ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वित्त कम्पनीको चुक्तापूँजी : समय सकिएपछि आक्रामक

Oct 14, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं  । नेपाल राष्ट्र बैङ्कले तोकेको समयसीमा सकिएपछि ‘ग’ वर्गका वित्तीय संस्था (वित्त कम्पनी) न्यूनतम चुक्तापूँजी पुर्‍याउन आक्रामक देखिएका छन् । गत असार मसान्तसम्मको तथ्याङ्कअनुसार २० मध्ये करीब एक दर्जन कम्पनीले केन्द्रीय बैङ्कले तोकेको न्यूनतम चुक्तापूँजी पुर्‍याएका छन् । केन्द्रीय बैङ्क स्रोतका अनुसार असार मसान्तपछिका ३ महीनामा पनि कतिपय वित्त कम्पनी तोकिएको चुक्तापूँजी पुर्‍याउन आक्रामक रूपमा लागेका छन् । चुक्तापूँजी नपु¥याएका कम्पनीले हकप्रद शेयर जारी तथा मर्ज गरेर भए पनि तोकेको सीमासम्म पुर्‍याउने चरणमा रहेको राष्ट्र बैङ्क वित्त कम्पनी सुपरभिजन विभागका कार्यकारी निर्देशक ऋषिकेश भट्टले जानकारी दिए । केन्द्रीय बैङ्कले गत असार मसान्तसम्मको समयसीमा दिएर राष्ट्रियस्तरका वित्त कम्पनीका लागि रू. ८० करोड र ५ जिल्ला कार्यक्षेत्र भएकालाई रू. ४० करोड चुक्तापूँजी पुर्‍याउन भनेको थियो । एक जिल्ला कार्यक्षेत्र रहने गरी स्थापना भएका वित्त कम्पनीलाई भने तोकिएको न्यूनतम चुक्तापूँजी पुर्‍याउन २०७६ पुससम्मको समय दिइएको छ । तोकिएको समयभित्र चुक्तापूँजी नपु¥याउने बैङ्क तथा वित्तीय संस्थालाई कारबाही गर्ने घोषणा गरिएको थियो । आर्थिक वर्ष (आव) २०७४/७५ को अन्तिम लेखापरीक्षण भएको वित्तीय विवरणमा न्यूनतम चुक्तापूँजी नपुगेका संस्थालाई नगद लाभांश वितरण, थप निक्षेप सङ्कलन तथा केही क्षेत्रमा कर्जा प्रवाह र शाखा विस्तार गर्न रोक लगाउने भनिएको थियो । साथै, त्यस्ता संस्थालाई बाध्यकारी मर्जर वा प्राप्तिको प्रक्रियामा जान निर्देशन दिइने राष्ट्र बैङ्कको नीतिगत व्यवस्था छ । गत असार मसान्तसम्ममा चुक्तापूँजी नपुर्‍याएका सिनर्जी र वेष्ट फाइनान्स मर्ज भएर वेष्ट फाइनान्सको नाममा गत भदौ ५ गतेदेखि एकीकृत कारोबार शुरू गरिसकेका छन् । मर्जपछि भने चुक्तापूँजी पुगेको छ । यस्तै, प्रोग्रेसिभ र जेविल्स फाइनान्सले हकप्रद शेयर जारी गरेर चुक्तापूँजी पु¥याउने प्रक्रियामा छन् । ती कम्पनीले यो आवभित्रै हकप्रद शेयर जारी गरेर चुक्तापूँजी पु¥याउने योजना पेश गरेको कार्यकारी निर्देशक भट्टले जानकारी दिए । दर्ता भएका २५ मध्ये ५ वित्त कम्पनी समस्याग्रस्त छन् । बाँकी २० मध्ये ललितपुर फाइनान्स पनि भर्खर समस्यामुक्त भएको हो । असारमसान्तको तथ्याङ्कअनुसार सो कम्पनीको चुक्तापूँजी २३ करोड ६८ लाख ७४ हजार रहेको छ । समस्याग्रस्त भएका वित्त कम्पनीलाई भने समस्याग्रस्तमुक्त भएपछि २ वर्षसम्ममा चुक्तापूँजी पुर्‍याउन समय दिइने भट्टले बताए । यसैगरी, पाँचजिल्ले वित्त कम्पनीका रूपमा सञ्चालित जानकी र सृजना फाइनान्सले चुक्तापूँजी पुर्‍याइसकेका छन् । तर, मल्टिपर्पोज फाइनान्सले भने चुक्तापूँजी पुर्‍याएको छैन । ४० करोड चुक्तापूँजी पुर्‍याउनुपर्नेमा मल्टिपर्पोजको असार मसान्तसम्मको चुक्तापूँजी ४ करोड १४ लाख ७४ हजार मात्र छ । तर, यसले पनि छिटै चुक्तापूँजी पुर्‍याउने योजना पेश गरेको कार्यकारी निर्देशक भट्टको दाबी छ । समग्रमा वित्त कम्पनीहरूको पूँजी, लगानीयोग्य पूँजी तथा तरलताको अवस्था पनि राम्रो भएको उनले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)