ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भन्सार कडाइले पनि घटेन आयात वृद्धिदर

Oct 11, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न भन्दै सरकारले भन्सार महशुल र मूल्याङ्कन बढाए पनि आयात भने नियन्त्रण हुन सकेको छैन । कतिपय वस्तुमा ४ महीनाकै अवधिमा दुईपटकसम्म महशुल बढाइएको छ भने वस्तुको मूल्याङ्कन बढाउन सन्दर्भ मूल्यसमेत वृद्धि गरिएको छ । यद्यपि, भदौ मसान्तसम्ममा देशको व्यापारघाटा २ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । यो अघिल्लो महीनाको तुलनामा ४५ दशमलव ४७ प्रतिशत बढी हो । चालू आर्थिक वर्ष (आव)को आर्थिक ऐनमार्फत ४१ वस्तुको भन्सार महशुल वृद्धि गरेको ४ महीना नबित्दै भन्सार अधिकृतलाई मूल्याङ्कन फेरबदल गर्न सक्ने अधिकार दिएर भदौ ९ गतेदेखि सन्दर्भ मूल्य २ देखि ५ प्रतिशतसम्म बढाइएको छ । भदौ मसान्तसम्ममा २ खर्ब ३२ अर्ब ३५ करोड रुपैयाँको आयात हुँदा १४ अर्ब ७० करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत आवमा कुल व्यापारघाटा ११ खर्बभन्दा माथि पुगेको थियो । आव २०७५/७६ को बजेटमार्फत स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न भन्दै चिनी तथा चिनीजन्य पदार्थका भन्सार महशुल १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत पुर्‍याइएको थियो । यस्तै दुग्धजन्य पदार्थमा पनि २० प्रतिशतको भन्सार महशुल ३० प्रतिशत पुर्‍याइएको थियो । अर्थ मन्त्रालय राजस्व महाशाखाका उपसचिव डोलिन्द्रप्रसाद शर्मा स्वदेशी धूलो दूध विक्री हुन नसकेर चितवन मिल्क उद्योग बन्द भएको र किसानले दूधको सही मूल्य नपाएर सडकमै दूध खन्याउने गरेकाले भन्सार महशुल बढाइएको बताउँछन् । त्यसैगरी, स्वास्थ्यका लागि हानिकारक जङ्क फुडको आयात नियन्त्रण गर्न भन्दै महशुल दर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएको उनको भनाइ छ । चकलेट, कोका र मिश्रीमा समेत ५ प्रतिशत अन्तःशुल्क थपिएको छ । त्यस्ता वस्तुको आयात निरुत्साहित गर्न भन्दै भन्सार महशुल दर बढाइए पनि आयात भने घट्न सकेको छैन । अहिले मोटरसाइकलमा सीसीअनुसार थप कर तोकिएको छ, तर आयात घटेको छैन । त्यसैका कारण बढेको राजस्वलाई सरकारले सफलता मान्दै आएको छ ।
राजस्व पनि एक लक्ष्य हो चन्द्रकला पौडेल प्रवक्ता, अर्थ मन्त्रालय भन्सार महशुल लगाउनुको मुख्य कारण स्वदेशी उत्पादनलाई संरक्षण गर्नु र राजस्व सङ्कलन गर्नु हो । कतिपय चिजको उपभोग निरुत्साहित गर्न र कतिपय वस्तुको आयात नियन्त्रण गर्न खोज्दा पनि बढिरहेकाले राजस्व पनि बढ्दै गएको छ । आन्तरिक उत्पादन नबढेसम्म घट्दैन आयात नरबहादुर थापा कार्यकारी निर्देशक, अनुसन्धान विभाग, नेपाल राष्ट्र बैङ्क भन्सारमा कडाइ गरेर आयात घट्ने होइन । आयात बढ्नुमा मुख्य चार कारण छन् । विप्रेषण (रेमिट्यान्स)को वृद्धि हुँदा उपभोग र आयात बढ्नु, पुनर्निर्माणका कारण निर्माण सामग्रीको माग बढ्नु र दूरसञ्चार, हवाई यातायात विकास हुँदा सम्बन्धित पाटपुर्जाको आयात बढ्नु हो । हाम्रो आन्तरिक उत्पादन वृद्धि नगरी आयात प्रतिस्थापन गर्न खोज्दा पनि बढ्ने गरेको छ । यदि आन्तरिक उत्पादन बढेको भए त्यसले आयात प्रतिस्थापन गर्दथ्यो । आयात प्रतिस्थापनको तत्कालीन सम्भावना देखिँदैन । त्यसकारण आयात बढेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)