अर्थशास्त्रतर्फको नोबेल पुरस्कार नोर्दाउस र रोमरलाई
Oct 9, 2018
 
समाचार
मुख्य खबर
काठमाडौं । सबैको अड्कलबाजीलाई अन्त्य गर्दै अमेरिकी अर्थशास्त्रीद्वय विलियम डी नोर्दाउस र पल रोमरले सन् २०१८ का लागि अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हात पारेका छन् । सोमवार नोबल पुरस्कार प्रदायक संस्था ‘रोयल स्वीडिश एकादमी अफ साइन्सेज’ (आरएसएओएस)ले जलवायु परिवर्तन, प्राविधिक नवप्रवर्तन र आर्थिक वृद्धिबीचको सम्बन्ध व्याख्यामा योगदान दिने यी दुई अर्थशास्त्रीलाई सो पुरस्कार दिने घोषणा गरेको हो ।
नोर्दाउसलाई समष्टिगत आर्थिक विश्लेषणमा जलवायु परिवर्तनको प्रभावलाई समावेश गरेकाले सो पुरस्कार दिइएको बताइएको छ । साथै प्राविधिक नवप्रवर्तनले कसरी आर्थिक वृद्धिलाई व्याख्या गर्छ भन्ने विषयमा समष्टिगत आर्थिक प्रारूप विकास गरेकाले रोमरलाई पुरस्कार दिइएको हो । ७७ वर्षीय नोर्दाउस येल युनिभर्सिटीमा वातावरणीय अर्थशास्त्रका प्राध्यापक हुन् भने ६२ वर्षीय रोमर न्यूयोर्क युनिभर्सिटीको स्टर्न स्कूल अफ बिजनेशमा अर्थशास्त्रको प्रध्यापन गर्छन् । रोमर विश्व बैङ्कका प्रमुख अर्थशास्त्री पनि रहिसकेका छन् । नोर्दाउस र रोमरले ९० लाख स्वीडिश क्रोन (११ लाख अमेरिकी डलर)बराबरको पुरस्कार राशी आधाआधा बाँडेर लिनेछन् ।
अघिल्ला वर्षझैं यस वर्ष पनि महिला अर्थशास्त्रीले नोबेल पुरस्कार पाएनन् । यस वर्ष सुजान याथी, मरियान बट्र्राण्ड, एष्टर डिफ्लो, क्लाउडिया गोल्डिन र एन्ने क्रुगरमध्ये एक महिलाले पुरस्कार पाउने अनुमान गरिएको थियो । अन्य विद्यामा भने यस वर्ष तीन जना महिलाले पुरस्कार पाएका छन् । यस वर्ष साहित्यतर्फको पुरस्कार विजेताको नाम घोषणा गरिएन ।
‘नोर्दाउस र रोमरले दिगो र दीर्घकालीन आर्थिक वृद्धिदर कसरी प्राप्त हुन्छ भन्ने अत्यन्त महŒवपूर्ण र गम्भीर प्रश्नको समाधान निकाल्न सजिलो तरीका पत्ता लगाएका छन्,’ आरएसएओएसले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ । दुवै अर्थशास्त्रीले बजार संयन्त्रले प्रकृति र नवीनतम ज्ञानसँग कसरी अन्तरक्रिया गर्छ भनेर व्याख्या गर्ने प्रारूप (मोडेल)को विकास गरेर आर्थिक विश्लेषणको क्षेत्रलाई निकै फराकिलो बनाएका छन् । यिनीहरूले विकास गरेको मोडलले जलवायु परिवर्तनको सामना गर्दै दिगो आर्थिक वृद्धिदर प्राप्त गर्न सकिने देखाएको समितिको भनाइ छ ।
नोर्दाउसले जलवायु परिवर्तनले अर्थतन्त्रमा पुर्याने क्षतिबारे गहन अध्ययन गरेका छन् । नीतिनिर्माताहरूलाई अर्थतन्त्रमा विश्वव्यापी तापमान वृद्धिको प्रभाव सहीरूपमा मापन गर्न विभिन्न तथ्याङ्कशास्त्रीय पद्धतिको प्रयोग प्रमाणित गरेर यिनले देखाएका छन् । नोर्दाउसले विकास गरेको डाइस कम्प्युटर मोडलले जलवायु परिवर्तनको क्षेत्रमा ठूलो प्रभाव पारेको छ ।
यसले अर्थशास्त्र, कार्बन चक्र, जलवायु विज्ञानलाई एकीकृत गर्नुको साथै हरित गृह ग्यास उत्सर्जन सुस्त बनाउन लाग्ने लागत र लाभको तुलनामा गर्ने ‘एग्रिगेटेड’ (एकीकृत) मोडल पनि विकास गरेको छ ।
जलवायु परिवर्तनका कारण भविष्यमा हुन सक्ने विपत्तिलाई रोक्ने समय घर्किंदै गइरहेको चेतावनी संयुक्त राष्ट्रसङ्घले दिँदै आएको छ । यस्तोमा नोर्दाउसको खोज निकै महत्त्वपूर्ण र अत्यावश्यक छ ।
रोमरको ‘इण्डोजेनस ग्रोथ थ्योरी’ले आर्थिक वृद्धिदर बाह्य नभएर आन्तरिक कारकबाट कसरी प्राप्त हुन्छ भन्ने देखाएको छ । उनको यो सिद्धान्त के भन्छ भने सरकारले शिक्षामा लगानी गर्नेदेखि एकाधिकार विरुद्ध लड्ने र बौद्धिक सम्पत्तिको सुरक्षा गर्नेजस्ता आर्थिक नीति ल्याएर आम मानिसको प्रतिव्यक्ति आय वृद्धि गर्न सक्छ ।
रोमरले दिगो आर्थिक वृद्धिदर प्राप्त गर्न ज्ञानले कसरी काम गर्छ भन्ने देखाएका छन् । आम मानिसको जीवनमा परिवर्तन ल्याउन प्राविधिक नवप्रवर्तन मुख्य चालक हुने र त्यसका लागि अनुसन्धानमा आधारित ज्ञान अपरिहार्य हुने उनले देखाएका थिए ।
रोमरले कम्पनीहरूले नयाँ अवधारणा र नवप्रवर्तनलाई प्रोत्साहन गर्न अनुसन्धान र विकासमा किन लगानी गर्नुपर्छ भनी प्रमाणित गरिदिएका छन् । सन् १९९० मा प्रकाशित रोमरको यो सिद्धान्तले अहिलेको प्रख्यात इण्डोजेनस ग्रोथ थ्योरीको जग बसालेको हो । यो सिद्धान्त अवधारणागत र व्यावहारिक दुवै रूपमा अब्बल मानिन्छ । (एजेन्सीहरूको सहयोगमा)