ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन क्षेत्रमा नयाँ आशा : ९ महीनामा ८ लाख पर्यटक

Oct 12, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपाली पर्यटन बजारका लागि सन् २०१८ सुखद हुने सम्भावना देखिएको छ । यस वर्षको ९ महीनाकै अवधिमा ७ लाख ७२ हजार ७ सय ९८ पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डको पछिल्लो तथ्याङ्कले यो वर्ष सुखद हुने सम्भावना देखिएको हो । यो सङ्ख्या सन् २०१७ को सोही अवधिको तुलनामा २० प्रतिशत बढी हो । सेप्टेम्बर महीनामा मात्रै ९१ हजार ८ सय २० जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गर्दै विदेशमा प्रचारात्मक अभियान सञ्चालन गर्नु र नेपालको पछिल्लो राजनीतिक अवस्था र शान्तिसुरक्षाका कारण पनि पर्यटक आगमन बढेको बोर्डले बताएको छ । यो वर्ष पनि सबैभन्दा बढी पर्यटक आउने मुलुकमा भारत र चीन नै अग्रस्थानमा रहेका छन् । यस अवधिमा ती दुईबाहेक अन्य सार्क मुलुक र यूरोपेली देश तथा अमेरिका र बेलायतबाट आउने पर्यटक सङ्ख्यामा समेत वृद्धि भएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । अगष्ट महीनामा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् । अगष्टमा भारतबाट १६ हजार ३ सय ४५, चीनबाट १२ हजार ९ सय ४७, श्रीलङ्काबाट ८ हजार ८ सय ७, अमेरिकाबाट ६ हजार ५ सय १९ र बेलायतबाट ४ हजार ५ सय ४ जना पर्यटक नेपाल आएका छन् । पछिल्लो समय पर्यटक आगमनदेखि पर्यटनसम्बन्धी सूचकहरू सकारात्मक हुँदै जानु नेपालका लागि राम्रो सङ्केत भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बताए । उनले भने, ‘त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल २२ घण्टा सञ्चालन तथा विभिन्न निकायबाट गरिएका सकारात्मक प्रयासहरूको फलस्वरूप पर्यटक आगमन वृद्धि उत्साहजनक रहेको छ ।’ पर्यटन क्षेत्रमा अहिले धेरै सकारात्मक कार्य भइरहेको अवस्थामा पनि केही मानिसले अझै निराशाजनक र नकारात्मक टिप्पणी गर्नु भने दुःखद भएको उनले टिप्पणी गरे । सन् २०२० भित्र वार्षिक पर्यटक आगमन २० लाख पुर्‍याउने लक्ष्यका लागि भने अझै मिहिनेत गर्नुपर्ने उनको भनाइ छ । नेपाल पर्यटन बोर्ड तथा सम्बन्धित अन्य निकायबाट नेपालको पर्यटन प्रवद्र्धनका लागि भए गरेका प्रयासबाट नेपालमा पर्यटक आगमन बढेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले प्रतिक्रिया दिए । बोर्डले अहिले पर्यटन वर्ष २०२० लाई प्रवद्र्धन गर्न देश विदेशमा विभिन्न कार्यक्रम गर्दै आएको र विदेशमा रहेको नेपाली समुदाय तथा गैरआवासीय नेपाली सङ्घहरूका कार्यक्रमका माध्यमबाट पनि नेपालमा पर्यटक सङ्ख्या बढ्नमा मद्दत पुगेको उनले बताए । पर्यटन प्रवर्द्धनका लागि उद्यमी सीड क्याम्प हुँदै नेपाल पर्यटन बोर्डको सहयोगमा उद्यमी इनोभेसन्स प्रालिले उद्यमशीलतामा इच्छुक र उद्यमी बन्न चाहना राख्नेहरूको निमित्त ‘टुरिजम् उद्यमी सीड क्याम्प’ आयोजना गर्ने भएको छ । गतवर्ष पनि बोर्डको सहकार्यमा यस्ता सीड क्याम्प महिला केन्द्रित र प्रविधि केन्द्रित संस्करणमा भएका थिए । टुरिजम् उद्यमी सीड क्याम्प उद्यमशीलतासम्बन्धी ६ दिने कार्यक्रम भएको र उद्यमी बन्न चाहना राख्नेहरू यसमा सहभागी हुनसक्ने बोर्डले जानकारी दिएको छ । यात्रा, पर्यटन, आतिथ्य वा अन्य पर्यटन उद्योगका व्यावसायिक सोचलाई निखार्न, व्यावसायिक योजना तयार गर्न, दक्ष विशेषज्ञहरूबाट ज्ञान लिन क्याम्प फलदायी हुने आयोजकको विश्वास छ । क्याम्पमा उत्कृष्ट घोषित डेमोलाई इच्छुक लगानीकर्ताले लगानीसमेत गरिदिने बोर्डले जानकारी दिएको छ । क्याम्प कात्तिक १३ देखि १८ गतेसम्म पोखरामा आयोजना हुनेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)