हिल्सामा अध्यागमन कार्यालय स्थापना, व्यापारको ढोका खोल्दै कर्णाली प्रदेश
Oct 10, 2018
 
समाचार
मुख्य खबर
असोज २४, सुर्खेत । चीनसँग सिमाना जोडिएको कर्णाली प्रदेशमा पहिलोपटक अध्यागमन कार्यालय स्थापना गरिएको छ । सङ्घीय सरकारका गृहमन्त्री रामबहादुर थापाले मङ्गलवार हुम्लाको हिल्सामा अध्यागमन कार्यालय उद्घाटन गरेसँगै औपचारिक रूपमा कर्णाली प्रदेश अन्तरराष्ट्रिय बजारसँग जोडिन लागेको हो ।
कार्यालयको उद्घाटन गर्दै गृहमन्त्री थापाले हिल्सा नाकामा अध्यागमन कार्यालको स्थापनापछि कर्णाली प्रदेशसँगै पश्चिम नेपालको समृद्धिको ढोका खुलेको बताए । उनले हिल्सा नाका हुम्ला जिल्लाको मात्र नभई कर्णाली प्रदेश र नेपालकै आशालाग्दो व्यापारिक नाकाको रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । नेपालको अन्तरराष्ट्रिय व्यापार प्रवद्र्धन तथा समृद्धिमा हिल्सा नाकाले महŒवपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।
हिल्सा नाकाबाट चीन, भारत हुँदै युरोपसँग पनि जोडिन सहयोग पुग्ने भएकाले यसको आफ्नै महŒव रहेको उनको भनाइ थियो । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हिल्साको अध्यागमन कार्यालय स्थापनासँगै कर्णाली प्रदेशको समृद्धिका लागि बाटो खुलेको बताए । उनले भन्सार, अध्यागमन, क्वारेनटाइन, सीमा प्रहरी बलको कार्यालयका लागि पूर्वाधार विकास गर्न प्रदेश सरकारले रू. ४ करोड बजेट विनियोजन गरेको बताए । उनका अनुसार ती सबै कार्यालयका संरचना चालू आर्थिक वर्षमै निर्माणकार्य पूरा हुनेछन् ।
मुख्यमन्त्री शाहीले पूर्वाधार निर्माणमा वजेट अभाव भए थप बजेट व्यवस्था गर्न प्रदेश सरकार तयार रहेको जिकिर गरे । ‘यो महीनाको पहिलो साता गरेको चीन भ्रमणलगत्तै सीमानाकामा भन्सार कार्यालय स्थापना भएको हो,’ उनले भने, ‘भ्रमणका क्रममा चीनसँग सीमानाका सञ्चालन, हिल्सा–जमुनाहा द्रुतमार्ग निर्माणलगायतका विषयमा संवाद गरेको थिएँ ।’