मनी ट्रान्सफर कम्पनीहरुले रकम स्थानान्तरण गर्दा कहिलेकाहीं झुक्किएर बढी पैसा जम्मा हुने गर्दछ । हाम्रै खाताहरुमा पनि यस्तो घटना भएर बढी पैसा जम्मा भएका छन् । तर, एकपटक सोच्नुस् त ? कसैले तपाईंको खातामा विश्वको वार्षिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी)भन्दा हजारौं गुणा बढी पैसा पठाइदिन्छ भने तपाईं के गर्नुहुन्छ ? अमेरिकास्थित पेनेसिल्भानियाका ५६ वर्षीय क्रिस रेनोल्डस्ले यस्तै परिस्थितिको सामना गरेका छन् । रोनेल्डस् अनलाइनबाट कारको पाटपूर्जा विक्री गर्ने गर्थे । यसैक्रममा ‘पेपल’ (अनलाइनबाट रकम स्थानान्तरण गर्ने विश्वव्यापी संस्था)को प्राविधिक गडबडीका कारण उनको खातामा करीब ९२ क्वाड्रिलियन डलर (१ क्वाड्रिलियनमा १५ ओटा शून्य हुन्छ) जम्मा भएको छ ।
तर, यसरी गल्तीपूर्वक स्थानान्तरण भएको रकममाथि प्राविधिक रुपमा भने उनको अधिकार छैन । ‘मैले आफूलाई अति धनाढ्यजस्तै महसूस गरिरहेको छु, ’उक्त प्राविधिक गडबडीबारे सोध्दा उनले भने । यस घटनापछि आफ्नो वास्तविक रकम जाँच गर्दा उनको खाता शून्य रहेको पाइयो । यसबारे पेपलले कुनै प्रतिक्रिया नजनाए पनि रेनोल्डस्ले भने आफ्नो खातामा जम्मा हुन आएको ९२,२३३,७२०,३६८५४७,८०० डलर कसरी खर्च गर्ने भन्नेबारेमा विभिन्न योजना बनाएका थिए । ‘म एकदमै जिम्मेवार नागरिक हुँ, त्यसैले म पहिला आफ्नो देशको ऋण तिरिदिनेछु, ’उनले आफ्नो योजना सुनाए । त्यसैगरी, अमेरिकाको प्रमुख बेसबल टिम फिलाडेल्फिया फिलिज खरीद गर्ने बताए ।
एक छुट्टै अन्तरवार्तामा ठट्टा गर्दै हरेक महीना पेपलको साइटबाट १ सय डलर विनिमय गर्ने र स्थानीय डेलवेयर काउण्टी काउन्सिलमा उदारतापूर्वक ३० डलरको दान दिने अभिव्यक्ति रेनोल्डस्ले दिएका थिए । ९२ क्वाड्रिलियन डलर भनेको अहिलेको विश्वको जीडीपीको तुलनामा १ हजार ३ गुणा बढी रकम हो । हाल विश्वको वार्षिक जीडीपीको आकार ७१ दशमलव ८३ ट्रिलियन रहेको छ । रेनोल्डस्को खातामा यो रकम स्थानान्तरण भएको भोलिपल्टै पेपलबाट क्रेडिट कार्डसम्बन्धी जानकारीहरु पुष्टि गर्न उनले नोटिस पाएका थिए । ‘यसको सबैभन्दा दुखद कुरा के छ भने यो खातासँग सम्बन्धित क्रेडिट कार्ड नवीकरण गराउन उनीहरुले मलाई भनेका छन्, मसँग ९० क्वाड्रिलियन डलर हुँदासमेत उनीहरुले मलाई विश्वास गरेनन्, ’उनले भने ।