माथिल्लो तहमा काम गर्ने कर्मचारीलाई कम्पनीले ल्यापटपलगायतका विभिन्न सामग्री उपलब्ध गराउने हामीले देख्दै आइरहेका छौं । नेपालमा पनि प्रमुख कार्यकारी अधिकृतलगायतका उच्च अधिकारीहरुका कामको प्रकृति हेरेर विभिन्न मूल्यका ल्यापटप, कम्प्युटर दिने गरिन्छ । तर, रुसको ठूलो प्राकृतिक ग्यास निर्यातकर्ता कम्पनी ‘ग्याजप्रोम’ले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि अधिकतम ३७ लाख डलर पर्ने ट्याब्लेट कम्प्युटर बनाउन टेण्डर आह्वान गरेको छ । अझ बढी प्रभावकारी ढङ्गले कम्पनी सञ्चालन गर्न सीईओ एलेक्सी मिलरलाई मद्दतका लागि सो टेण्डर आह्वान गरेको बताइएको छ ।
टेण्डरमा अमेरिकी स्मार्टफोन तथा आईफोन निर्माता एप्पल इङ्कको आईओएस अपरेटिङ सिष्टममा आधारित कम्प्युटर बनाउन भनिएको छ । यो अपरेटिङ सिष्टम मिलरको डेक्सटप पर्सनल कम्प्युटरको फङ्कशनसँग म्याच हुनुपर्ने टेण्डरमा बताइएको छ । उक्त कम्प्युटर पाँच सेकेण्डभित्र स्टार्ट हुनुपर्ने, यसले ३जी, जीपीआरएस र वाईफाईसमेत सपोर्ट गर्नुपर्ने टेण्डरमा भनिएको छ । यसले ग्याजप्रोमको ग्यास निर्यातदेखि ऊर्जा उत्पादनसम्मका सबै व्यवसायको दैनिक गतिविधिको जाँच गर्न सहयोग पुर्याउने टेण्डरमा उल्लेख छ ।
त्यसैगरी, ट्याब्लेटले कम्पनीको कार्यकुशलता बढाउने सन्दर्भमा व्यवस्थापन समितिले गरेका निर्णयहरु मोबाइलको माध्यमबाटै हेर्न सकिने हुनुपर्नेमा जोड दिइएको छ । विश्वव्यापी मागमा कमी र बढ्दो प्रतिस्पर्धाका बीच विश्वकै सबैभन्दा ठूलो ग्यास उत्पादक कम्पनी ग्याजप्रोमको आम्दानी १३ प्रतिशतले घटेको थियो । कम्पनीको खर्चमा भएको उच्च वृद्धि र न्यून लाभांश वितरणका कारण कम्पनीमा लगानी गर्न असन्तुष्ट लगानीकर्ता अनिच्छुक छन् । कम्पनीको २०औं वार्षिकोत्सवको अवसरमा फेब्रुअरीमा राष्ट्रपति भ्लादिमिर पुटिनले कम्पनीलाई तल झार्ने जुनसुकै कुरालाई कटौती गर्न, पारदर्शितामा सुधार ल्याउन र खर्च घटाउन आग्रह गरेका थिए । टेण्डरको नतीजा जुलाई ३१ मा प्रकाशित गरिने बताइएको छ । टेण्डर हासिल गर्ने कम्पनीले यही जुलाई ३१ देखि सन् २०१४ को अप्रिल ३० सम्म ट्याब्लेट बनाइसक्नु पर्नेछ ।