ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दशैंमा नयाँ गफ

Oct 12, 2018  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
काठमाडौंमा राम जाने र वाम आउने कुरा थियो ! अर्थात् रामवीरले काठमाडौं निर्वाचन क्षेत्र नं ७ को सांसदबाट राजीनामा दिएर वामवीरलाई सांसद बन्ने बाटो खोलिदिएका थिए । तर, त्यो बाटोमा वामदेव हिँड्न नसक्ने भएर योजना तुहिएछ । रामले नामका लागि यसो गरेका थिए, दामका लागि गरेका थिए वा विनाकामका लागि पछि थाहा हुँदै जाला । तर, वामदेव चुनावमा लड्नु अघि नै मैदानमा लडे । तर, अहिलेलाई गफ गर्न एक नयाँ विषय हाजिर भएको छ । जे होस्, अहिले देशमा जताततै कि दाम चलेको छ कि वाम । यता, बैङ्कहरुमा केही दिनदेखि दशैंका लागि नयाँ दामका लागि लाम पनि लामै छ । दशैंको माहोल छ । मानिसलाई गफ गर्न नयाँ नयाँ विषय चाहिरहन्छ । कति सरकारको अकर्मण्यताको कुरा गर्ने ? कति बजार अनुगमन, महँगी, डलरको भाउ, चिनी, सिण्डिकेट, सुन र नून वा निर्मलाको कुरा गर्ने ?

वर्षभरि फोक्सोभरि धूलो खाएर पनि, नागढुङ्गालगायत देशैभरिका सडकमा कहर पाएर पनि स्वच्छ, सफा, हराभरा शहर र स्मार्ट सिटीको गफमा ताली बजाउने हामी जनता भएसम्म यो देशमा गफ उत्पादनको कुनै खडेरी हुनेछैन ।

बूढीगण्डकीको विषय पनि बूढो भैसक्यो । सीमा विवाद, सङ्घीयता कार्यान्वयन आदि विषय पनि अब बिर्सिइसके । त्यसैले दशैंमा जुवाको दाउ र रक्सीको भाउको कुरा हुँदै गर्ला । अहिले केही दिनलाई भने जनताका लागि काठमाडौं निर्वाचन क्षेत्र नं. ७ को चुनाव नयाँ गफको विषयको रुपमा आएको छ । भलै गफ गर्ने विषय थुप्रै थिए वा हुन सक्थे । तर, गृहमन्त्री वा आपूर्तिमन्त्रीलगायत एकाध मन्त्रीबाहेक अरुले गफ दिन पनि सकेनन् । नयाँ गफका विषय दिइरहने जिम्मा एक्ला प्रधानमन्त्रीमा मात्र रहेकाले समस्या देखिएको छ । किनकि केही समययता नयाँ गफ सृजना गर्ने काममा प्रम ओली अलि पछि परेका देखिन्छन् । त्यसैले उनले अमेरिकाबाट फर्कनेबित्तिकै मुख अमिलो पारेर ‘सरकारलाई कसैले साथ दिएन’ भन्न भ्याए । यसरी गफका नयाँ नयाँ विषय सृजना गरिरहने जिम्मा सधैं केवल एक्लो प्रममा छाड्नु कम्युनिष्ट पार्टीका अन्य नेता र मन्त्रीहरुको अलोकतान्त्रिक चरित्र हो । हुन पनि बिचरा ओलीले प्रम हुनुअघि चुनावताकादेखि नै घरघरमा बिजुली र ग्यासका पाइप पु¥याउने, वृद्धभत्ता ह्वात्तै बढाउने, बेरोजगार भत्ता शुरु गर्ने जस्ता कुरा झिकेर मानिसहरुलाई पर्याप्त नयाँ गफ दिएकै हुन् । त्यसपछि प्रम हुनेबित्तिकै रेल र पानीजहाजको विषय पनि ल्याएकै हुन् । उनका एक÷दुई मन्त्रीले सिण्डिकेट हटाउने, तरकारी बजारका बिचौलिया घटाउने, महँगीलाई डाँडा कटाउनेजस्ता कुरा गरेर जनतालाई केही दिन भने पनि नयाँ गफ गर्ने विषय दिएकै हुन् । तर प्रचण्डलगायत नेकपाका अरु नेता र मन्त्रीहरुबाट देशमा गफ उत्पादन गर्ने कुरामा खासै योगदान भएन । पछिल्लो समय माधव नेपालले ‘वाम सरकारले काम गर्न सकेन’ भनेर केही दिनलाई भए पनि नयाँ गफको तरङ्ग ल्याउने प्रयास गरेका हुन् । तर, जनताको असीमित गफ उपभोग गर्ने चाहनाका अगाडि अहिले उत्पादन भैरहेका गफ अत्यन्त अपर्याप्त देखिन्छन् । अहिले शुरु गरिएको काठमाडौं ७ को चुनावी गफले भने केही महीनासम्म तान्न सक्ने थियो । योजनै भत्कियो र पो । मेलम्चीको पानी, कामनपा महानगरपालिकाको फोहोरबाट मोहोर कार्यक्रम, निजगढ र पोखरा विमानस्थल, फाष्ट ट्र्याक, बिजुली उत्पादनलगायत पूर्वाधार निर्माणका गफ भने अझै केही वर्ष बिकिरहने छन् । वर्षभरि फोक्सोभरि धूलो खाएर पनि, नागढुङ्गालगायत देशैभरिका सडकमा कहर पाएर पनि स्वच्छ, सफा, हराभरा शहर र स्मार्ट सिटीको गफमा ताली बजाउने हामी जनता भएसम्म यो देशमा गफ उत्पादनको कुनै खडेरी हुनेछैन । किनकि हिजो पनि रामवीर वा वामवीर नै थिए हाम्रा भाग्यविधाता । आज पनि उनै हुन् । केही पात्र बदलिए होला । प्रवृत्ति उही छन् । उमेर बदलिँदैमा, पात्र बदलिँदैमा प्रवृत्ति उही रहेसम्म परिवर्तन हुने होइन । खासमा हामीलाई परिवर्तन चाहिएको पनि छैन । हामी त पुराना परम्पराका र पुराना संस्कृतिका धनी पो हौं त । हामीलाई त गफ गर्न मात्र नयाँ नयाँ विषय भए पुगिहाल्छ । त्यो मागको आपूर्ति नेताहरुले राम्रैसँग गरिरहेकै पनि छन् । अझ यसमा वामहरु त यसै खप्पिस छँदै छन् । यत्ति भए हाम्लाई पुगेकै छ । घटस्थापनाको बिदा घटे पनि गफ गर्नलाई बाँकी सिँगै दशैं छँदै छ । जे होस्, अहिलेलाई भने दशैं–२०७५ को हार्दिक मंगलमय शुभकामना !
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)