ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतारोहणमा सर्वोच्चको आदेश : कानूनद्वारा निर्दिष्ट प्रक्रिया पूरा गरेपछि मात्र नयाँ कीर्तिमान

Oct 23, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
काठमाडौं । सर्वोच्च अदालतले कानूनद्वारा निर्दिष्ट प्रक्रिया पूरा गरेपछि मात्र पर्वतारोहणसम्बन्धी नयाँ कीर्तिमान कायम गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आदेश दिएको छ । आदेशमा पर्वतारोहणसम्बन्धी कीर्तिमान कायम हुने कुनै महŒवपूर्ण निर्णय भएमा कानूनद्वारा निर्दिष्ट प्रक्रिया पूरा भएको सुनिश्चित गरेपछि मात्र सार्वजनिक गर्नुपर्ने उल्लेख छ । न्यायाधीशहरू चोलेन्द्रशमशेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलाशले उक्त आदेश दिएको हो । सो मन्त्रालयले कानूनबमोजिमको प्रक्रिया पूरा नगरी पर्वतारोहणसम्बन्धी एक महŒवपूर्ण निर्णय गरेको उल्लेख गर्दै आदेशमा आगामी दिनमा यस्ता विषय कानूनी व्यवस्था पूरा गरी निर्णय गरिएको जनाई सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने स्पष्ट पारेको छ । सर्वोच्च अदालतले सबैभन्दा छोटो समयमा कसले सगरमाथा आरोहण गरेको हो भन्ने विवादमा यस्तो आदेश जारी गरेको हो । सबैभन्दा छोटो समयमा सगरमाथा चढेको भनी लाक्पा गेलु शेर्पा र पेम्बा दोर्जी शेर्पाबीच विवाद चलेको थियो । सो विवादको निरूपण गर्दै सर्वोच्चले सगरमाथा चढी विश्व कीर्तिमान कायम गर्नेजस्तो गम्भीर र राष्ट्रिय अन्तरराष्ट्रिय सरोकारको विषयमा कानूनले तोकेको कार्यविधि र प्रक्रिया पूरा भएको छ वा छैन भन्ने कुरालाई कठोरताका साथ परीक्षण गर्न सरकारलाई आदेश दिएको हो । सर्वोच्च अदालतको सो निर्णय गत मङ्सिरमा भएको भए पनि त्यसको पूर्णपाठ भने केही दिनअघि मात्र सार्वजनिक भएको हो । सगरमाथा आरोहण गरेको भनी कानूनमा उल्लेख गरेको प्रमाण नहेरी सरकारले पेम्बा दोर्जी शेर्पालाई छोटो समयमा सो शिखर चढेको भनी मान्यता दिएको ठहर सर्वोच्च अदालतले गरेको छ । सो ठहर गरेपछि सबैभन्दा छोटो समयमा आफूले उक्त शिखरको आरोहण गरेको भनी दाबी गर्ने लाक्पा गेलु शेर्पाले सर्वोच्चमा रीट निवेदन दायर गरेका थिए । पेम्बाले आफू ८ घण्टा १० मिनेटमा र लाक्पाले आफू १० घण्टा ५६ मिनेट ४६ सेकेण्डमा सगरमाथा आरोहण गरेको दाबी गरेका थिए । सर्वोच्चमा दायर गरिएको रीट निवेदनमा पेम्बाले सगरमाथा आरोहण गरेको विषयमा नै शङ्का भएको उल्लेख गरिएको थियो । सर्वोच्चको आदेशमा पर्वतारोहण गरेको भनी कानूनबमोजिम देखाउनुपर्ने प्रमाण नै पेम्बाले देखाउन नसकेको उल्लेख गर्दै सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गरेको भनी पेम्बालाई दिएको मान्यता नै बदर गरिएको छ । सर्वोच्च अदालतले माउण्टेनीयरिङ एशोसिएशन अफ तिबेट अटोनोमस रिजन र अमेरिकन अल्पाइन क्लबले राखेका रेकर्डहरू पनि पर्वतारोहणको क्षेत्रमा आधिकारिक हुने उल्लेख गरेको छ । ती संस्थाले २१ मे २००४ मा खराब मौसमका कारण कसैले पनि सगरमाथा आरोहण नगरेको भनी रेकर्ड राखेका थिए । पेम्बाले आफूले सोही दिन सगरमाथा आरोहण गरेको दाबी गर्दै आएका थिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)