजिलो हुन सक्छ भने इशाई धर्मको ‘बाइबल’ नेपाली, अङ्ग्रेजी तथा अन्य भाषामा पनि उपलब्ध छ । पछिल्ला दशकहरूमा अध्यात्मका मार्गमा ठूलो जनमानसमा प्रभाव पार्दै गएका आचार्य रजनीश ‘ओशो’, रविशङ्कर, स्वामी विकासानन्दलगायत व्यक्ति तथा जीवन विज्ञान, इस्कोनलगायत संस्थाद्वारा लिखित/प्रकाशित पुस्तकहरू उपयोगी छन् । यीबाहेक नियात्रा/यात्रा निबन्ध, आत्मकथा, कथा, उपन्यास, कविता/मुक्तक/गजल सङ्ग्रह, नाटक, इतिहास, विज्ञान तथा आविष्कार सम्बन्धित अनेकन् स्वदेशी तथा विदेशी भाषा र विषयका पुस्तक पढ्न सकिन्छ ।
कति बेला पढ्ने ?
  • बिहान चिया खाँदै गर्दा र बेलुका ओछ्यानमा पुगी निदाउनुअघि
  • गाडी कुर्दै गर्दा
  • गफ गर्ने समय घटाएर
  • सामाजिक सञ्जालमा खर्चिने समय घटाएर
  • लामो यात्रामा रहँदा
  • अस्पतालमा बिरामी कुर्दा
  • पेट्रोल पम्पमा लाइनमा बस्दा
पछिल्लो समय धेरै बिकेका किताबहरू नेपाली लेखकका १. दुर्गा सुवेदीको ‘विमान विद्रोह’ २. नयनराज पाण्डेको ‘यार’ ३. यज्ञशको ‘भुइयाँ’ ४. राज माङ्लाकको ‘लिम्बुनी गाउँ’ ५. ध्रुवसत्य परियारको ‘कैरन’ ६. मोहन मैनालीको ‘देखेको देश’ ७. नीलम कार्की निहारिकाको ‘योगमाया’ ८. सरस्वती प्रतीक्षाको ‘नथिया’ ९. युवराज नयाँघरेको ‘औंला औंलामा अष्ट्रेलिया’ १०. तीर्थ गुरुङको ‘पाठशाला’ ११. नारायण वाग्लेको ‘पल्पसा क्याफे’ १२. मोहन वैद्य किरणको ‘हिमाली दर्शन’ विदेशी लेखकका १. जोशेफ मर्फीको ‘द पावर अफ योर सब–कन्सियस माइण्ड’ २. डेल कार्नेजीको ‘हाउ टु वीन फ्रेण्ड्स एण्ड इन्फ्लुएन्स पिपुल’ ३. जेफ केलरको ‘एटिच्युड इज एभ्रिथिङ’ ४. डेभिड मिचीको ‘द दलाई लामाज् क्याट ओम्निबस’ ५. अस्ली भान्सको ‘एलन मस्क’ ६. सेरिल स्याण्डबर्गको ‘लिन इन’ ७. चेतन भगतको ‘वन इण्डियन गर्ल’ ८. पाओलो कोएल्हो ‘एडल्ट्री’ प्रख्यात पुस्तक भण्डारहरू १. रत्न पुस्तक भण्डार (बागबजार, काठमाडौं) २. एकता बूक्स (थापाथली, काठमाडौं) ३. पिलग्रिम्स बूक हाउस (चाक्सिबारी मार्ग, काठमाडौंं ४. मण्डला बूक पोइण्ट (कान्तिपथ, काठमाडौं) ५. वज्र (बौद्ध) बूक्स (ज्याठा, ठमेल, काठमाडौं)
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)